सप्तरीमा कोरोना रोकथाम गर्न चार अस्थायी अस्पताल सञ्चालनको तयारी
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सप्तरीको चार स्थानमा ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र युनिक अस्पतालमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । ती अस्पतालमा आइसोलेसन कक्ष निर्माण गर्न तयारी गरिएको जनाइएको छ ।
हनुमानगर रोडमा बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।