कोरोना विरुद्ध आदर्श दैनिकी
विश्व जनस्वास्थ्यकै चुनौती बनिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि जुनसुकै वेला भित्रिन सक्ने जोखिम छ । उत्तर छिमेक चीनबाट शुरू भई धेरै मुलुकमा फैलिएको भाइरसको संक्रमण छिमेक भारतमा पनि देखिइसकेको छ । हालसम्म यसको उपचार नभेटिएकाले संक्रमण हुनै नदिनु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै उत्तम उपाय हो ।
हाम्रो आनीबानी र कतिपय दैनिक क्रियाकलाप नै रोगको कारण बनिरहे पनि यसबारे सबै सचेत हुँदैनन् । यसै समस्यालाई ध्यानमा राख्दै आयुर्वेद शास्त्रहरूमा साझा आदर्श दिनचर्याबारे चर्चा गरिएको छ । आयुर्वेद शास्त्रहरू चरक संहिता, सुश्रुत संहिता, अष्टाङ्ग संग्रहमा बताइएको ऋतुचर्या र आदर्श दिनचर्या यहाँ प्रस्तुत छ ।
ऋतुचर्या
आयुर्वेदका अनुसार वसन्त ऋतु (चैत–वैशाख) मा कफको समस्याले बढी सताउँछ । यस्तो वेला शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । प्रतिरोधी शक्ति सबल बनाउन आदर्श ऋतुचर्यामा जोड दिइएको छ । यस अन्तर्गत वसन्त याममा पिरो, तीतो वा टर्रो सेवन गर्नुपर्छ । खासगरी मह, जौ, गहुँ, आसव (फलफूल, जडीबुटी आदिको सार निकालेर औषधिका लागि बनाइएको मदिरा), तातोपानी, अदुवा–पानी, मह–पानी सेवन गर्न भनिएको छ।
चिया र कफी हानिकारक मानिए पनि यो ऋतुमा यिनको सेवन सम्यक् रूपमा गर्दा कफको समस्या दूर हुन्छ । यस मौसममा भातभन्दा रोटी खानु लाभदायी हुन्छ । पचाउन कठिन हुने, चिसो, चिल्लो, गुलियो, अमिलो र नुनिलो वस्तुको सेवन नगर्न भनिएको छ । कफ बढाउने भएकाले माछा, मासु, अण्डा, दूध वा दुग्धजन्य खाद्यपदार्थ र मैदाबाट बनेका बेकरीका परिकार सेवन गर्नुहुँदैन ।
कफ सफा गर्न वमन चिकित्सा (जडीबुटी प्रयोग गरी बान्ता गराइने), नस्य चिकित्सा (जडीबुटी राखी नाक सफा गरिने), व्यायाम, सुक्खा मालिस गर्नुपर्छ भनिएको छ । शरीरमा सुगन्धकारी प्राकृतिक वस्तु लगाउनु, कपालमा सुगन्धित तेल दल्नु र सङ्गीत श्रवण गर्नु यस ऋतुमा हितकारी बताइएको छ । सहवासलाई पनि हितकर मानिएको छ ।
दिनचर्या
ब्रह्ममुहूर्त वा सूर्योदय हुनु अगावै उठ्ने बानी बसाल्नुपर्छ । यो समयमा वातावरणमा अक्सिजनको मात्रा अधिक हुने हुँदा शरीरले स्वच्छ वायु पर्याप्त मात्रामा प्राप्त गर्छ । राति अबेरसम्म जागा बस्दा शरीरको रोग प्रतिरोधी क्षमता घट्छ भने उचित समयमा सुतेर ब्रह्ममुहूर्तमा उठ्दा बढ्छ ।
उठेलगत्तै आधादेखि एक लिटर मनतातो पानी (त्रिफलासँग पनि लिन सकिन्छ) पिउनुपर्छ । दिसा र पिसाब सहज रूपमा निकाल्नैपर्छ । यसले पेट हल्का र मन शान्त बनाउँछ । आगोमा पकाइएको सुगन्धित, क्षारीय जलबाट मुख कुल्ला गर्नुपर्छ । पिरो, तीतो वा टर्रो स्वादयुक्त मञ्जनबाट दाँत माझ्नुपर्छ र जिब्रो पनि सफा गर्नुपर्छ ।
आयुर्वेद शास्त्रहरूमा सुझाइएको आदर्श दिनचर्या कोरोना भाइरस संक्रमण विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुनसक्छ।
त्यसपछि एकदेखि डेढ घण्टासम्म व्यायाम गर्नुपर्छ । योग गर्न सके झ्नै उत्तम हुन्छ । योगले शरीर पुष्ट र प्राणायामले मन स्थिर पार्छ भने ध्यानले मन एकाग्र र शान्त बनाई सकारात्मक सोचमा अभिवृद्धि गराउँछ ।
दैनिक स्नान गर्नुपर्छ । यसले छालाको छिद्र खुलाउँछ र शरीरको तापक्रम सन्तुलित बनाउँछ । पसिना आउने गरी व्यायाम गर्दा केहीबेर आराम गरेर मात्र स्नान गर्नुपर्छ ।
मुख र हातगोडा धोएर घरमै पकाएको खाना आवश्यक मात्रामा र राम्ररी चपाएर खानुपर्छ । आधा पाकेका मांसाहार आदिको सेवनले कोरोना भाइरसको प्रकोप बढेको देखिएकाले पूरा पाकेको भोजन मात्र ग्रहण गर्नुपर्छ । साँझ्मा हल्का मात्र खाना खानुपर्छ । खाएको दुईदेखि तीन घण्टापछि हातगोडा धोई कमभन्दा कम बस्त्र लगाएर सुत्नुपर्छ ।