फ्लाइट डिस्पाचर : तालिम नेपालमा नवीकरण विदेशमा
हेलिकप्टर सोसाइटी अफ नेपालले ४ पुस २०७५ मा उडान सञ्चालन अधिकृत (फ्लाइट डिस्पाचर) को इजाजत नवीकरणअघि हरेक वर्ष लिनुपर्ने अनिवार्य रिफ्रेसर तालिम नेपालमै उपलब्ध गराइदिन नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानलाई आग्रह गर्यो ।
श्री एअरलाइन्सले पनि ६ महीनाअघि आफ्ना डिस्पाचरका लागि रिफ्रेसर तालिम दिन यस्तै आग्रहसहितको निवेदन प्रतिष्ठानमा दिएको थियो । तर, प्राधिकरणले १० जना डिस्पाचर भए मात्र तालिम दिन सकिने जनायो । श्री एअरलाइन्ससँग जम्मा आठ जना मात्रै फ्लाइट डिस्पाचर छन् ।
नेपालमा फ्लाइट डिस्पाचर तालिम सञ्चालन भए पनि रिफ्रेसर तालिम भने भएको छैन । असार २०७१ मा शुरू डिस्पाचरको १० हप्ते तालिम लिन प्रवीणता तह उत्तीर्ण गरेको, २१ वर्ष पूरा गरेको तथा प्राधिकरणले तोकेको शर्त पालना भएको हुनुपर्छ । तर, तालिम नियमित नभई मागका आधारमा मात्रै सञ्चालन गरिने प्राधिकरणको भनाइ छ ।
नेपालबाट हालसम्म ११४ जनाले फ्लाइट डिस्पाचर तालिम लिएका छन् । विदेशमा तालिम लिएका समेत कुल १६९ जना डिस्पाचर भए पनि १२४ जनाले मात्र इजाजतपत्र नवीकरण गराएका छन् ।
डिस्पाचर तालिमका लागि प्रतिष्ठानले प्रतिव्यक्ति भ्याट बाहेक रु.१ लाख ५० हजार शुल्क तोकेको छ । तर, विदेश जानुपर्दा कम्तीमा रु.३ लाख खर्च हुने प्राधिकरणकै अधिकारी बताउँछन् । प्रतिष्ठानबाट तालिम लिएपछि ९० दिनको अन द जब तालिम (ओजेटी) सम्बन्धित वायुसेवाबाट लिनुपर्छ ।
कुन कम्पनी र कुन प्रकृतिका जहाजमा काम गर्न इजाजत लिने भन्ने टुङ्गो तालिमबाटै लाग्छ । यो तालिमपछि मात्रै प्राधिकरणले लिने इजाजतपत्रको परीक्षामा सहभागी हुन पाइन्छ ।
हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव तथा पूर्व फ्लाइट डिस्पाचर योगराज शर्मा कँडेलका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले तोकेको मापदण्ड अनुसार डिस्पाचरले वर्षमा एक पटक अनिवार्य रिफ्रेसर तालिम लिनुपर्छ । जहाज उडाउन पाइलट पहिल्यै तय गर्नु परे जस्तै कम्पनी स्थापना गर्दा डिस्पाचर अनिवार्य राख्नुपर्छ ।
विदेश जान मिलेमतो !
नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमुख देवानन्द उपाध्याय प्रतिष्ठानले आधारभूत तालिम दिने गरेको भए पनि रिफ्रेसरका लागि कोर्स नै नभएको बताउँछन् । उनी भन्छन्, “रिफ्रेसरको कोर्स बनेको छैन । प्राधिकरणले तयारी भने गरिरहेको छ ।”
तर, सीता एअरका वरिष्ठ महाप्रबन्धक घनश्यामराज आचार्य आफूसमेत संलग्न समितिले रिफ्रेसर तालिमको कोर्स गत वर्ष नै तयार पारेको बताउँछन् । उनी भन्छन्, “एक वर्षअगाडि नै कोर्स तयार भएको छ । तर, प्राधिकरणले तालिम नदिएर अल्मल्याइरहेको छ ।”
रिफ्रेसर तालिम नेपालमै हुने हो भने प्रतिव्यक्ति करीब रु.५० हजार लाग्छ । तर, थाइल्याण्डको बैंकक्मा तालिम गर्न जाँदा करीब रु.३ लाख खर्च हुन्छ । यो खर्च सम्बन्धित वायुसेवाले नै व्यहोर्नुपर्छ । एक साताको तालिमका लागि थाइल्याण्ड, अमेरिका वा प्राधिकरणले तोकेको मुलुक जाने गरिएको छ ।
नेपालमै तालिम भए विदेश जान नपाइने भएकोले डिस्पाचर आफैं इच्छुक नभएको प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । उनका अनुसार यसअघि रिफ्रेसरको कोर्स तयार पार्दा एअरक्राफ्ट डिस्पाचरहरूले नेपालमा तालिम नलिने बताएका थिए ।
डिस्पाचरहरूको सङ्गठन विमान उडान सञ्चालन संघ नेपालका अध्यक्ष कृष्णकुमार चौधरी भने नयाँ प्रविधिको ज्ञान र सीपको लागि रिफ्रेसर तालिम लिन विदेश जानुपरेको बताउँछन् । उनी भन्छन्, “नेपालमा डिस्पाचरलाई तालिम दिने उडान प्रशिक्षक छैनन् । हामीले विभिन्न प्रकारका जहाज उडान सञ्चालन गराउने हुँदा त्यही अनुसारको प्रशिक्षण लिन विदेश जानुपरेको हो ।”
चौधरी आफैंले हिमालय एअरलाइन्सको ए३२० जहाज उडान सञ्चालन गर्छन् । उनका अनुसार यो जहाजको प्रशिक्षक नेपालमा छैनन् । उनी भन्छन्, “गुगलमा हेरेर फिचर निकालेर सैद्धान्तिक ज्ञान दिएर हुँदैन । वास्तविक उपकरण र प्रविधिको जानकारी लिन पनि विदेश जानुपर्छ ।”
नेपालमा काम गर्ने डिस्पाचरले रिफ्रेसरमा नेपालकै उदाहरण र प्रविधि थाहा पाउनुपर्ने हुँदा स्वदेशमै तालिम अनिवार्य रहेको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता समेत रहेका कँडेल बताउँछन् । उनी भन्छन्, “काठमाडौंबाट लुक्ला उडान गर्ने जहाजका डिस्पाचरले बैंकक् गएर सिके के अर्थ होला ?”
के गर्छन् फ्लाइट डिस्पाचर ?
ग्राउन्डका पाइलट मानिने डिस्पाचरलाई उडान सञ्चालन अधिकृत (एफओओ) पनि भनिन्छ । डिस्पाचरले उडानयोग्य मौसमको निक्र्योल गर्ने, उडान तालिका भर्ने, जहाज कहाँ र कुन ठाउँमा कस्तो अवस्थामा छ हेरेर सहजीकरण गर्ने गर्छन् ।
त्यस्तै नीति–नियम, प्रणाली, पाइलटको उडान समय लगायत ध्यानमा राखेर उडान अनुमति दिन्छन् । अन्य देशमा डिस्पाचरको भूमिका नै अन्तिम भए पनि नेपालमा पाइलटको दबदबा हुने गरेको हेलिकप्टर सोसाइटीका महासचिव तथा पूर्व फ्लाइट डिस्पाचर योगराज शर्मा कँडेल बताउँछन् ।
डिस्पाचरले पाइलट तालिमका अतिरिक्त थप तालिम लिनुपर्ने हुँदा स्वाभाविक रुपमा उडानका लागि महत्वपूर्ण जिम्मेवारी हुने उनको भनाइ छ । सामान्यतः नेपालबाहिर जाने पाइलटले २०० घण्टाको कक्षा लिनुपर्छ भने डिस्पाचरले उडान र अवतरणका सबै जानकारीसहित २५० घण्टाको कक्षा लिनुपर्छ । विदेशमा तालिम लिनेले नेपालमा उड्डयन सम्बन्धी जानकारी र ‘सिभिल एभिएसन एअर ल एण्ड अपरेसन’ ले तोकेको न्यूनतम २० घण्टाको अतिरिक्त कक्षा लिनुपर्छ ।
विमान उडान सञ्चालन संघ नेपालका संस्थापक अध्यक्ष प्रमोद शर्माका अनुसार कानूनसङ्गत उडान गराउने जिम्मेवारी पनि डिस्पाचरकै हो । पाइलटले जहाज उडाउने समय निर्धारण, सुरक्षात्मक उडान सम्बन्धी जानकारी, जहाजको गति अनुसार गन्तव्यमा पुग्ने समय निर्धारण डिस्पाचरले नै गर्छन् ।
उनी भन्छन्, “उडानको व्यवस्था मिलाउने, इन्धनको निर्धारण, प्रक्रिया अनुसार उडानको व्यवस्था मिलाएर सबै अवस्था ठीक भएको प्रमाणित हस्ताक्षरपछि डिस्पाचरले पाइलटलाई जहाज हस्तान्तरण गरेपछि मात्र उडान हुन्छ ।”