गर्भवतीलाई चिकित्सकको सल्लाह : ‘जटिल अवस्था नभए नियमित जाँचमा नजानु राम्रो’
कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरेर स्वास्थ्यकर्मीहरूले गर्भवती महिलालाई जटिल अवस्था नभएसम्म नियमित जाँचमा नजाँदा राम्रो हुने बताएका छन् ।
अहिले कोरोना भाइरसको संक्रमणबाट सबै जना जोगिनु पर्ने भएकाले यस्तो सल्लाह दिएको प्रसूति गृह थापाथलीका निर्देशक डा जागेश्वर गौतमले बताएका छन् ।
"पाको उमेरकाले विशेष ख्याल गर्नुपर्ने भनिएको छ । विशेष अवस्था मानिने गर्भवती अवस्था, सुत्केरी र नवजात शिशुहरूको विशेष ध्यान दिनुपर्ने हुन्छ । कुनै जटिल अवस्था नभए ८ महीना अगाडिका गर्भवतीहरू नियमित जाँचमा नजानु उपयुक्त हुन्छ" उनले भने ।
गौतमले शुक्रबार यस्तो सूचना नै टाँस गर्ने बताए । उनले केही दिन अघिदेखि नै नियमित जाँचमा आउने गर्भवतीलाई जटिल अवस्था बाहेकका बिरामीलाई यस्तै सल्लाह दिएर फिर्ता गर्ने गरेको बताए । नयाँ बिरामीलाई भर्ना नलिने र नियमित जाँच गर्दै आएकालाई पनि घरमै सुरक्षित अवस्थामा रहन आग्रह गर्ने उनले बताए ।
डा गौतमका अनुसार घरमै आइसोलेसनमा बस्नुपर्छ, घर बाहिर हिंडिरहने व्यक्ति भए उनीहरबाट पनि टाढै रहने, सरसफाइ र पोषिलो खानेकुरामा विशेष ध्यान दिने, कुनै असहज महसुस भए आफूले जाँच गराइरहेको चिकित्सक वा अस्पतालमा पहिले टेलिफोनबाट जानकारी लिइहाल्ने, चिकित्सकको सल्लाह बाहेक औषधि सेवन नगर्ने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा चन्दा कार्कीले पनि घरबाहिर किनमेल वा भिडभाडमा निस्किने काम भए सकेसम्म आफू नगएर अरुको सहयोग लिनुपर्ने र परिवारका सदस्यहरूको विशेष सहयोग यस्तो बेला आवश्यक पर्ने बताइन् ।
उनी भन्छिन्, “गर्भवती आफैं त सचेत हुनैपर्छ, यस्तो बेला परिवारका सदस्यहरूको सहयोगी भूमिका हुनुपर्छ, गर्भवतीलाई सकेसम्म आइसोलेसनमा राख्ने, खानपानमा सहयोग गर्ने तथा बाहिर किनमेल गर्न पठाउनु हुँदैन।”
शारीरिक व्यायामका लागि बाहिर हिंड्ने गर्भवतीहरू पनि बाहिर नजाने, शरीरलाई तातो राख्न तातोपानी बढी पिउने, घाममा बस्ने गर्नुपर्ने तर आत्तिने तथा मानसिक तनाव भने लिन नहुने सुझाव पनि डा. कार्कीले दिएकी छिन् ।
‘सुत्केरी र नवजात शिशुलाई नभेटौं’ वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. चन्दा कार्कीले भर्खरैका सुत्केरीहरूले पनि यस्तै कुरामा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, “हाम्रो समाजमा आफन्त, चिनेजानेका साथीहरू सुत्केरी भए भेट्न जाने चलन छ । यस्तो बेला त्यो पूर्णत: बन्द गर्नुपर्छ, जानुपर्ने मान्छे आफैंले त्यो बुझ्नुपर्छ । यदि कोही आइहाले पनि सुत्केरी वा नवजात शिशुको छेउमा जान दिनुहुँदैन।"
उनका अनुसार नवजात शिशु तथा सानो बच्चालाई घरपरिवारकै सदस्य पनि सबैले बोक्ने, समात्ने, सबैले खेलाइरहनु उचित हुँदैन । सुत्केरी तथा शिशुको खानपान र सरसफाइ तथा स्याहारमा भने परिवारका सदस्यले विशेष ध्यान दिनुपर्छ ।
डा. कार्की भन्छिन्, "चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि यस्तो अवस्थामा सकेसम्म बढी फोन मार्फत जानकारी लिन खोज्नेलाई सहयोग गर्नुपर्छ ।"
सबै अस्पतालहरूले हटलाइन टेलिफोन नम्बरहरू सार्वजनिक गरेर हेल्प डेस्कमार्फत टेलिफोनबाट पनि सहजै सूचना, लिनेदिने गर्नुपर्ने विज्ञहरूको सल्लाह छ ।