प्रदेश-२ थप जटिलतातिर, नामकरण अडानले राजधानीबारे जुटेको सहमति उल्टियो
प्रदेश–२ को नामकरणबारे दलीय अडान कायमै रहँदा राजधानीबारे जुटेको सहमति पनि उल्टिएको छ । मंगलबार प्रदेशको नामकरण र राजधानीका लागि मतदान भएको थियो।
मतदानमा नामकरणबारे आवश्यक ७२ मत पुग्न सकेन । नामकरणसँगै मतदान हुँदा राजधानीबारे दलहरुबीच जुटेको सहमति पनि उल्टिएको हो । प्रदेश–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेस बीच राजधानीबारे गएको अधिवेशनमै सहमति जुटेको थियो।
गएको भदौमा प्रदेश–२ को ढल्केबरलाई केन्द्र बनाएर त्यस पेरिफेरिको भू–भागमा राजधानी राख्ने सहमित जुटेको थियो । तर, यो प्रस्ताव पारित हुन सकेन । यो प्रस्तावको पक्षमा ५२ मत मात्रै आयो भने विपक्षमा पनि ५२ मत नै आयो । तीन मत भने बदर भएको थियो।
नेकपा र कांग्रेसले समाजवादी–राजपाले सहमति तोडेको आरोप लगाएका छन् । नेकपाकी संसद बेची लुंगेलीले भनिन्, “राजधानीबारे जुटेको सहमति पनि उहाँहरुले उल्लङ्घन गर्नुभयो । अब थप जटिलता देखिने संभावना बढ्यो ।” राजधानीमा सहमति जुटेकाले प्रदेशको नामकरणबारे दलीय प्रस्ताव मतदानमा लैजान दलहरु तयार भएका थिए।
तर, नामकरणको प्रस्तावमा जस्तै राजधानीको प्रस्तावमा पनि आवश्यक दुई तिहाइ मत पर्न सकेन । प्रदेश–२ मा १०७ सांसद रहेकाले राजधानी र नामकरण गर्न ७२ मत आवश्यक छ।
मतदानमा नामकरणबारे आवश्यक ७२ मत पुग्न सकेन । नामकरणसँगै मतदान हुँदा राजधानीबारे दलहरुबीच जुटेको सहमति पनि उल्टिएको हो । प्रदेश–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेस बीच राजधानीबारे गएको अधिवेशनमै सहमति जुटेको थियो।
वीरगञ्ज राजधानी हुनुपर्ने भन्दै त्यस क्षेत्रका सांसदहरुले दर्ता गराएको प्रस्ताव पनि अस्वीकृत भएको छ । वीरगञ्ज हुनुपर्ने पक्षमा ३३ र विपक्षमा ७२ मत परेको थियो । एक मत भने बदर भएको थियो। वीरगञ्ज पेरिफेरिको भूगोल समेटेर राजधानी हुनुपर्ने प्रस्ताव समेत दर्ता भएको थियो।
यो प्रस्तावको पक्षमा ३७, विपक्षमा ६९ र एक मत बदर भएको थियो । सांसद लुंगेली सबै जिल्लाबाट सुझाव संकलन गरेर सहमति जुटाइएको राजधानी बारेको प्रस्ताव अस्वीकृत भएकाले फेरि सहमतिको प्रयास गर्नुपर्ने बताउँछिन् । “बहुमतीय प्रक्रियाबाट राजधानी र नामकरण टुंगिदैन भन्ने देखियो, अब सहमतिको विकल्प छैन”, उनी भन्छिन्।
नामकरणबारे समाजवादी–राजपा, नेकपा र कांग्रेसले छुट्टा–छुट्टै प्रस्ताव गरेको छ । ‘मधेश’ नामकरण हुनुपर्ने समाजवादी–राजपा गठबन्धनसँग ५६, ‘जानकी’ नामकरण हुनुपर्ने प्रस्ताव गर्ने नेकपासँग ३२ र ‘मिथिला–भोजपुरा’ नामकरणको प्रस्ताव गर्ने कांग्रेससँग १९ मत छ।
मंगलबार भएको मतदानमा भने केही मत क्रस भएको थियो । तर, क्रस मतले मात्रै राजधानी र नामकरण नटुंगिने देखिन्छ।
नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेशको पक्षमा ३७ मत, कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’को पक्षमा २८ मत र समाजवादी–राजापाले प्रस्ताव गरेको ‘मधेश’ प्रदेशको पक्षमा ६० मत परेको छ।
कांग्रेसकै सांसदहरु ओमप्रकाश शर्मा, राजेश्वरप्रसाद साह र शंकर चौधरीले प्रस्ताव गरेको ‘मध्य मधेश’ को पक्षमा ४२ मत परेको छ । सवैभन्दा बढी भोट क्रस यो प्रस्तावमा भयो । समाजवादी–राजपाको प्रस्तावमा ५, नेकपाको प्रस्तावमा ५ र कांग्रेसको प्रस्तावमा ९ मत क्रस भोट भएको छ। जबकी, सवै दलको आशा भोट क्रस गराएर आफ्नो प्रस्ताव पारित गराउने थियो ।
कुनै पनि दलसँग याे प्रदेशमा दुई मत छैन । नेकपालाई प्रष्ट दुई तिहाई मत रहेकाे बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशले नामकरण र राजधानी टुंगाे लागिसकेकाे छ । तर, नेकपाकै दुई तिहाइकाे सरकार चलाइरहेकाे प्रदेश-१ र ५ ले भने अहिलेसम्म नामकरण र राजधानी टुंग्याउन सकेका छैनन्।