काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको कार्यालयले जनाएको छ ।
सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
“हिजोको घटनाले आज पनि परिस्थिति भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकाल सम्मका लागि कर्फ्यु आदेश जारी गरेका छौँ”, उनले भने ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।
खानीखोला गाउँपालिका १ की ३२ वर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीय छोरीको टिपरको ठक्करले मृत्यु भएको थियो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
अवस्था तनावग्रस्त बनेपछि लागेको कर्फ्यूका कारण मंगलबारको कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ।