प्रहरीद्वारा बरामद १० लाख मास्क सुपथ मूल्यमा किन्न पाइने
सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी राखेर बजारमा बिक्री वितरणका लागि पठाउने तयारी थालेको छ।
यसका लागि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहितलाई बोलाएर बरामद मास्क सुपथ मूल्यमा सर्वसाधारणसम्म पुर्याउन बैठक गरिरहेको छ।
महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) प्रमाणका रुपमा राखेर बजारमा कुनै एउटा विश्वासिलो संस्थामार्फत बिक्री वितरणका लागि पठाउने तयारी भइरहेको बताए।
“आईजीपी सहितको बैठक बस्दैछौं,” महान्यायाधीवक्ता खरेलले भने “सरकारी संस्था वा निकायमार्फत बरामद मास्क सर्वसाधारणले सुपथ मूल्यमा खरिद गर्न पाउने ब्यवस्थापन गदैछौं।”
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै नेपालमा रोकथामका लागि आवश्यक चिकित्सकीय सामाग्रीको अभाव सुरु भएको छ। प्रहरी–प्रशासन बजारमा मास्क र स्यानिटाईजरको कृतिम अभाव सृजना गरेर कालोबजारी भइरहेको तथ्यसँगै यस बिरुद्धको अभियानमा सक्रिय छन्।
उपचारमा संलग्न चिकित्सक, बिरामी र उसको नजिक रहने ब्यक्तिका लागि अति आवश्यक र अनिवार्य मानिएको चिकित्सकीय मास्कको बजारमा अभाव छ । यसले उपचारमा संलग्नहरू अप्ठेरोमा छन्।
यही क्रममा काठमाडौं प्रहरीले तीन दिनमा करिब १० लाख भन्दा बढी मास्क बरामद गरेको छ। तर ती मास्कको कालोबजारीमा संलग्नहरूलाई पक्राउ गरेसँगै बरामद मास्क दशीका रुपमा जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन्। बजारमा मास्कको अभाव भइरहँदा लाखौं मास्क कानूनी अड्चनका कारण प्रशासनमा थन्किएका हुन्। कानून अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म ती मास्क दशीका रुपमा राख्नु पर्छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहसचिव जनकराज दाहाल बरामद मास्क बजारमा परल मूल्यमा बिक्री वितरणका लागि पठाउन कानूनी सल्लाह भइरहेको बताउछन् । उनका अनुसार यस बिषयमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्तासँग छलफल भइरहेको हो।
“हामीले १० लाखभन्दा बढी मास्क बरामद गरेका छौं,” दाहालले भने “यी मास्क बजारमा पठाउन कानूनी अड्चन छ, कसरी फुकाउने छलफलमा छौं।” सहसचिव दाहालका अनुसार बरामद मास्क बजारमा पठाउनु अति आवश्यक रहेको ठहरसहित छलफलको तयारी भइरहेको छ।
सरकारी वकिल कार्यालयका अधिकारीहरू बरामद मास्क बजारमा पठाउन पक्राउ परेका अभियुक्तलाई नै उपयोग गरेमा र उनीहरू तयार भएमा मात्र सम्भव हुने बताउछन्।
जिल्ला सहन्यायाधिवक्ता नुमराज खनाल अनुसार मुद्दा हेर्ने अधिकारी (प्रजिअ) ले बरामद मास्कका धनीमार्फत अत्यावश्यक वस्तुको सूचीमा राखेर लिलामका लागि निवेदन दिन लगाउने वा लिलामका लागि आदेश दिने अधिकार राख्ने बताउछन्।
त्यसपछि बरामद मास्क लिलाम गरेर बेचबिखनका लागि बजारमा पठाउन सकिन्छ । खनालका अनुसार लिलामबाट प्राप्त रकम धरौटी खातामा राख्ने र मुद्दाको किनारा लागेपछि सो रकम फैसला अनुसार तोकिनेछ ।
“फैसलामा दोषी ठहरेमा बरामद मास्कको लिलाम मूल्य जफत हुनेछ,” खनालले भने “ कसुर नठहरेमा धरौटी खातामा रहेको रकम आरोपीले पाउनेछन् ।”
प्रहरीले हालसम्म १० लाख ८६ हजार थान मास्क सहित कालाेबजारीमा संलग्न १३ जना पक्राउलाई गरेकाे छ । प्रहरीले ३ रुपैयाँ खरिद मूल्य पर्ने मास्क ३१ रुपैयाँसम्म खरिद बिक्री हुने गरेकाे जनाएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले ३ चैत्रमा आरडीजी इन्टरनेशनल सप्लायर्सकाे सतुंगलस्थित गाेदाममा छापा मारेर ८ लाख ४० हजार थान मास्क बरामद गरेकाे हाे। यसअघि प्रहरीले २ चैत्रमा यही सप्लायर्सबाट खरिद गरेर महँगाेमा बिक्री गरिरहेका पाँचजनालाई पक्राउ गरेर उनीहरुका साथबाट १ लाख ६८ हजार थान मास्क बरामद गरेकाे थियाे । प्रहरीले पक्राउ गरेकाहरुबाटै सतुंगलस्थित गाेदामकाे खुलासा भएकाे थियाे ।
याे घटनामा सुरज गोयल, सुवास महेश्वरी, अजिम बक्स मियाँ, संजय रेग्मी र टेकराम श्रेष्ठ पक्राउ परेका थिए ।
यस्तै प्रहरीले १ चैत्रमा डल्लु आवसमा मिन्टु तामाङ्गले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा छापा मारेर ७८ हजार थान मास्क सहित ८ जनालाई पक्राउ गरेकाे थियाे । पक्राउपर्नेमा काभ्रेका निशान तामाङ मिन्टु तामाङ्ग, मानकाजी लामा, रामेछापका अनिष कार्की र शिव खड्का, बाजुराका थुमराज उपाध्याय, निर्प अधिकारी र काठमाडौंका उज्वल अधिकारी छन् ।