चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर तीन वर्षयताकै न्यून देखिएको छ । केन्द्रीय तथ्यांक विभाग स्रोतका अनुसार, दोस्रो त्रैमास (कात्तिक–पुस) मा ६.०३ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल भएको प्रारम्भिक अनुमान छ ।
गत आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो । त्यसभन्दा अघिल्ला दुई आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर क्रमशः ६.३ र ११.८ प्रतिशत थियो ।
यो वर्षको पहिलो त्रैमासिकमा ४ दशमलव ५५ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो, जुन गत वर्षको पहिलो त्रैमासिकमा ६ दशमलव ९ प्रतिशत थियो ।
धानको उत्पादनमा कमी, सरकारी खर्चको न्यूनता तथा निर्माण क्षेत्रको सुस्तताका कारण दुबै त्रैमासिकमा आर्थिक वृद्धिदर मध्यम मात्रै देखिएको हो । गत वर्ष धानको उत्पादन करिब १० प्रतिशत बढेको तथा भूकम्पछिको पुनर्निर्माणका कारण वार्षिक आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुगेको थियो ।
सरकारले चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने दाबी गरेपनि शुरुका दुई त्रैमासिकको तथ्यांकले सरकारी दाबी असफल हुने संकेत देखाएको छ । तेस्रो त्रैमासिक (माघ–चैत) कोरोनाको प्रभावका कारण अर्थतन्त्रमा शिथिलता आएका कारण यो वर्ष आर्थिक वृद्धिदर विगतका वर्षका तुलनामा घट्ने निश्चितप्रायः छ ।
आर्थिक वृद्धिदर ५ प्रतिशत हाराहारी
लगातार तीन वर्ष वार्षिक औसत झ्ण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेपछि पछि यो वर्ष आर्थिक वृद्धिदर फेरि पूरानै लय अर्थात पुगनपुग ५ प्रतिशत हाराहारीमा ओर्लने तथ्यांकले देखाएको छ ।
अर्थशास्त्रीहरुले पनि बितेका तीन वर्षको उच्च आर्थिक वृद्धिदर यो वर्ष घट्ने बताएका छन् । अर्थशास्त्री केशव आचार्य यो वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशतकै वरिपरि हुनसक्ने आंकलन गर्छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पनि आर्थिक वृद्धिदर ५ प्रतिशत हाराहारीमा हुनसक्ने आंकलन गरेका छन् । कोरोनाको प्रभाव लम्बिएमा आर्थिक वृद्धिदर त्यो भन्दा तल पनि झ्र्नसक्छ ।
कोरोनाको कहर शुरु हुनु भन्दा अगाडिकै तथ्यांकले यसैपनि आर्थिक वृद्धिदर गत वर्षभन्दा खस्किने देखाइसकेकोमा पुसपछि देखिन थालेको कोरोना प्रभावले तेस्रो र चौथो त्रैमासिकलाई असर गर्छ ।
कोरोनाले अर्थतन्त्र विस्तारका अवयवहरु थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुरा, उद्योगमा सोझै प्रभाव पारेको छ । कोरोना प्रभावपछि अर्थतन्त्रमा २.०५ प्रतिशत योगदान दिने होटल र रेस्टुँरा क्षेत्रको नराम्ररी प्रभावित भएका छन् । यो प्रभाव कति लामो समयसम्म रहन्छ भन्ने अनिश्चित छ ।
गत वर्षको आर्थिक वृद्धिदरमा धानको करिब १० प्रतिशतको वृद्धिदरसहित समग्र कृषि क्षेत्रको वृद्धिदर ५ प्रतिशत थियो । कुल गार्हस्थ उत्पादनमा २६.५ प्रतिशत योगदान दिने कृषि क्षेत्रको वृद्धिदर धानसहितका कृषि बाली घटेका कारण यो वर्ष ३ प्रतिशत हाराहारीमा मात्रै हुने आंकलन गरिएको छ ।
कृषिपछि कुल गार्हस्थ उत्पादनमा योगदान दिने सबैभन्दा ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार हो, जसले कुल गार्हस्थ उत्पादनको १४.३७ प्रतिशत हिस्सा ओगट्छ ।
कोरोनाले थोक तथा खुद्रा व्यापारमा सोझै गहिरो चोट कसरी पार्दैछ भने वस्तु आयात माघसम्ममा ३ दशमलव ६ प्रतिशतले घटेको छ । फागुनमा आयात थप घटेको अनुमान छ ।
कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक केरुङ र तातोपानी नाका १६ माघदेखि ठप्प छ । नाका बन्द अगाडि पनि चिनियाँ नयाँ वर्ष परेकाले चीनबाट सामान आउन सुस्त थियो ।
गत वर्ष झ्ण्डै ११ प्रतिशतले विस्तार भएको थोक तथा खुद्रा व्यापार क्षेत्र यो वर्ष आयातको सुस्तता, औद्योगिक उत्पादनको शिथिलता र कृषिको न्यून विस्तारका कारण गत वर्षको तुलनामा खुम्चने छ ।
कुल गार्हस्थ उत्पादनमा ७.८ प्रतिशत योगदान दिएको निर्माण क्षेत्रलाई पनि कोरोना व्यथा लागेको छ । यसैपनि गत वर्ष ९ प्रतिशतले बढेका निर्माण क्षेत्रमा यो वर्ष सुस्तता देखिएकोमा कोरोनाका कारण विभिन्न जलविद्युत आयोजन, सडक र विमानस्थल निर्माण प्रभावित भएपनि निर्माणमा शिथिलता आएको छ ।
अर्थतन्त्रमा योगदान दिएको अर्को महत्वपूर्ण क्षेत्र यातायात पनि मानिसहरु चलायमान नहुँदा सुस्ताउन थालेको छ । कयौं एयरलाइन्सको उडान सुस्ताएको छ भने सडक यातायात पनि शिथिल भएको छ ।
पहिलो ६ महिनामा औद्योगिक उत्पादनमा समेत सुस्तता आएको देखाउने राष्ट्र ब्यांकको अनुसन्धान विभागका एक अधिकारी बताउँछन् । उनका अनुसार, पहिलो ६ महिनाको तथ्यांकले औद्योगिक क्षमताको उपयोग दर घटेको देखिएको छ । अर्थतन्त्रमा उद्योग क्षेत्रले ५.६ प्रतिशत योगदान गर्छ ।