पेरुङ्गोमा जीवनदृष्टि
पेरुङ्गो संस्करण (पाँच कृतिको सँगालो) लेखक: गणेश रसिक, प्रकाशक: सांग्रिला बुक्स, मूल्य: रु.२२५०
लेखकहरुका चर्चित वा सबै कृतिलाई एउटै समुच्च संग्रहमा प्रकाशन गर्ने चलन नयाँ होइन । गणेश रसिकले आफ्ना चर्चित पाँच पुस्तकको संग्रहलाई नयाँ नाम दिएका छन्, ‘पेरुङ्गो संस्करण’ । पेरुङ्गो बाँसको चोयाले बनेको सामग्री हो । पूर्वका राई र लिम्बूले वैवाहिक लगायत अन्य सांस्कृतिक कार्यमा कुखुरा, सुँगुरका पाठा र अन्य सौगात राख्न प्रयोग गर्छन् ।
पेरुङ्गोमा रसिकका ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरू’, ‘आकाशगङ्गाको ओतमुनि’, ‘मुनिया र उसको छोरो’ र ‘ताराभन्दा सपना धेरै’ पुस्तक संग्रहित छन् । पाँचै पुस्तक फरक विधाका छन् । ‘दशगजामा उभिएर’ मा १८ वटा संस्मरणात्मक निबन्ध छन् । यो कृतिले २०६३ सालको पद्मश्री पुरस्कार पाएको थियो ।
पुस्तकमा रसिकले नजिकका मान्छे गुमाउँदाको पीडालाई उतारेका छन् । दशगजालाई जन्म र मृत्युको सीमारेखाका रुपमा अर्थ्याएका छन् । “मान्छेको भाग्यमा जन्म कसरी र मरण कहा“ हुन्छ भन्ने जन्मिएको दिन र मरेको दिन मात्र थाहा हुँदोरहेछ”, जीवन दर्शनमा उनी यस्तो निचोड निकाल्छन् ।
पेरुङ्गोको अर्को कृति ‘छपक्कै मनमा बसेकाहरू’ मा रसिकले आफूले सङ्गत गरेका साहित्य र सङ्गीत क्षेत्रका १९ व्यक्तिबारे व्यक्तिचित्र उतारेका छन् । कृति पढेपछि थाहा हुन्छ, रसिकले अक्षर र गीत–सङ्गीतको खेती गर्नेलाई साथी बनाउँदै हिंडे ।
आकर्षक भाषाशैलीमा लेखिएका संस्मरणले पाठकलाई बाँधेर त राख्छन् नै चर्चित व्यक्तिबारे नयाँ जानकारी पनि दिन्छन् । बालकृष्ण सम, तारादेवी, शान्ति ठटाल, कृष्णभूषण वल, रामेश, मञ्जुल लगायतसँग उनले विताएको समयले तत्कालीन परिस्थितिको व्याख्या गरेको छ ।
अर्को पुस्तक ‘आकाशगङ्गाको ओतमुनि’ लाहुरेको कथामा बुनिएको उपन्यास हो । आफ्नो देश, गाउँ र घर–परिवारको मायाले आहत भएको लाहुरे मनलाई उनले शब्द मार्फत प्रतिबिम्बित गरेका छन् । आफू परदेश भएका कारण आमाबुवालाई अन्तिम घडीमा भेट्न नपाएकोमा मुख्यपात्र सर्वजित राई छट्पटिएको छ।
उपन्यासमा पूर्वी तराईमा झोडा फाँडेर बस्ती बस्दै गरेको समय छ । त्यो समय २०२० देखि २०३५ सालबीचको हो भनेर अनुमान लगाउन सकिन्छ । सरकारी जग्गा हडपेको भन्दै सर्वजितलाई कुटपिट मात्र गरिंदैन, जेल नै पठाइन्छ । तर, उसले हार मान्दैन र झोडामा बस्ने संघर्ष गरिरहन्छ । उपन्यासले राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्षमै जीवन बिताएको एउटा पुस्ताको कथा भन्छ ।
रसिकको साहित्यिक यात्रा कथा लेखनबाट शुरु भएको हो । पेरुङ्गोमा पनि उनको एउटा कथासङ्ग्रह ‘मुनिया र उसको छोरो’ समावेश छ । संग्रहमा १३ वटा कथा छन् । सामाजिक यथार्थतामा आधारित कथामा पूर्वी भेगको जनजीवन छ ।
पुस्तकको शीर्ष कथाले आफ्नो श्रीमान्बाट बच्चा नजन्मिएपछि परपुरुषसँग सम्बन्ध राखेर आमा बनेको घटनालाई विषय बनाइएको छ । रसिकले आफ्ना कथामा सबै वर्गका मानिसलाई पात्र बनाएका छन्, गाउँ र शहर दुवैका परिस्थिति उतारेका छन् ।
रसिकलाई अझै पनि धेरैले गीतकार र गायकका रुपमा चिन्छन् । उनी राल्फाली समूहमा पनि आबद्ध थिए । उनै रसिकको गीत संग्रह ‘ताराभन्दा सपना धेरै’ मा १०० वटा गीत समेटिएका छन् । ती गीतमा मायापिरती, देशप्रेम, मानवताको भावना छ । किताबको शीर्षकले नै मान्छेको सपनाको अनन्तता प्रतिविम्बित गरेको छ ।
समग्रमा गणेश रसिक बुझ्न चाहनेले उनको ‘पेरुङ्गो संस्करण’ पढ्नैपर्छ । उनको कल्पनाशीलता मात्र होइन उनी बाँचेको जीवनको कालखण्ड बुझ्न पनि पेरुङ्गो पढिनुपर्छ, यस्तो कालखण्ड, जुन आजका सहस्राब्दी पुस्ताका लागि इतिहास बनिसकेको छ।
–बालिका थपलिया