कोरोनाले घाेडे जात्रा पनि प्रभावित
विश्वभर महामारी बनेको कोरोनाभाइरस संक्रमणका कारण नेपाली सेनाको अवधि पुगेर अदलीबदली हुने तयारीमा रहेको दक्षिण सुडानको मिसन स्थगित भएको छ ।
यस्तै नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरुले तीन देशमा सहभागिता जनाउने तालिम स्थगित भएको छ । यसैगरी सशस्त्र प्रहरीले वर्षेनी गर्दै आएका तीनवटा राष्ट्रिय प्रतियोगिता केही समय नगर्ने निर्णय गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका तर्फबाट दक्षिण सुडानमा खटिएको शान्ति सेनाको टोली अवधि पुगेपनि फिर्ता नभई उतै रोकिएको छ भने नेपालबाट जाने टोली समेत नजाने भएको हो।
सुडान सरकारले संयुक्त राष्ट्र संघलाई पत्र लेख्दै नेपाल, भारत, चीन, दक्षिण कोरिया र कम्बोडियाबाट आउने र जाने मिसनलाई केही समय स्थगित गर्न पत्र लेखेको हो । संयुक्त राष्ट्र संघले नेपाली सेनालाई जानकारी गराएसँगै त्यहाँ तैनाथ देवीदत्त गण उतै रोकिएको हो ।
यस्तै देवीदत्त गणलाई विस्थापित गर्ने कालिध्वज गण केही समयका लागि जाने छैन। यस्तै नेपाल प्रहरीको साउथ सुडान खटिने १७ जनाको टोली समेत जान पाएन ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार चीनमा विभिन्न तालिममा सहभागी भएका र पढ्न गएका नेपाली सेनाका १४ अधिकारीहरु समेत फिर्ता भएका छन्। उनीहरुले हाल नेपालमै बसेर अनलाइन कोर्स गरिरहेका छन्।
उनका अनुसार नेपाली सेनाका निर्धारित विविध कार्यक्रम स्थगित भएका छन् । सेनाले विभिन्न देशका सेनासँग यो सिजनमा गर्ने सगरमाथा आरोहण हाललाई स्थगित भएको छ । यस बाहेक सेनाको सफा हिमाल कार्यक्रमका विषयमा समेत ठोस निर्णय भइसकेको छैन ।
“विश्वब्यापी महामारीका कारण हामीले आयोजना गर्दै आएको घोडेजात्रा उत्सव समेत यसपटक आन्तरिक रुपमा मात्रै गर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,” सहायक रथी पाण्डेले भने “भिडभाड हुने धेरै कार्यक्रम सहित अन्तर्राष्ट्रिय भ्रमण तालिका प्रभावित भएको छ।” यसवर्षकाे घाेडे जात्रा ११ चैत्रमा छ ।
उनका अनुसार सैनिक मञ्चमा भब्यताका साथ आयोजना हुँदै आएको घोडेजात्रा यसपटक आन्तरिक रुपमा जंगी अड्डामा मात्र आयोजना गर्ने विषयमा छलफल भइरहेको हो । यसपटक घोडेजात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट पाहुनालाई नबोलाई सेनाले मात्र परम्परा निरन्तरताका लागि आयोजना गर्नेछ।
नेपाल प्रहरीका चारजना वरिष्ठ अधिकारीहरुको अन्तर्राष्ट्रिय तालिम कोरोना भाइरसको प्रभावका कारण स्थगित भएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले हिमालखबरलाई बताए । उनका अनुसार इटलीमा एक, भियतनाममा २ र इन्डोनेशियामा १ गरी ४ जना प्रहरी अधिकारीहरु तालिमका लागि जाने तयारीमा थिए । तर आयोजक राष्ट्रले कार्यक्रम स्थगितको सूचना पठाएपछि उनीहरु जान पाएनन्। इटलीमा २६ फेबररी र भियतनाम तथा इन्डोनेशियामा ९ मार्चमा सचालन हुने तालिममा प्रहरी अधिकारी जान पाएनन्।
सशस्त्र प्रहरीले वर्षेनी आयोजना गर्दै आएको सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिवल प्रतियोगिता अर्को समय तालिका सार्वजनिक नहुँदासम्मका लागि स्थगित भएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठका अनुसार योसँगै सहबीर स्मृति खुला लंगटेनिस र कृष्णमोहन खुला ब्याडमिन्टन प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि रोकिएको हिमालखबरलाई बताए।
“चैत्र २३ देखि २७ सम्म आयोजना हुने भनिएका तीन महत्वपूर्ण प्रतियोगिता हाललाई स्थगित गरेका छौं,” डीआईजी श्रेष्ठले भने “यसबाहेक सशस्त्रले आन्तरिक रुपमा सजगता र बाहिर संक्रमण रोक्न विविध सहयोगी कार्यक्रम संचालन गर्नेछ।”