कफीको नशा
डा. प्रकाशराज रेग्मी
संसारमा धेरै पिइने पदार्थहरूमध्ये कफी एक हो । विकसित राष्ट्रहरूमा करीब आधा जनसंख्याले कफी सेवन गर्छन् । प्रत्येक दिन एक जनाले सरदर तीन कप कफी पिउँछन् ।
कफी र रक्सी दुवैमा नशा छ । कडा कफी पिउने बानी भएकाहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नु परे रक्सी छाड्छन् । रक्सी छोड्न सक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमा भन्दा कडा नशा कफीमा छ भनेर बुझ्नुपर्छ ।
चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर प्रभाव पार्छ । रक्सी र चुरोटको लत बसेकाहरूले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्ने जस्ता समस्या देखा पर्छन् । यसलाई ‘विथड्रअल इफेक्ट’ भनिन्छ ।
रक्सीमा इथानोल र चुरोटमा निकोटिन भए जस्तै कफीमा क्याफिन हुन्छ । यसमा एक प्रकारको नशा हुन्छ । मान्छेले एक पटक कफी पिएपछि फेरि पनि पिऊँ–पिऊँ लाग्ने कारण यही हो । एक मझैाला कप कफीमा १०० ग्राम क्याफिन हुन्छ । स्वास्थ्यका दृष्टिले दैनिक २०० देखि ४०० ग्रामसम्म क्याफिन पिउनु सुरक्षित नै मानिन्छ । अर्थात् एकजनाले दैनिक दुईदेखि चार कपसम्म कफी पिउन सक्छ ।
कफी पिउन हुने नहुने भन्ने चाहिं व्यक्तिको स्वास्थ्यको स्थितिमा भर पर्छ । क्याफिन तत्व, कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिङ्क्स र इनर्जी ड्रिङ्क्समा पनि पाइन्छ । इनर्जी ड्रिङ्क्स पिउन मन लाग्ने कारण पनि क्याफिनको नशाले हो ।
कफीले स्वास्थ्यमा असर गर्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ । कफीले दिमाग र मुटुलाई उत्तेजित बनाउँछ । थोरै प्रयोगले खासै असर नगरे पनि धेरै हुने वित्तिकै पाचन प्रणालीमा समेत असर गर्छ । धेरै भन्नाले दैनिक चार कप भन्दा बढी कफीलाई मान्नुपर्छ । कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काम्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, उच्च रक्तचाप, अपच हुने जस्ता समस्या देखिन सक्छन् ।
दिनमा ५० देखि १०० कपसम्म कफी पियो भने मृत्यु समेत हुनसक्छ । १० हजार ग्राम क्याफिन शरीरमा पर्यो भने तत्कालै मृत्यु हुनसक्छ । कसै कसैलाई अलिकति कफी पिउने वित्तिकै असर गर्छ, यसलाई कफीमा ‘सेन्सेटिभ’ भएको भनिन्छ । कफीमा ‘सेन्सेटिभ’ हरूलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने जस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।
कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धान भएका छन् । केही अध्ययनले दैनिक दुईदेखि चार कपसम्म कफी पिउँदा स्वास्थ्यमा राम्रो असर पार्छ भन्ने पनि देखाएको छ । विज्ञानले के पनि भन्छ भने कफीले मधुमेह र मुटुरोगबाट बचाउँछ ।
दिमाग सम्बन्धी अल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ, पार्किन्सन, लिभर सिरोसिस र क्यान्सर हुनबाट रोक्छ । कलेजोमा बोसो जम्ने (नन अल्कोहोलिक फ्याटी लिभर) समस्यालाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ । तर गर्भवती महिला र १८ वर्ष मुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ किनकि उनीहरूलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पुर्याउँछ।