टुटल र पठाओको पक्षमा यातायात मन्त्री नेम्वाङ
टुटल र पठाओ बन्द गर्नेगरी यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरेपछि ट्याक्सी व्यवसायीहरूसँग यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले छलफल गरेका छन् । बुधबार साँझ मन्त्रालयमा व्यवसायीहरूसँग मन्त्री नेम्वाङले छलफल गरेका हुन् ।
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १२ को उपदफा १ लाई आधार मान्दै विभागले २७ फागुनमा विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिमा टुटल र पठाओ जस्ता राइडर बन्द गर्न निर्देशन दिइएको छ। तर, मन्त्री नेम्वाङले यसबारे विभागले बोल्न नमिल्ने बताएका छन् । हिमालखबरसँग उनले भने, “यो प्रदेश सरकारको क्षेत्राधिकार भित्रको विषय हो । प्रदेश सरकारले ऐन पनि बनाइसकेको छ । यस सम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।”
२०७२ को नाकाबन्दी पछाडि सञ्चालनमा आएको टुटल र पठाओ जस्ता राइडर अवैधानिक रहेको भनी बेला–बेला यातायात व्यवस्था विभागले कार्बाहीको निर्देशन दिदै आएको छ । तर, कहिले मन्त्री त कहिले प्रधानमन्त्रीले टुटल र पठाओ सञ्चालन नरोक्न निर्देशन दिदै आएका छन् ।
मन्त्री नेम्वाङले व्यवसायीहरूलाई पनि यिनै कुरा बताएका थिए । यातायात सञ्चालन सम्बन्धी क्षेत्राधिकार प्रदेश सरकारको भएको र यस सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले तत्काल कुनै निर्णय नलिन मन्त्री नेम्वाङले व्यवसायीहरूलाई आग्रह गरेका थिए ।
व्यवसायीहरुले गएको २९ मंसीरमा दायर गरेको रीटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल टुटल र पठाओ बन्द गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । तर, यातायात व्यवस्था विभागलाई भने कारण देखाउ आदेश जारी गर्यो ।
मन्त्री नेम्वाङले पनि अदालतको निर्णय पर्खनुपर्ने भएकाले विभागलाई तत्काल कुनै कदम नचाल्न निर्देशन दिएका छन् । मन्त्री नेम्वाङकै निर्देशनमा विभागले बिहीबार दिउँसो पत्रकार सम्मेलनमार्फत् आफ्नो कुरा राख्ने तयारी गरेको छ ।
“विभागले यसबारे विस्तृत जानकारी दिनेछ” मन्त्री नेम्वाङले भने ।
२०७२ को नाकाबन्दी पछाडि सञ्चालनमा आएको 'शेयर राइडिङ' टुटल र पठाओ जस्ता राइडर अवैधानिक रहेको भनी बेला–बेला यातायात व्यवस्था विभागले कार्बाहीको निर्देशन दिदैँ आएको छ । तर, कहिले मन्त्री त कहिले प्रधानमन्त्रीले टुटल र पठाओ सञ्चालन नरोक्न निर्देशन दिँदै आएका छन् ।
३ माघ २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृहमन्त्री रामबहादुर थापा र तत्कालीन यातायात व्यवस्था मन्त्री रघुबीर महासेठलाई टुटल र पठाओ जस्ता नवप्रवर्द्धन नरोक्न निर्देशन दिएका थिए । त्यसैअनुसार, टुटल र पठाओ सञ्चालन हुँदै आएका छन् ।
गएको ४ मंसीरमा पनि विभागले टुटल र पठाओ रोक्न निर्देशन दिएको थियो । ट्याक्सी व्यवसायीहरूले भने निजी प्रयोजनका लागि चलेको सवारी अवैधानिक रुपमा चलाउन नमिल्ने भन्दै आपत्ति जनाउँदै आएका छन् ।
तर, त्यही दिन मन्त्री नियुक्त भएका नेम्वाङले नरोक्न निर्देशन दिएका थिए । “यस्ता नवप्रवर्द्धनलाई ऐन ल्याएर नियमन गर्नुपर्छ । त्यसका लागि प्रदेश सरकार अगाडि बढिसकेको छ”, मन्त्री नेम्वाङले भने ।