तराई–मधेसमा आज पनि होली
तराई–मधेसमा बुधबार पनि होली मनाइँदै छ । होली मनाउने दिन मंगलबार परेकाले अधिकांशले सो दिन होली नमानी बुधबार होली मनाएका छन् । प्रदेश सरकारले पनि होलीको बिदा मंगलबार र बुधबार दुई दिन दिएको छ ।
आइतबार, मंगलबार र बिहीबार धेरै घरमा माछामासु नखाने तथा खसीबोका नकाट्ने हुनाले त्यसको भोलिपल्ट होली मनाउने गरिन्छ । अधिकांश ग्रामीण क्षेत्रमा होली बुधबार मनाइँदै छ ।
होलिका दहन सोमबार साँझ नै गरिएको थियो । रातिको १२ बजेपछि मंगलबार शुरु हुने हुँदा मंगलबार होलिका दहन नहुने भएकाले पूर्णिमाको साँझ नै होलिका दहन गरिएको थियो ।
होलिका दहनलाई स्थानीय भाषामा समत फुकाएके भनिन्छ । सामान्यतया होलिका दहन भएपछि होली खेल्न थालिन्छ । यस वर्ष होलिका दहन सोमबार भए पनि होली मंगलबार र बुधबार हुन पुगेको हो ।
कतिपय गाउँमा समुदायले औपचारिक रूपमै होली बुधबार खेल्ने निर्णय गरेको छ । होलिका दहन गरेपछि गाउँमा होलीको कुनै पनि चहलपहल नभएको र बुधबार मात्र होली खेलिंदै गरेको माधवनारायण नपाको फुलबरियाका वीरेन्द्र साहले बताए । अधिकांश ग्रामीण क्षेत्रमा होली बुधबार भइरहेको गढीमाई नपाको पर्सा गाउँका लालबाबु पटेल पनि बताउँछन् ।
होलीको कोसेली बुधबार मात्र दिदी–बहिनीकहाँ पुर्याइँदै छ । यसैगरी होलीको मुख्य दिन मंगलबार परेकाले बुधबार होली खेलेर बिहीबार बिहानसम्म होलिका दहनको धुलो उडाएर होली समाप्त गर्ने र चैतको सुरुआत भएको घोषणा गर्ने तयारी रहेको छ ।
होलिका दहन गरिएको ठाउँको खरानी उडाउँदै परम्परागत बाजागाजासहित चैतावर गीत गाएपछि गाउँमा चैत महीना शुरु भएको मानिन्छ । बुधबार बिहान कुनै पनि गाउँमा होलिका दहनको खरानी उडाएर होलीको समापन गरिएको छैन ।
सञ्जय मित्र, रौतहट