त्रासमै खेलियो तराईमा होली
कोरोना भाइरस संक्रमणको त्रास भएपनि तराईमा होली पर्व मनाइएको छ।
गत वर्षहरूको तुलनामा यस वर्ष औपचारिक कार्यक्रम नगरिए पनि तराईबासीले होलीलाई अनौपचारिक रूपमा मनाए ।
सरकारको आग्रह अनुसार तराईमा पनि होलीका ठूला कार्यक्रम आयोजना गरिएनन् । होलीका दिन मंगलबार प्रदेश १ को राजधानी विराटनगरमा रंगमा रमेर हिंड्नेको संख्यामा कमी थिएन । विराटनगरका विभिन्न ठाउँमा हुँने होलीका ठूला समारोह भने भएनन् ।
देवकोटा चोकमा विहानदेखि बेलुकासम्म सयौं मानिस भेला भएर होलीको रंग र संगीतमा रमाए । यस पटक साना समूहमा होलीमा रमाउनेहरू सडकमा प्रशस्त थिए । अखिल नेपाल फुटबल संघका केन्द्रीय नेता तथा विराटनगर निवासी वसन्त अर्यालले होलीमा सबै रमाए पनि उत्ताउलो हुन नपाएको बताए ।
मोरङ धनपालथान गाउँपालिकास्थित कदमाहाका सन्तोष यादवका अनुसार, ग्रामीण भेगमा कोरोना भाइरसको त्रास देखिएन । “पहिलेका वर्ष जस्तै होली भयो, खाने, पिउने र ठूलाको आशीर्वाद लिनेहरूको कमी देखिएन गाउँमा”, यादवले भने । होलीमा रमाउनेको संख्या कमी नभएकैले पनि प्रदेश १ मा ट्राफिक कारवाहीको संख्या बढी देखिन्छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार, मोरङ, सुनसरी, झापा र उदयपुर गरी प्रदेश १ का चार जिल्लामा मंगलबार होली खेलेर सवारी नियम पालना नगर्ने ७ सय ४३ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । चार जिल्लामा ९ महिलासहित ६८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश १ का चार जिल्लामा होलीमा रमाइलो गर्ने क्रममा नियम पालना नगर्ने २० वटा इरिक्सा र टेम्पो तथा १ कारलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । होलीमा हुलहुज्जत गर्ने १८ जना मानिस र नियम पालना नगर्ने ६१ वटा सवारी साधन प्रदेश १ को राजधानी विराटनगरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मोरङका विभिन्न ठाउँबाट होलीका दिन ३ सय ४१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । होलीमा उद्दण्ड व्यवहार गर्ने मोरङबाट २६ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।