सेनालाई सीमाको जिम्मा
२०३७ सालमा नेपाल सेनाका तत्कालीन सहायक रथी एवं व्यवस्था तथा युद्धकार्य निर्देशक सचितशमशेर राणाले एक सैन्य टोली उत्तरी सीमा क्षेत्रमा पठाए ।
‘पूर्वाञ्चल उत्तरी हिमशृङ्खला रेकी’ नाम दिइएको ‘अपरेशन’ मा संलग्न टोलीलाई च्छोरोल्पा र ओलाङचुङगोलाको स्थलगत भ्रमण गरी सीमाको वस्तुस्थिति र सरकारप्रति सीमा क्षेत्रका बासिन्दाको धारणा र सीमामा अवाञ्छित गतिविधिबारे गुप्तचरी गर्ने जिम्मेवारी दिइएको थियो ।
उपसेनानी राजेन्द्र क्षेत्रीसहित चार अधिकृतको नेतृत्वमा खटिएको ३० जनाको टोलीले करीब डेढ महीना अध्ययन गरेर विस्तृत प्रतिवेदन बुझयो ।
यो अपरेशनको करीब ३६ वर्षपछि सैनिक नेतृत्वमा पुगेका उनै क्षेत्रीको निर्देशनमा सेनाले २०७२ चैतबाट दुई वटा अपरेशन संचालन गरिरहेको छ– उत्तरी सीमामा ‘अपरेशन हिमाल दर्शन’ र दक्षिणी सीमामा ‘अपरेशन मनसुन’ । जस अन्तर्गत सीमाको अवलोकन, सूचना सङ्कलन/अध्ययन र सैन्य रणनीति निर्माण लगायतका जिम्मेवारी पर्छन् ।
‘अपरेशन हिमाल दर्शन’ वर्षमा दुई पटक र ‘अपरेशन मनसुन’ आवश्यकता अनुसार वर्षमा ६ पटकसम्म संचालन हुन्छ । एक महीनासम्म पैदल गस्ती हुने यी दुवै कारबाहीमा सेनाको सोही क्षेत्रको पृतनाले सम्बन्धित गण र गुल्मलाई खटाउँछ ।
पूर्व प्रधानसेनापति क्षेत्री सीमामा रहेका सम्बन्धित युनिटले आफ्नो क्षेत्रमा रहेका सीमाको जानकारी पाउन र दुवै छिमेकी देशको सुरक्षा चासो सम्बोधन होस् भनेर अपरेशन संचालनमा ल्याएको बताउँछन् । “दुवै अपरेशन सूचना सङ्कलनका लागि फलदायी साबित भएका छन्”, उनी भन्छन् ।
सेनाले गोप्य कारबाही अन्तर्गत यी अपरेशन गरी रक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउँदै आएको छ । यसै बीचमा गत १६ कात्तिकमा भारतले आफ्नो नयाँ नक्शा सार्वजनिक गर्यो, जसमा नेपाली भूमि कालापानी पनि समेटिएको थियो ।
भारतले विवादित नक्शा सार्वजनिक गर्नु अगावै रक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सेनालाई सीमा क्षेत्रमा निगरानीसहित सन्धि–सम्झौता र महत्वपूर्ण दस्तावेज अध्ययनको जिम्मेवारी दिने निर्णय गरिसकेको थियो ।
छुट्टै निर्देशनालय स्थापना
२१ फागुन २०७५ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा सम्बन्धी द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता, नक्शा एवम् अन्य दस्तावेजको संरक्षण तथा अध्ययन–अनुसन्धान गर्न नेपाल सेनामा बेग्लै कार्यालय स्थापना गर्ने निर्णय गरेका थिए । रक्षाले उक्त निर्णय अनुसारको कार्यादेश पत्र १४ चैतमा सैनिक मुख्यालयलाई पठायो ।
त्यसै अनुसार सेनाले २०७६ वैशाखमा सहायक रथीको नेतृत्वमा चार महासेनानी र प्राविधिक समेत संलग्न करीब ७० जना जनशक्ति रहेको ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’ स्थापना गरेको छ ।
सैनिक युद्धकार्य महानिर्देशनालय मातहत रहेर काम गरिरहेको यो निर्देशनालय अन्तर्गत महासेनानीहरूको नेतृत्वमा सीमा अनुगमन तथा समन्वयन महाशाखा, सर्भे महाशाखा, सन्धि सम्झौता तथा अनुसन्धान महाशाखा र प्रशासन तथा बन्दोबस्ती महाशाखा छन् ।
भारतले विवादित नक्शा सार्वजनिक गर्नु अगावै रक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सेनालाई सीमा क्षेत्रमा निगरानीसहित सन्धि–सम्झौता र महत्वपूर्ण दस्तावेज अध्ययनको जिम्मेवारी दिने निर्णय गरिसकेको थियो ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे निर्देशनालयले विज्ञहरूसँग छलफल गर्नुका साथै महत्वपूर्ण दस्तावेज समेत संग्रह गरेर सीमा समस्या सल्टाउने काम थालेको बताउँछन् । “निर्देशनालयले पहिलो चरणमा भारत र चीनसँगको सीमामा विवादित क्षेत्रको स्थलगत अध्ययन गर्नेछ”, उनी भन्छन् ।
यसका लागि सैनिक मुख्यालयले ६ मुलुकमा रहेका नेपाली दूतावासमा खटिएका सैनिक सहचारीहरूलाई ती देशमा नेपाल सम्बन्धी महत्वपूर्ण सन्धि–सम्झौता, नक्शा र अन्य दस्तावेज खोज्न निर्देशन दिइसकेको छ ।
यस्तो निर्देशन पाउनेमा सैनिक सहचारी सहायक रथी कुमारबाबु थापा (बेलायत), सहायक रथी विनोद पाण्डे (चीन), सहायक रथी ईश्वरकान्त पौडेल (भारत), सहायक रथी हेम केसी (पाकिस्तान), सहायक रथी विनोद खरेल (बाङ्लादेश) र सहायक रथी मधुकर कार्की (अमेरिका) छन् ।
सेनाले विशेष गरी सैनिक सहचारी थापालाई बेलायतले भारतमा शासन गर्दा विभिन्न कालखण्डमा नेपालसँग गरेका सन्धि–सम्झौता सम्बन्धी दस्तावेज खोज्ने जिम्मा दिएको छ । सेनाले बेलायतका सेनाध्यक्ष चिफ अफ द जनरल स्टाफ सर मार्क कार्लटन–स्मिथले गत ३–९ फागुनमा गरेको नेपाल भ्रमणका क्रममा समेत दस्तावेज खोजीका लागि सघाउन आग्रह गरिएको बताइएको छ ।
सैनिक प्रवक्ता पाण्डे सैनिक सहचारी मार्फत दस्तावेज भेटिए परराष्ट्र मन्त्रालयमा जानकारी गराएर प्रक्रिया पूरा गरी ल्याइने बताउँछन् । “केही महत्वपूर्ण दस्तावेज अध्ययन भइरहेको छ”, उनी भन्छन् ।
भारतसँगको सीमामा नाप–जाँच
नेपाल सेनाले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा पछिल्लो समय दक्षिणी सीमामा नाप–जाँच गरिरहेको छ । नयाँ स्थापना गरिएको ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’ बाट खटिएका प्राविधिक सैन्य अधिकारीहरू सीमाको नाप–जाँचमा खटिएका छन् । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार, केही समयपछि उत्तरी सीमामा पनि अधिकारीहरूले काम थाल्नेछन् ।