फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइरहेका छन् ।
विगत वर्षमा फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने र पानीका लोला हान्ने गरिन्थ्यो । यस वर्ष त्यस्तो काम रोकिएको छ ।
केही वर्षदेखि नै फागु पूर्णिमामा तडकभडक रोकिँदै आएको थियो । यस वर्ष नेपाल कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेकाले प्रशासनले शान्तरूपमा पर्व मनाउन आह्वान गरेको थियो ।
नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । फागु खेल्ने प्रायः बालबालिका छन् ।
बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ ।
फागुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । आजै राति ८ः५१ बजे चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि फागु पर्व मनाइँदै छ ।