संकटमा पर्यटन
सरकारले १ जनवरी (१६ पुस) मा भव्य समारोह गरेर ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ गर्यो । तर, विश्वभर नोभल कोरोना (कोभिड–१९) भाइरस फैलँदै गएपछि सरकारले १९ फागुनमा अति प्रभावित चीन, जापान, दक्षिण कोरिया, इरान र इटालीबाट आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ नदिने निर्णय गर्यो । सर्वोच्च अदालतले त्यही दिन ती पाँच देशबाट आउने अन्तर्राष्ट्रिय वायुसेवाको सीधा र ट्रान्जिट उडान पनि रोक्न सरकारलाई आदेश दियो । त्रास फैलँदै गएपछि मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष शुरू भएको ठीक दुई महीनापछि १ मार्च (१८ फागुन) मा स्थगित गर्ने निर्णय गरेको छ ।
सरकारले आर्थिक विकासको मूल आधार पर्यटन क्षेत्रलाई मानेर अहिले यस क्षेत्रबाट अर्थतन्त्रमा भइरहेको तीन प्रतिशतको योगदानलाई बढाउने लक्ष्य अनुसार भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । तर, कोरोना त्रासका कारण सामान्य अवस्थाको तुलनामा पर्यटक आगमन झनै घट्यो । फेब्रुअरी २०१९ मा १ लाख १ हजार ४०० पर्यटक नेपाल आएका थिए, तर गएको फेब्रुअरीमा अघिल्लो वर्षको भन्दा १ हजार ५८७ पर्यटक घटे ।
कोरानाबाट बढी प्रभावित भएको मुलुक चीनबाट अघिल्लो वर्षको फेब्रुअरीको तुलनामा यो वर्षको त्यही महीना नेपाल आउने पर्यटक ७६.८ प्रतिशतले घटे । अघिल्लो फेबु्रअरीमा १४ हजार १६१ चिनियाँ नेपाल आएकोमा यो पटक ३ हजार २८५ जना मात्र आए । अध्यागमन विभागले २७ फागुनदेखि कोरोना अति प्रभावित चीनसहित पाँच देशबाट आउने यात्रुलाई अनअराइभल भिसा रोकेको छ ।
चीन–काठमाडौं उडान गर्ने ६ वायुसेवा कम्पनीमध्ये सिचुवान, तिब्बत र हिमालय एअरलाइन्सले पूर्ण रूपमा सेवा बन्द गरिसकेका छन् । साताको ६५ उडान गर्ने गरेका चिनियाँ वायुसेवाको अहिले १० उडान मात्र हुन्छ । एअर चाइनाले सातामा एउटा, चाइना साउदर्नले दुइटा र चाइना इस्टर्नले सात वटा उडान गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार चीनका कोरोना प्रभाव नभएका गन्तव्यबाट मात्रै उडान भइरहेको छ । सामान्य अवस्थाको तुलनामा दैनिक करीब ६ हजार यात्रु घटेको क्षेत्री बताउँछन् । उनका अनुसार सामान्य अवस्थामा दैनिक ११ हजार हवाई यात्रु हुन्थे ।
कोरोना भाइरसबाट २२ फागुनसम्ममा विश्वका ८६ मुलुक प्रभावित भइसकेका छन् । विश्व ब्याङ्कले कोरोना भाइरसको असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ । यस्तो सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुध्न खर्च गरिनेछ ।
आशा नयाँ सिजनको
भ्रमण वर्ष स्थगनपछि सरकारले आन्तरिक पर्यटनलाई बढावा दिने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र सरकार–निजी क्षेत्र समन्वय गर्ने कार्यक्रम ल्याउनुपर्ने पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन् । “पर्यटन क्षेत्र साना घटनाले पनि निकै छिटो प्रभावित हुन्छ र चलायमान हुन समय लाग्छ । भविष्यका लागि अहिल्यै तयारी थाल्नुपर्छ”, उनी भन्छन् । सरकारले सङ्कट निवारण गर्न निजी क्षेत्रसँगको समन्वयमा ‘टास्क फोर्स’ गठन गर्नुपर्ने उनको सुझाव छ ।
नेपाल एशोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंका अनुसार पर्यटनमा प्रभाव परेको प्रमुख क्षेत्र ट्राभल, होटल र ट्रेकिङ हो । टुर व्यवसायीको आगामी अप्रिलसम्मको ८० प्रतिशत बुकिङ रद्द भइसकेको छ । बाँकी २० प्रतिशत ‘पर्ख र हेर’ कै अवस्थामा रहेको र नयाँ बुकिङ पनि नभएको उनी बताउँछन् । गुरागाईं भन्छन्, “पर्यटन क्षेत्रलाई ब्युँताउन सरकारले कर्मचारी तालिम, प्याकेज निर्माण, वेबसाइट निर्माणसहितका आन्तरिक तयारी गर्नुपर्छ ।”
यो सिजनमा आउने पर्यटकको प्रायः सबै बुकिङ रद्द भएकोले अबको तयारी आगामी सिजनको लागि गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । मार्च, अप्रिल र मेसम्म आउने अधिकांश पर्यटकको बुकिङ रद्द भइसकेको छ । “रद्द नगरेका पर्यटक पनि आउने सम्भावना न्यून छ । त्यसैले आगामी सिजन सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको लागि अहिल्यै तयारी थाल्नुपर्छ”, सुवेदी भन्छन् ।
यसअघि २०७२ सालको भूकम्प, सोही वर्षको नाकाबन्दी र त्यसअघिको सशस्त्र द्वन्द्वको समयमा पनि पर्यटन क्षेत्र यति धेरै प्रभावित नभएको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । त्यतिवेला नेपालमा मात्रै असहज अवस्था थियो । भूकम्पपछि छोटो समयमा पर्यटन क्षेत्रमा सुधार आयो । उनी भन्छन्, “अहिले एउटा देशमा मात्रै नभएर विश्वकै पर्यटन शिथिल भएकाले अवस्था कठिन बनेको छ ।”
पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्रप्रसाद सापकोटा पर्यटन वर्षका सबै संरचना खारेज गरेर फेरि उठ्न बलियो तयारी गर्नुपर्ने बताउँछन् । २०७७ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने र त्यसबाट जागरण अभियान ल्याएर अन्तर्राष्ट्रिय पर्यटकसम्म पुग्नुपर्ने उनको धारणा छ ।
त्यसपछि मनाइने भ्रमण वर्षका लागि आकर्षक प्याकेज ल्याउने, हिमाल आरोहणमा सहुलियत दिने, भिसा शुल्क घटाउने तथा साहसिक पर्यटन र टुरमा विशेष प्याकेज घोषणा गरिनुपर्ने उनी सुझउँछन् । “त्यसका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुधार गर्ने, आवश्यक जहाजको संख्या थप गर्ने, पर्यटन पूर्वाधार निर्माणमा जोड दिने जस्ता काम गर्नुपर्छ”, उनी भन्छन् ।
भ्रमण वर्ष स्थगनपछि त्यसका लागि छुट्याइएको बजेट पर्यटन पूर्वाधार निर्माणमा खर्च गरेर पर्यटन दशकको तयारी गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बताउँछन् । उनी भन्छन्, “अब नेपाल एक दशकको योजना बनाएर अगाडि बढ्छ । सरकारले सन् २०३० सम्मका लागि पर्यटन दशक मनाउने तयारी गरिरहेको छ ।”