कोरोनाभाइरसको प्रभाव : वायुसेवाका कर्मचारीको तलब ५० प्रतिशतसम्म घटाउने निर्णय
नेपालका वायुसेवा कम्पनीले कोरोनाभाइरस (कोभिड–१९)को प्रभावका कारण कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संघ नेपालको बिहीबारको बैठकले मासिक रु.२० हजारसम्म पारिश्रमिक पाउने कर्मचारीको तलब कटौती नगर्ने निर्णय गरेको हो।
संघले मासिक रु. २० हजार भन्दा माथि रु.३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत, रु.१ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र रु. १ लाख भन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेको स्रोतले हिमालखबरलाई जानकारी दिएको छ।
संघले कर्मचारीका लागि हुने खर्च घटाउन समिट एयरका सञ्चालक समिति सदस्य सुमन पाण्डेको अध्यक्षतामा १० सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले वायुसेवा कम्पनीमा कार्यरत कर्मचारीको तलब तथा सुविधा कटौती गर्न सम्बन्धित वायुसेवा कम्पनीसँगको समन्वय गरेर एक साताभित्र सूचना सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ।
साथै कर्मचारीलाई बेतलबी विदा लिन प्रोत्साहन गर्ने, अनिवार्य विदामा बस्न लगाउने तथा प्रतिकुल अवस्थामा कर्मचारीको करार सम्झौता रद्द गराउनेसम्मको निर्णय समितिले गराउन सक्ने छ । वायुसेवाको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीको जहाज अनुपात मिलाएर ग्राउन्डेड गराउनेसम्मको निर्णय संघले गरेको छ।
वायुसेवालाई रु.४ अर्ब घाटा
आन्तरिक हवाई उडानका वायुसेवालाई कोरोनाका कारण रु.४ अर्ब भन्दा बढीको नोक्सान हुने अनुमान गरिएको छ । सन् २०२० को दुई महीनामा आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकको संख्या करीब ४० प्रतिशत घटेको उल्लेख छ । वायुसेवा सञ्चालक संघले शुक्रबार जारी गरेको एक प्रेस विज्ञप्ति अनुसार आगामी पर्यटकीय सिजनसम्मको बुकिङ पनि रद्द हुन थालिसकेकोले आन्तरिक वायुसेवामा पर्ने प्रभाव कम्तिमा ६ महीनासम्मको पर्ने उल्लेख छ ।
संघले यो व्यवसायलाई बचाइराख्न वायुसेवा प्रदायकले ब्यांकलाई तिर्नुपर्ने व्याजमा सरकारले सहुलियत दिनुपर्ने तथा रिफाइनान्सको सुविधा मिलाउन पनि सरकारसँग आग्रह गरेको छ । विदेशी संस्थाबाट अमेरिकी डलर तथा नेपाली रुपैयाँमा लिएको ऋणको सावाँलाई पुनर्तालिकीकरण र पुनर्संरचना गर्नुपर्ने माग पनि गरेको छ ।
अमेरिकी डलरमा लिएको ऋण रकमको सावाँ र व्याजलाई नेपाली रुपैयाँमा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, हवाई इन्धनको मूल्य अभिवृद्धि कर हटाउने, हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनुपर्ने, वायुयानको बीमा शुल्कमा लाग्ने मूल्य अभिवृद्धि करमा पूर्ण छुट हुनुपर्ने माग पनि वायुसेवा सञ्चालक संघको छ ।
संघले नेपाल आयल निलगमले माग्दै आएको नगद धरौटीको सट्टा ब्यांक ग्यारेन्टीलाई मान्यता दिने र कम्तिमा उक्त महीनाको क्रेडिट पेरियोडपछि भुक्तानी लिने व्यवस्था मिलाउने, वायुयानको अवतरण, विसान तथा एयर नेभिगेशन शुल्कमा सन् २०२० भरिलाई शत् प्रतिशत छुट दिनुपर्ने माग गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।