भारतले लगायो २६ थरी औषधि निर्यातमा प्रतिबन्धः के गर्दैछ नेपाल ?
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण चीनबाट भारतमा कच्चा पदार्थ निर्यात नहुने भएपछि औषधि उत्पादनमा प्रभाव पर्ने देखिएको छ ।
यसैको असरले २० फागुनमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सूचना नै जारी गरेर १३ थरीका कच्चा पदार्थ र तिनै कच्चा पदार्थबाट बन्ने १३ थरीका तयारी औषधिको निर्यातमा प्रतिबन्ध लगाएको हाे।
प्रतिबन्ध लगाएका औषधिहरूमा पारासिटामोल, टिनिड्याजोल, मेट्रोनाइडजोल, एसाइक्लोभियर लगायतका आैषाधि रहेका छन् ।
भारतको उक्त कदमपछि औषधि व्यवस्था विभागले आपत्कालीन बैठक आयोजना गरेर औषधि व्यवसायी र सप्लायर्सलाई बोलाएको थियो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, “भारतले औषधि पठाएन भने अप्ठ्यारो पर्न सक्छ भनेर बैठक बोलाइएको हो ।”
विभागले २१ फागुनमा बोलाएको छलफलमा औषधि व्यवसायीहरूले कतिपय औषधिका कच्चा पदार्थ मौज्दात रहेकाले आफै बनाउन सक्ने र चिनियाँ व्यवसायीबाट पनि औषधि ल्याउन सक्ने बताएका थिए ।
व्यवसायीहरूले मास्क अभावको समस्या हटाउन बङ्लादेश, थाइल्याण्ड लगायतका मुलुकबाट आयात गर्ने व्यवस्था मिलाउन पहल गरिदिन विभाग समक्ष आग्रह गरे । छलफलपछि औषधि व्यवस्था विभागले सहजीकरण गर्ने निर्णय गरेको छ ।
मास्क अभावको समस्या निम्तिएको भन्दै चिन्ता प्रकट भइरहेका बेला वैकल्पिक मास्क प्रयोग गर्न सकिने र त्यसका लागि नेपाली व्यवसायीले उत्पादन गर्न सक्ने विषयमा पनि छलफल भएको थियो ।
व्यवसायीहरूले गएको जनवरीमा मात्र ३८ मेट्रिक टन परिमाणमा पारासिटामोलको कच्चा पदार्थ आयात गरेको र त्यसैले धान्नुपर्ने अवस्था रहेको भन्दै विभागको ध्यानाकर्षण गराएका थिए ।
औषधि उत्पादक संघका पूर्व अध्यक्ष दिपकप्रसाद दाहाल भारतले प्रतिबन्ध लगाउँदैमा त्यसको नेपाली बजारमा खासै असर नपर्ने बताउँछन् । दाहालका अनुसार नेपाली औषधि व्यवसायीहरूसँग अझै दुईदेखि तीन महीनालाई पुग्ने औषधि, औषधि उत्पादन गर्ने कच्चा पदार्थ छ ।
उनी गएको जनवरी महीनामा मात्र भारतले प्रतिबन्ध लगाएको पारासिटामोल औषधि बनाउने ३८ मेट्रिक टन र फेब्रुअरी महीनामा पनि त्यति नै परिमाणमा कच्चा पदार्थ आयात गरेको बताउँछन् ।
“यदि भारतबाट ल्याएको कच्चा पदार्थ सकियो भने चीनबाट पनि ल्याउन सकिन्छ”, औषधि व्यवसायी दाहाल भन्छन्, “अहिले नै कतिपय औषधिका कच्चा पदार्थ त चीनबाट आयात भइरहेको छ ।”
नेपालको कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । औषधि उत्पादनका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । तर, भारतले आफैले चीनबाट औषधि बनाउन चाहिने झण्डै ८५ प्रतिशत कच्चा पदार्थ आयात गर्छ ।
औषधि व्यवसायीहरू नाकाबन्दीदेखि कोभिड–१९ लगायत विभिन्न कारणले विदेशबाट औषधि र कच्चा पदार्थ आयातमा समस्या उत्पन्न हुँदै आएकाले सरकारले स्वदेशी उद्योगकलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताउँछन् ।
नेपालको कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । औषधि उत्पादनका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । तर, भारतले आफैले चीनबाट औषधि बनाउन चाहिने झण्डै ८५ प्रतिशत कच्चा पदार्थ आयात गर्छ ।
त्यसैकारण पनि चीनबाट कच्चा पदार्थ आयातमा असर परेपछि भारतले २६ थरीका औषधि र औषधिजन्य कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएको हो ।
बजारमा सर्जिकल मास्कको अभाव भएकाले कपडाको मास्कलाई महङ्गो मूल्यमा बिक्री गर्ने क्रम बढेको छ । तर औषधि व्यवसायीहरू अहिले बजारमा औषधिको अभाव भइनसकेको तर मास्क र सेनेटाइजरको कृत्रिम अभाव सिर्जना गरिएको बताउँछन् ।
मास्क बनाउने कच्चा पदार्थ चीनबाट आयात हुने गरेका कारण अभाव भएको हुन सक्ने आंशका छ । नेपाली एक\दुई कम्पनीले मात्र मास्क उत्पादन गर्दै आएकामा कच्चा पदार्थको अभावले उत्पादन प्रभावित भएको छ।
व्यवसायीहरु सरकारले औषधि कम्पनीहरुलाई सेनेटाइजर औषधिजन्य उत्पादनमा नपर्ने भन्दै उत्पादन गर्न लाइसेन्स नदिएका कारण विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।
मेडिभेट फर्मास्युटिकल्स् ल्याबका सञ्चालक समेत रहेका औषधि व्यवसायी दिपकप्रसाद दाहाल भन्छन्, “यदि सरकारले लाइसेन्स दिने हो भने मेरै कम्पनीबाट दैनिक दुई हजार लिटर स्यानिटाइजर उत्पादन गर्न सक्ने क्षमता छ ।”
केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन अफ नेपालका सचिव अर्जुन रायमाझी सरकारले औषधिजन्य सामग्रीको व्यवस्थापनमा लापरवाही गरेको र सामान जुटाउनका लागि पूर्व तयारी नगरेको बताउँछन् ।
रायमाझी भन्छन्, “सरकारले मुलुकबाट औषधिजन्य सामग्री निर्यात गर्न रोक लगाउन नसकेका कारण पनि बजारमा अभाव देखिन थालेको हो ।” उनले अभाव हुन थालेपछि नेपालबाट ठूलो परिमाणमा मास्क लगायतका सामग्री विदेश निर्यात भएको बताए।
२२ फागुनमा सरकारद्वारा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत बोल्दै सञ्चारमन्त्रीको जिम्मेवारी पाएका युवराज खतिवडाले नेपालमा मास्कको आपूर्ति बढाउन र उत्पादन गर्न निजी क्षेत्रसँग कुरा भइरहेको बताए ।
खतिवडाले भने, “औषधि निर्यातमा प्रतिबन्ध लगाए पनि भारत सरकारलाई नेपालका लागि आयात गर्न विशेष छुट दिन आग्रह गर्ने निर्णय भएको छ ।”