दलित र आदिवासीमा लागुपदार्थको प्रयोग बढ्दो
मोरङ कटहरी गाउँपालिकाका पाँच जातिमा लागुऔषध र मादक पदार्थका कारण बालबालिकाले विद्यालय छाड्ने गरेको पाइएको छ।
दलित र आदिवासी जाति मुसहर, पासवान, सन्थाल, हरिजन र मलाहा जातिका बालबालिका पनि लागुऔषध र मादक पदार्थ सेवनका कारण विद्यालय जानबाट वञ्चित हुने गरेको कटहरी ४ नम्बर वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले गरेको अध्ययनका क्रममा यी जातिमा दिउँसो कमाए मात्रै बेलुकाको खाना खान पाउने अवस्था छ ।
वडा सदस्य तथा स्वास्थ्यकर्मी रमेशकुमार सिंहका अनुसार, ५ वटै टोलमा गरिएको अध्ययनले विद्यालयमा भर्ना भएपनि मादक पदार्थ सेवन गर्ने र पढाइ छाड्ने गरेको देखाएको छ । शिक्षा र स्वास्थ्यमा सुधार तथा मादक पदार्थ नियन्त्रण विषयमा बुधबार आयोजित कार्यक्रममा कटहरीका महिलाहरूले ज्यालादारीमा दिनको रु ५ सय कमाउने श्रमिकले दैनिक रु २ सय ५० को रक्सी पिउने गरेको बताए ।
“गाउँका धेरै पुरुषहरू दिनमा ५ सय कमाउँछन् आधाको रक्सी खान्छन् आधाले परिवार चलाउँछन्”, एक महिलाले भनिन् । कटहरीका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले मदिरा नियमित सेवन गर्ने बानीले गाउँमा ६० वर्ष नाघेका मानिस कमै भेटिने गरेको बताए । मदिराका कारण ६० वर्ष नपुग्दै मृत्यु हुने भएकाले सहरमा भन्दा गाउँमा बढी समस्या रहेको उनको भनाइ छ ।
सामुदायिक सेवा केन्द्र कटहरीका अनुसार, मोरङका १७ स्थानीयतह मध्ये लागुऔषधको सबै भन्दा बढी प्रयोग कटहरीमा हुने गरेको छ । “कटहरीमा घरेलु मदिरा बेचेरै परिवार चलाउनेहरू धेरै छन्, बन्द नै गराइदिंदा रोजिरोटीनै बन्द हुने अवस्था छ”, प्रहरी नायब निरीक्षक मनोज अधिकारीले भने । गाउँमा विषादी मिसाएर घरेलु मदिरा उत्पादन गरी बिक्री हुने गरेको बताउँदै स्थानीय समाजसेवी श्याम कामतले मदिरा नियन्त्रण गर्न प्रहरीले नसकेको आरोप लगाए ।
गाउँका युवा लागुऔषध र मदिराका कारण पढाइ छाडेर बस्न थालेकाले गाउँमा अभियान संचालन गरी नियन्त्रण गर्नुपर्ने वडा अध्यक्ष मन्टु शेख बताउँछन् । “जन्म र मृत्यु दुवैमा रक्सी चाहिने समुदाय छन्, पुरानो संस्कारले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ”, गाउँपालिका अध्यक्ष रामकुमार कामतले भने ।
पिछडिएको समुदायमा एक दिन कमाएको पैसा नसकिउन्जेल रक्सी पिएर बस्ने र सकिएपछि कमाउन जाने प्रवृत्ति रहेको उनले बताए । गाउँपालिकाका विद्यालयमा कक्षा १ मा ८० जना भर्ना भए पनि ५ कक्षामा पुग्दा ५० र ८ मा पुग्दा २० जना मात्रै रहेको पाइएको अध्यक्ष कामतले जानकारी दिए ।