डिक्रा बादीः जसलाई ‘वान्स मोर’ थाहा छैन !
‘जसो आपत् परे पनि
ए भाउजू नरुनू दर्केर
भन्दिनु मेरी आमालाई
ए भाउजू मै आउँछु फर्केर...’
कोइली झैँ सुरिलो आवाज निकालेर सुदूर पश्चिमकी लोकगायिका डिक्रा बादीले ठाडो भाका हाल्दा दर्शक दीर्घाबाट ‘वान्स मोर’, ‘वान्स मोर’ को प्रतिक्रिया आइरहेको थियो । काठमाडौँमा पहिलोपटक धेरै मान्छेहरुकाबीच मञ्चमा उभिएकी सामान्य साक्षर बादीलाई ‘वान्स मोर’ को खास अर्थ सायद थाहा थिएन ।
‘क्या हो यो वान्स मोर भन्या’ भन्दै बादीले आफ्ना भाकाहरु निरन्तर पस्किरहिन् ।
जमलस्थित राष्ट्रिय नाचघरको सभाकक्षमा एक दर्जन डेउडासहित प्रस्तुत १४ वर्षमा भगाइएर विवाह गराइएकी बादीलाई गायिका झुमा लिम्बू, उहाँका श्रीमान् कित्थ्या बादीले गाउन तथा रैथाने साङ्गीतिक समूह र अलिमियाँ लोकवाङ्यमय प्रतिष्ठानले आयोजनामा साथ दिएको थियो ।
सुदूर पश्चिमको पहाडी जिल्ला बझाङबाट झरेर हाल कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ बङ्कमा बस्दै आएकी बादीको यो साङ्गीतिक जोडीलाई ‘कन्सेप्ट नेपाल’ संस्थाले पहिलो पटक हवाईजहाज चढाएर देशको राजधानी ल्याएको हो ।
“आउँदा प्लेनमा आइयो । यो रहर पनि पूरा भयो । फर्कंदा बसमा जानुपर्ला र प्लेन चढ्ने पैसाले उपचार गर्नुपर्ला,” डिक्रा बादीले काठमाडौँ आउँदै गर्दा आयोजकलाई भनेकी रहिछिन् ।
कार्यक्रम सञ्चालक कवि हेमन्त विवशले बादीका छोराले गए राति आफूलाई फोन गरेर भनेको कुरा कार्यक्रममा सुनाए, “दाइ म त आमाको पेटको इलाजका लागि खर्च जुटाउन विदेशिएको छु।”
बादीको भगोष्ट समस्या (युटेरस) भएको थाहा पाएपछि कार्यक्रमस्थलमै गीतकार हर्क साउदले उपचारको प्रबन्ध आफूले गरिदिने बताए । कतिपयले बादीको साङ्गीतिक क्षेत्रमा पुनरागमनका लागि आर्थिक सहयोगको घोषणा गरे ।
कतिपयले बादीका गीतहरु ‘म्युजिक भिडियो’सहित रेकर्ड गराउने वचन दिए । गायिकाले भावुक नहुने कुरै भएन । उनले भनिन्, “म भित्री मनको टुक्रादेखि सबैलाई धन्यवाद दिन्छु ।”
डेउडा भाका र भाषा सबै सहभागीले पूर्णतः नबुझे पनि बादीका भाव र प्रस्तुतिले मार्मिक वेदनाहरु व्यक्त गरिरहेको बुझ्न कठिन थिएन । निराशा र आशाका बीच जीवनलाई गुजार्नुपर्ने सन्देश ती गीतमा अभिव्यक्त भएका थिए ।
वनपाखा र गाउँघरका सुःख/दुःख व्यक्त हुने ‘आश राख्नु खरानीमा...’ र ‘मन माग्न कोही आउँदैन दिल मात्रै माग्दा...’ देखि ‘बासमती धानका भात कति बसाएको, तम्रो त्यो वैँशालू जोवन देख्दा यो मन रसाएको...’ बोलका गीतलाई सहभागीले मन्त्रमुग्ध भएर सुनेका थिए ।
एउटा गीतमा कलाकार देबु बोहराले नृत्यसमेत प्रस्तुत गरेकी थिइन् । सङ्गीतमा साथ दिने शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण सावदेन लिम्बू र सञ्जीव मैनालीले वनपाखामा घाँस–दाउरा गर्दा गोठालाहरुले गीतका भाका हाल्दा चराचुरुङ्गीको कुहु कुहु, झरनाको कलकल र पत्करहरुको सल्याकसुलुकका आवाजलाई पनि प्रस्तुत गरेर बादीको गायनमा प्राण भरेका थिए ।
नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली डेउडा बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा अपनाइन्छ । यसमा ठाडी भाकामा आलाप गर्ने लोकप्रिय परम्परा छ ।
डिक्रा बादीले २०५२ सालदेखि डेउडा गीत रेकर्ड गराएर लोकप्रियता हासिल गरे पनि काठमाडौँमा उनको यो पहिलो एकल गायन हो । उनको पहिलो एल्बम ‘बसिबियाँलो’ गायक नरेन्द्रराज रेग्मी र गोरख थापाको पहलमा भारतको पलियामा रेकर्ड गरिएको थियो ।
डिक्राका सुरिलो ठाडी भाका सुनेपछि राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष एवं कवि श्यामल अधिकारीले नेपाली संस्कृति भनेको नेपाली पहिरन र भाषा मात्रै नभएर यसको धुकधुकी पनि हो भन्दै बझाङको बादी वा ताप्लेजुङको लिम्बूनीले नेपाली संस्कृतिको ओज राखेको बताए । सङ्गीतकार बुलु मुकारुङले पनि डिक्राजस्ता प्रतिभालाई राष्ट्रले चिन्न सक्नुपर्नेमा जोड दिए ।
संयोजक अमृत भादगाउँलेका अनुसार ‘कन्सेप्ट नेपाल’ पर्यटन प्रवद्र्धन र विकासमा संलग्न युवाका संस्था हो । यसले गत जेठमा साताव्यापी ‘खप्तड काव्ययात्रा, २०७५’ आयोजना गरेको थियो।– प्रकाश सिलवाल/रासस