प्रदेश १ मा कोरोनाभाइरस रोक्ने तयारी
प्रदेश १ मा कोरोना भाइरस भित्रिन नदिन सीमावर्ती नाकाहरूमा सतर्कता अपनाउँदै विभिन्न अस्पतालमा २८ वटा बेड तयारी अवस्थामा राखिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ मा कोरोना भाइरसको उच्च जोखिम नभए पनि पूर्व तयारी गरिएको बताए ।
उनले मानसिक रूपमा तयार रहन मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । सीमावर्ती क्षेत्रमा दुवै देशतर्फ सहायता कक्ष स्थापना गरिनुपर्ने मन्त्री घिमिरेको भनाइ छ ।
आइपर्न सक्ने जोखिमलाई ध्यान दिएर विराटनगरका कोशी अस्पताल, नोबेल र विराट शिक्षण अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन वार्ड तयार गरिएको छ ।
झापाको मेची अस्पताल तथा बीएण्डसी शिक्षण अस्पतालमा पनि आवश्यकता अनुसार बेड तयार गरिने बताइएको छ ।
स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सामग्री तत्काल खरीद गरिने भएको छ । प्रदेशसँग जोडिएका जोगवनी, कांकडभिट्टा र पशुपतिनगर नाकामा चेकजाँच गर्न आवश्यक प्रबन्ध मिलाई कोरोनाको जोखिमबाट जोगिन आपतकालीन स्वास्थ्य केन्द्रको सुधार र व्यवस्थापन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संघीय सरकारले प्रदेश १ मा जोखिम रोक्न पूर्वतयारी र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली परिचालन गरेको छ । टोलीले नेपाल–भारत सीमा जोडिएका नाकाहरूको अवलोकन गरेको छ ।
चीनसँग सीमा जोडिएका नाका बन्द रहेपनि भारतसँग जोडिएका नाकाबाट नेपालतर्फ आउने विदेशीलाई निगरानी गरिने मन्त्रालयले जनाएको छ ।