धानमा लुकाएर चिनी तस्करी !
मोरङका भारतीय सीमावर्ती क्षेत्रबाट खाद्यान्न खरीद गर्ने व्यक्तिले धानमा चिनी लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ ।
रतुवामाई नगरपालिका–१ सोनापुरस्थित दशगजामै जोडेर खाद्यान्न खरीद–बिक्रीको काँटा संचालन गर्दै आएका नसिम मियाले बिक्रीका लागि पठाएको धान बोकेको ट्याक्टर दुर्घटना भएपछि चिनी फेला परेको छ । मिया वडा सदस्य हुन् । मियाले कारवाही हुने डरले धान र चिनी दाबी गर्न आफू उपस्थित नभई प्रतिनिधिलाई प्रहरीको सम्पर्कमा पठाएका छन् ।
प्रहरीले धान, चिनी र ट्याक्टरको रु ७ लाख २३ हजार मूल्याङ्कन गरी मंगलबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाका निरीक्षक मोहन रायामाझीका अनुसार, आइतबार अपरान्ह सीमावर्ती क्षेत्रबाट धान लिएर उर्लाबारीतर्फ जाँदै गरेको को १ त ८७१६ नम्बरको ट्याक्टरले बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो क्रममा अनियन्त्रित भई सोही ट्याक्टर को २ त ६८४५ नम्बरको ढुङ्गा बोकेको ट्याक्टरसँग ठोक्किएको थियो । मोटरसाइकलमा सवार दुई घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि धान बोकेको ट्याक्टरका चालक फरार भएकाले सोमबार प्रहरीले धान हटाउने क्रममा ५० किलोका ५० बोरा चिनी फेला पारेको हो । १ सय ७ बोरा धानको बीच भागमा ५० बोरा चिनी फेला परेको छ ।
धान र चिनी दुवैको बिल नभएकाले भन्सार कार्यालयमा बुझाइएको निरीक्षक रायामाझीले बताए । मोरङका भारतसँग जोडिएका नाकाहरूमा कारोबारीले खाद्यान्न खरीद बिक्री गर्ने काँटा संचालन गर्दै आएका छन् । स्थानीय किसानबाट धान खरीद गरेको भनेर व्यापारीले भारतबाट भन्सार छलेर ल्याएको धान खरीद गर्ने गरेका छन् ।
खाद्यान्न लोड गरेका साधनमा भन्सार छलीका अरु वस्तु पनि मिसाएर नेपालका विभिन्न बजारमा लाने गरेका छन् । सीमावर्ती क्षेत्रमा हुने खाद्यान्न कारोबारमा जनप्रतिनिधिहरूनै संलग्न रहँदै आएका छन् । धानपालथान गाउँपालिका–२ खयरवना सीमामा पनि जनप्रतिनिधिले धान, मकै र गहुँ खरीद–बिक्रीको कारोबार गर्ने गरेको स्थानीय बताउँछन् ।