रतन तिरुवा भन्छन्- शहीद परिवारप्रति अपहेलना गरेकाले जुत्ता हाने
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार जुम्लाका रतन तिरुवा (२२) ले जुत्ता प्रहारको प्रयास गरे ।
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा दाहालमाथि यस्तो प्रयास गरिएको थियो ।
राष्ट्रिय सभागृहमा आयोजित सभालाई १८ मिनेट सम्बोधन गरेर मञ्चमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार गरिएको थियो । सुरक्षाकर्मीले उनलाई जुत्ता प्रहार गर्ने युवालाई तत्काल नियन्त्रणमा लिए।
प्रहरी अधिकारीहरुका अनुसार दाहाललाई जुत्ता प्रहार गर्ने युवा कुनै समय उनकै नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला नेताका सन्तान हुन्। जुम्लाका तिरुवा राज्यपक्षबाट मारिएका मनबहादुर तिरुवाका छोरा भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ परेका रतनले आफू शहीद परिवारको सदस्य भएको प्रारम्भिक बयान दिएको बताए। उनका अनुसार रतनले हालको सरकारले शहीद परिवारलाई अपहेलना गरेकाले बितृष्णाका कारण जुत्ता प्रहार गरेको बयान दिएका छन् ।
“म कुनै संगठनमा आवद्ध छैन, लोकसेवाको तयारी गरिरहेको छु,” तिरुवाको भनाई उद्धृत गर्दै एसएसपी सुवेदीले भने “हालको ब्यस्थाप्रति बितृष्णा जागेर जुत्ता प्रहार गरेको हुँ।” रतनका बिषयमा थप अनुसन्धान र सोधखोज भइरहेको एसएसपी सुवेदीले हिमालखबरलाई बताए।
१० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका दाहाललाई शान्ति प्रक्रियामा आइसकेपछि पाँचौ पटक आक्रमणको प्रयास भएको हो । अधिकांश आक्रमणमा उनकै पूर्वकार्यकर्ताको संलग्नता रहेको देखिन्छ ।
दाहालको सुरक्षाका लागि सरकारले अन्य पूर्व प्रधानमन्त्रीहरुभन्दा बढी सुरक्षाकर्मी खटाएको छ।
दाहालको सुरक्षामा लागि सशस्त्र प्रहरीका निरीक्षकको कमाण्डमा ४७ जना सुरक्षाकर्मी खटिएका छन्।
बेलाबेला आफूलाई सुरक्षा खतरा रहेको बयान दिँदै आएका प्रचण्डलाई १० वर्षलामो युद्धमा साथ दिएका लडाकुबाट सबै भन्दा बढी असुरक्षा रहेको सुरक्षा निकायको बिश्लेषण छ। यस्तै तत्कालिन नेकपा माओवादीबाट छुट्टिएका दल, युद्धताका बाहिरीएका नेता र अयोग्य लडाकु प्रचण्डको सुरक्षा थ्रेट हुन्।
“उहाँ(दाहाल) को सुरक्षाका लागि नियमित नै सुरक्षा रणनीति परिवर्तन भैरहेको छ, यस्तै उहाँ आफै पनि निकै सर्तक हुनुहुन्छ,” दाहालको सुरक्षा हेरिरहेको सशस्त्र प्रहरीका एक वरिष्ठ अधिकारीले भने। उनका अनुसार पछिल्लो समय युद्धमा मारिएका परिवारका आफन्तबाट समेत उनलाई सुरक्षा चुनौती रहेको छ।
दाहालमाथिका आक्रमणका प्रयास
४ साउन २०७२ मा सिरहामा संविधानको मस्यौदा सुझाव संकलनका लागि खटिएका दाहालमाथि आक्रमणको प्रयास भएको थियो।
मोहन उच्च मावि मिर्चैयाको प्राङ्गणमा संविधानको मस्यौदा सुझाव संकलन गरिरहेका सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित दाहाललाई ठूलो संख्यामा आएका प्रर्दशनकारीले कार्यक्रम स्थलको चारैतिरबाट ढुङ्गा, र बोतल प्रहार गरेका थिए।
यस्तै २७ कात्तिक २०७० मा दाहालमाथि कञ्चनपुरमा आक्रमणको प्रयास भएको थियो। कञ्चनपुरको देखतवली–१ स्थित कालागौडी भन्ने स्थानमा दाहाललाई लक्षित गरि बम बिस्फोट भएको थियो। उनी महेन्द्रनगरबाट बेलौरीतर्फ जाँदै गरेको अवस्थामा उनको गाडीभन्दा ८० मिटर पर अज्ञात समूहले बम बिष्फोट गराएको थियो।
घटना भन्दा १९ दिन अघि सिरहाको मुक्सारमा दाहालको कार्यक्रम रहेको स्थान भन्दा डेढ किलो मिटर उत्तरतर्फ कच्ची बाटोमा २ वटा सकेट बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो।
१ मंसिर २०६९ मा भृकुटीमण्डपमा नेपाल सम्वत्काे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मञ्चमा रहेका दाहाललाई बाग्लुङ जिल्लाका पदम कुँवरले गालामा थप्पड हानेका थिए।