प्रधानमन्त्री ओलीकाे घट्दो ओज र उत्साह
१५ फागुनमा नेकपा वागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी नेता–कार्यकर्तामा एकीकृत पार्टीको खासै उत्साह देखिएन । उच्चस्तरीय कार्यकर्ताले कार्यक्रम स्थल भरिभराउ त थियो, तर अचम्मको मौनता छाएको देखिन्थ्यो ।
पार्टी एकीकरणको झण्डै दुई वर्षपछि प्रदेशस्तरीय नेताहरूका लागि पहिलो पटक आयोजना गरिएको प्रशिक्षणमा देखिएको यो मौनताले नेकपाभित्र विकसित पछिल्लो घटनाक्रम बुझ्न समेत धेरै हदसम्म सघाउँछ । वागमती प्रदेशका सांसद् लक्ष्मण लम्साल पार्टीभित्रका तिक्ततापूर्ण खबरहरू सुनिरहेकाले कार्यकर्ता उत्साहित नदेखिएको बताउँछन् । “शीर्ष नेताहरूको विवादले पार्टी पंक्ति चिन्तित छ”, उनी भन्छन् ।
कार्यक्रममा नेकपाका अध्यक्ष रहेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको खस्किएको आकर्षण प्रष्ट प्रकट भयो । प्रम ओली कार्यक्रमस्थलमा प्रवेश हुँदा सहभागीहरूमा न कुनै सतर्कता थियो, न स्वागतमा अपेक्षित ताली । हुन पनि वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्यको हरेकजसो शब्दमा तालीले गुञ्जिएको हल प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा खाली जस्तै भइसकेको थियो ।
कार्यक्रममा सहभागी नुवाकोट जिल्ला कमिटी सदस्य उषाकिरण तिम्सिना नाकाबन्दीका वेला देशकै सर्वस्वीकार्य नेताका रुपमा देखिएका प्रधानमन्त्री ओलीको ओज कार्यकर्तामाझ घटेको बताउँछिन् । नेकपाकी केन्द्रीय सदस्य रचना खड्का राजनीतिक नेताको आकर्षण उसले बोक्ने अजेण्डामा निर्भर हुने बताउँछिन् । खड्का भन्छिन्, “शायद प्रधानमन्त्रीको अभिव्यक्तिमा आम पंक्ति र पार्टी कार्यकर्ताले आफ्नो भावना नदेखेको हुनुपर्छ ।”
पूर्व एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गर्दा र वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष निर्वाचित हुँदा ओलीको भाषणले फरक गुटमा रहेका नेता–कार्यकर्ताहरूलाई समेत आकर्षित गर्थ्याे। २०७२ सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्री निर्वाचित हुँदासम्म ओली देशकै नेताका रुपमा उदाइसकेका थिए ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनले प्रचण्ड बहुमत मात्रै ल्याएन, ओली प्रधानमन्त्रीका सर्वसम्मत उम्मेदवार बने । तर, गएको ४ फागुनको प्रतिनिधिसभा बैठकमा सरकारले दुई वर्षमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरिरहेका प्रम ओलीको दाबीमा स्वयम् नेकपाकै सांसद्हरूमा अविश्वास झल्किन्थ्यो ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जनअपेक्षा सम्बोधन गर्न नसक्दा प्रधानमन्त्री ओलीप्रति स्वाभाविक रुपमा आकर्षण घटेको बताउँछन् । उनी भन्छन्, “प्रधानमन्त्री ओलीलाई आफैंले देखाएको सपनाको भारी थेग्न गाह्रो भइरहेको छ ।”
सम्बन्धित समाचारः