डेब्युको पर्खाइ
मैदान भित्र होस् या बाहिर, भुवन कार्की प्रायः गम्भीर देखिन्छन् । क्रिकेट खेल्न शुरु गर्दा उनी शायदै यति गम्भीर थिए । झन्डै एक दशकको क्रिकेट यात्रामा उनले राष्ट्रिय टोलीमा पर्न निकै संघर्ष गर्नुपर्यो । यही आरोह–अवरोहले उनको जीवनको लय नै बदलिदिएको छ ।
एसीसी इस्टर्न रिजन टी–२० का निम्ति उनी तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्केका छन् । आफूले यसपटक क्रिकेट जीवनकै नयाँ मौका पाएको उनी बताउँछन् । भुवन भन्छन्, “धेरै मिहिनेतले राष्ट्रिय टीममा फर्किएको छु । म यसलाई लामो यात्रामा परिणत गर्न चाहन्छु ।”
भुवन नेपाली क्रिकेटका यस्ता बायाँहाते स्पिनर हुन्, जसले हरेक प्रतियोगितामा आफ्नो प्रतिभालाई पुष्टि गरेका छन् । उमेर समूहमा उनको डेब्यु दमदार थियो । सन् २००७ मा नेपालमै भएको एसीसी यू–१५ प्रतियोगितामा उनले ओमान विरुद्ध नेपाललाई असम्भव जस्तै लाग्ने जित दिलाए ।
उक्त खेलको अन्तिम ओभरमा जितका लागि ओमानलाई मात्र दुई रन आवश्यक थियो । एक रन मात्र बनाए पनि खेल बराबर हुन्थ्यो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको खेलको अन्तिम ओभर ‘मेडन’ फालेर भुवनले नेपाललाई जिताए ।
यसपछि उनले सबै उमेर समूहका प्रतियोगिता खेले । यू–१९ विश्वकप छनोटमा कप्तानीको भूमिका पनि निभाए । यी सबै प्रयास गरिरहँदा उनले स्टार क्रिकेटर हुने सपना देख्नु अनौठो थिएन । तर, राष्ट्रिय टीममा उनको आगमन लामो समय टिकेन ।
शक्ति र वसन्तको छायाँमा
कतिपय खेलाडी योग्य भएर पनि स्टार खेलाडीको छायाँमा पर्छन् । भुवनले पनि त्यही नियति भोगे ।
सन् २०११ मा उनले यू–१९ एसीसी एलिट कप खेले । अर्को वर्ष अष्ट्रेलियामा यू–१९ विश्वकप टोलीको सदस्य बने । त्यसपछि उनको राष्ट्रिय टोलीको ढोका खुल्यो । सन् २०१२ को एसीसी ट्रफीमा उनले कुवेत विरुद्ध राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरे । तर, उनले विकेट लिन सकेनन् ।
सन् २०१३ र २०१४ मा भने उनले यू–१९ टोलीको नेतृत्व सम्हाल्ने मौका पाए । लगातार विश्वकप खेलिरहेको नेपाली युवा टोली उनको कप्तानीमा छनोट हुन सकेन । तर, सन् २०१४ मा उनले राष्ट्रिय टोलीमा पुनरागमन गरे ।
२०१४ मा राष्ट्रिय टोलीमा खेलेको खेल भने भुवनको लागि अविस्मरणीय भयो । किनकि त्यो यात्रामा नेपाल वर्ल्ड क्रिकेट लिग डिभिजन ३ बाट २ मा उक्लिएको थियो । मलेशियामा भएको प्रतियोगिताको फाइनलमा भुवनले युगाण्डा विरुद्ध चार विकेट लिएका थिए । डिभिजन २ का लागि पनि उनी राष्ट्रिय टोलीमा त बोलाइए तर, अधिकांश समय उनले बेञ्चमै बिताए । त्यसपछिका दुई वर्ष टीमबाटै बाहिरिए ।
उनले राष्ट्रिय टोलीमा डेब्यु गर्दा नेपाल स्पिन बलिङकै लागि चिनिन्थ्यो । शक्ति गौचन र वसन्त रेग्मीको जोडी जमेको थियो । दुवै जना बायाँहाते ‘अर्थोडक्स’ थिए, जसलाई विस्थापन गर्न बायाँहाते ‘अर्थोडक्स’ नै बलिङ गर्ने भुवनलाई मुश्किल थियो । शक्ति र वसन्तले एक दशकभन्दा लामो समय राष्ट्रिय टोलीमा निरन्तरता पाउँदा भुवन छायाँमा परे । त्यसैले प्रायः उनी वैकल्पिक खेलाडीको सूचीमा मात्र अटाए ।
सीमित स्रोत र साधनमा अडेर अगाडि बढिरहेको नेपाली क्रिकेटमा टीमबाट बाहिरिएका खेलाडीलाई खेलमा अडिरहन मुश्किल थियो । कतिपय खेलाडीहरूले केही समय पर्खेपछि क्रिकेट खेल्नै छाडे । भुवनले कप्तानी गरेको यू–१९ को एउटा पुस्ता नै क्रिकेटबाट हरायो ।
भुवन भने सन् २०१७ मा बाङ्लादेशमा भएको एसीसी इमर्जिङ एशिया कपका लागि पुनः टीममा बोलाइए । त्यस यता सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपालले १० खेल खेलिसकेको छ । सन् २०१४ यता ३१ वटा टी–२० अन्तर्राष्ट्रिय पनि खेलिसकेको छ । तर, भुवनले दुवै स्वरुपको क्रिकेटमा डेब्यु गर्न पाएका छैनन् ।
ओमानलाई जितका लागि दुई रन चाहिएको अवस्थामा भुवन कार्कीले अन्तिम ओभर मेडन फाल्दै सन् २००७ को एसीसी यू–१५ प्रतियोगितामा नेपाललाई असम्भव झैं लाग्ने जित दिलाएका थिए।
पारिवारिक उल्झन
आफू पछिल्लो तीन वर्ष पारिवारिक समस्यामा पनि परेको उनी बताउँछन् । कैलालीको धनगढीका उनी घरका जेठा छोरा हुन् । सामान्य परिवारको सदस्य भएकाले जेठा छोराको जिम्मेवारी छ । त्यसमाथि छोरो जन्मिंदा श्रीमतीको स्वास्थ्य बिग्रिएकाले केही समय उनलाई क्रिकेटबाट टाढा पुर्यायो । कमाउनुपर्ने दबाबका कारण त्यतिवेला आफन्तले उनलाई विदेश जाने वा अन्य व्यापार गरेर बस्ने सुझाव पनि दिएका हुन् । तर, भुवनले क्रिकेटको विकल्प सोचेनन् ।
यसबीच उनी घरेलु क्रिकेट प्रतियोगितामा व्यस्त भए । एपीएफ क्लबमा आबद्ध भएकाले केही सहज भयो । यसबीच उनले एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पछिल्लो समय शुरु भएको पोखरा प्रिमियर लिग लगायत अन्य घरेलु प्रतियोगिता खेले । त्यहाँ आफ्नो क्षमता पुष्टि गरे । गत वर्ष डीपीएलमा त उनले आफ्नो टोलीलाई च्याम्पियन नै बनाए ।
घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरेकै कारण तीन वर्षपछि उनले राष्ट्रिय टोलीमा प्रवेश पाएका छन् । शक्तिले संन्यास लिइसकेको तथा वसन्त टीममा नभएको अवस्थामा भुवनको लागि मैदान खाली देखिन सक्छ । तर, टीममा पर्न युवा स्पिनरबीच तीव्र प्रतिस्पर्धा छ ।
अहिले पनि टीममा बायाँहाते ‘अर्थोडक्स’ ललितनारायण राजवंशी, सुशान भारी र कुशल मल्ल छन् । साहव आलम, अनिल खरेल जस्ता युवा स्पिनर पनि मौकाको पर्खाइमा छन् ।
२७ वर्षे भुवनसँग अनुभव मात्र छैन बलिङमा विविधता पनि छ । त्यसैले उनी यसपटक टी–२० अन्तर्राष्ट्रियमा डेब्युको अपेक्षामा छन् ।