आजैका दिन मुलुककाे पहिलाे महिला सांसद बनेकी थिइन्– द्वारिकादेवी
१६ फागुन आजैका दिन नेपालको संसदले पहिलो निर्वाचित महिला सांसद पाएको थियो । उनी थिइन्–द्वारिकादेवी ठकुरानी।
नेपाल अधिराज्यको संविधान, २०१५ अनुसार १०९ निर्वाचन क्षेत्रमा ७ फागुन २०१५ मा भएको निर्वाचनमा द्वारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन् । निर्वाचन क्षेत्र नं. ६६ डडेल्धुराबाट नेपाली कांग्रेस तर्फबाट उम्मेदवार बनेकी उनले ३ हजार ९०३ मत प्राप्त गरेकी थिइन् ।
संघीय संसद सचिवालयबाट प्रकाशित ‘संसदमा महिला सहभागिता २०१५–२०७४’ पुस्तिकामा उल्लेख भए अनुसार द्वारिकादेवी निर्वाचित भएको मिति १६ फागुन राखिएको छ ।
पहिलो महिला मन्त्री
सांसद निर्वाचित भएसँगै नेपालकै पहिलो महिला मन्त्री पनि हुन् द्वारिकादेवी । वि.सं. १९७२ साल (१२ कात्तिकमा) बुबा खरिदार वामदेव पन्त र आमा राधिकाको कोखबाट डोटीको जैनोली गाउँमा जन्मिएकी द्वारिकादेवीको निधन १४ मंसीर २०५९ सालमा भएको थियो ।
द्वारिकादेवी २०१६ सालमा मन्त्री भएकी हुन् । ६ जेठ, २०१६ सालमा गठित मन्त्रिमण्डलमा उनले स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो मन्त्रिमण्डलमा उनलाई उपमन्त्रीको जिम्मेवारी दिएका थिए ।
सुदूरपश्चिममा जन्मिएर नेपालको राजनीतिक इतिहासमा बिर्सनै नहुने व्यक्तित्व तर पार्टीले नै बिर्सिदै गएको उनका भतिजा एवं ‘द्वारिकादेवी ठकुरानी स्मृति प्रतिष्ठान’ अध्यक्ष सुरेन्द्रबहादुर चन्द बताउँछन् ।
उनी भन्छन्, “अहिले कांग्रेसको नेतृत्व सुदूरपश्चिमकै नेताको हातमा छ तर पनि उहाँको स्मृतिमा समेत प्रतिष्ठानले जिल्लामै कार्यक्रम गर्छौं । केन्द्रमा पार्टीले कहिल्यै सम्झिंदैन ।” प्रतिष्ठानले उनको जीवनको पुस्तक प्रकाशन गरेको छ ।
तत्कालीन कांग्रेस सभापति नै प्रधानमन्त्री भएका बेला १४ असोज २०७२ मा मन्त्रिपरिषदले सुदूरपश्चिम विश्वविद्यालयलाई ‘द्वारिकादेवी ठकुरानी विश्वविद्यालय’ नामकरण गर्ने निर्णय गरेको थियो । तर सुदूरपश्चिमकै कांग्रेस नेताहरूका कारण त्यो कार्यान्वयनमा नगएको चन्दको दाबी छ ।
सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ संचालन गरिने भनेर करीब २ करोड बजेट विनियोजन गरेको छ ।
पुस्तकमा महिला सांसद
संघीय संसद सचिवालयले ‘संसदमा महिला सहभागिता २०१५–२०७४’ पुस्तिका गत वर्ष प्रकाशित गरेको छ । पुस्तिकामा १५ सालदेखि हालसम्मका सांसद महिलाहरुको नाम र निर्वाचित, समानुपातिक वा मनोनीत कसरी संसदमा पुगेको भन्ने उल्लेख गरिएको छ ।
पुस्तक अनुसार २०१५ साल अर्थात पहिलो आमनिर्वाचनदेखि नै संसदमा महिला सहभागिता रहेको छ । नेपाल अधिराज्यको संविधान, २०४७ संसदीय निर्वाचनमा प्रतिनिधिसभामा कम्तिमा ५ प्रतिशत र राष्ट्रिय सभामा कम्तिमा ३ जना महिला सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था थियो ।
वि.सं. २०६२\०६३ को जनआन्दोलनपछि एकतिहाइ महिला सहभागिता रहने व्यवस्था भयो । जसअनुसार पहिलो संविधान सभामा करीब एकतिहाइ अर्थात ३२.७८ प्रतिशत महिला संसदमा पुगे भने दोस्रो संविधान सभामा २९.२८ प्रतिशत महिला थिए।
नेपालको संविधान, २०७२ धारा ८४ को उपधारा (८) मा संघीय संसदमा कम्तिमा एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसअनुसार वि.सं. २०७४ मा गठन भएको संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभामा कुल ३३४ सदस्य मध्ये ११२ जना अर्थात् ३३.५३ प्रतिशत महिला सदस्यहरूको सहभागिता रहेको छ ।