जुद्धशमशेर ज्यादतीका ती दिन
“व्रतबन्धमा मन्त्र सुनाउने हुनाले गुरुज्यूहरूलाई राणाजीहरूले खूब माया गर्थे । गुरुमाहरूले चाहिं तिनीहरूका महारानीलाई मन्त्र सुनाउँथे । मन्त्र सुनाउन पनि पालो आउनुपर्थ्याे । तर्कराज बडागुरुज्यूले प्रत्येक वर्ष गुरुज्यूहरूको पालो लगाउँथे । मेरो बुवाले युवराज महेन्द्रलाई मन्त्र सुनाउनुभएको हो । व्रतबन्धपछि दरबारबाट हाम्रो घरमा गाडाका गाडा सामान आयो । बाफ रे बाफ!
ढोकाटोलको त्यो ठूलो चोक नै भरिनेगरी चाँदीका भाँडा, सुनका गहना, अनि कत्ति हजार दक्षिणा ! गुरु भएका बुवालाई तासको लुगा लगाएर पठाएका थिए । त्यो वेला जनतालाई भिक्षादान दिन उर्दी नै हुन्थ्यो । उनीहरूको जन्मोत्सवमा र मर्दा पनि त्यसरी नै सामान आउने । पूजा गर्ने सामान सबै चाँदीका थिए । ती पनि आउँथ्यो । ओहो !
महेन्द्रकी कान्छी श्रीमती रत्नलाई मेरो मुवाले भित्र्याएको, दरबारमा होइन, नागार्जुनमा । महेन्द्रको पहिलो श्रीमती मरेपछि उनले गुरुज्यू र गुरुमालाई सासू–ससुरा बनाएर बिहे गरेका थिए । खोई, किन त्यसो गरेको हो ।
राणाजीहरू आएको वेला मानिसहरूले हात जोडेर स्वस्ति गर्नुपर्ने । उनीहरूलाई नदेखेर स्वस्ति गरेन भने ‘लौ त्यसलाई बेस्सरी कुट, यत्ति कोर्रा हान’ भन्थे । राणाजीहरूले अत्ति गरे ।
राति कति बजेतिर हो ‘ढाटुँऽऽ, ढाटुँऽऽऽ’ गरेर बिगुल बजाउँथ्यो । बिगुल बजेपछि हिंडडुल गर्न पाइने समय सकिन लागेको भन्ने हुन्थ्यो । बाटोमा भएकाहरू दौडादौड गरेर घर जान्थे । अनि तोप पड्केपछि ठप्प । हिंडेको फेला पार्यो भने समातेर थुनिहाल्ने । बिहान सबेरै फेरि त्यसै गरेपछि कर्फ्यू खुल्यो भन्ने हुन्थ्यो । सारै खराब समय ।
टुँडिखेलको खरीको बोटमा मान्छे जम्मा पारेर ‘यसो–यसो राम्रो गर्यौं’ भनेर सुनाउँथे । मान्छे मार्ने कुरा पनि त्यहीं सुनाउँथे । सुन्नेहरू टन्न हुन्थे । तर, राणाहरूको नजिक जान पाउँदैनथे ।
उनीहरूले लगाउने जस्तो ‘ड्रेस’ अरूहरूले लगाउन नपाउने । शेरवानी, छालाको जुत्ता लगाउन नपाउने । नसक्नेले आफैंले बुनेको परालको जुत्ता र सक्नेले कपडाको जुत्ता मात्र लगाउन पाउने । उनीहरूका रानीसाहेबले चाहिं जस्तो पनि लगाउन पाउने । ओहो ! कस्तो गजब गजबका लुगा लगाउने, ढाँचा पार्ने । कपाल पनि सबै अलक पारेर चट्ट मिलाएको हुन्थ्यो । हीरा, मोती, जुहारत त छँदैछ ।
दरबारमा नाटक हुँदा हेर्न गुरुमाहरूलाई पनि डाक्थे । गुरुमाहरुको साथमा काम गर्ने पनि जान पाउँथे । हामी (दिदी र म) कमारा झैं भएर मुवासितै जान्थ्यौं, बग्गीमा । महारानीहरू पनि नाटक हेर्न त्यहाँ उलिन्काठ चढेर आउँथे !
राणाजीहरूले आफ्ना छोरीहरूको बिहे श्री ५ सरकारसँग गरिदिन्थे । त्यतिवेला जनताले पनि उर्दी अनुसार गोडधुवा दिनुपर्थ्याे।
दरबारमा काम गर्न धेरै स्वास्नी मानिसहरू आउँथे । काम गर्न भनेर राख्यो, अनि स्वास्नी बनायो । सीता महारानी भन्ने थिइन्, बिरामी रानीसाहेबको स्याहार गर्न भीमशमशेरको दरबार छिरेकी । राम्री थिई । उसलाई महाराजले खूब मन पराए । “महारानी बनाउँछु, उसको छोरीलाई महेन्द्रसित बिहे गराउँछु”, भनेपछि उनका दाजुभाइहरूले नै विरोध गरे । “बिहे गरेको पो महारानी बन्छन्, रखौटीलाई पनि महारानी बनाउन पाइन्छ ?’ भने ।
हाम्रो आफूबुवा (काका) लाई पनि यी कुरा चित्त बुझेको थिएन । ‘रानीसाहेब पदवी देऊ, बडामहारानी त मिल्दैन’ भन्नुभएको थियो । अनि त झगडै पर्यो र आफूबुवालाई देशनिकाला भयो । उहाँ कलकत्ता जानुभयो । नेपालमा अर्को महाराज भएपछि मात्र फर्किनुभयो ।
सीता महारानीले ‘महारानी’ को पदवी पाउने दिन सबै जनालाई डाकेका थिए । ढोकाटोलमा आएको निम्तोमा छोराछोरी पनि लिएर आउनु भनिएको थियो । ओहो, सीता महारानी त भयंकर भएकी, गज्जबको लुगा लगाएकी, नाकमा झलल पर्ने फुली लगाएकी । सबै राणाजीले सलाम गरेर दाम राखे ।
राम्री भएपछि जस्तालाई पनि स्वास्नी बनाउने, उनीहरू । कति स्वास्नी कति ! सबैभन्दा खराब त जुद्धशमशेर, राक्षसै हो । बेलुकातिर सधैं हिंड्थ्यो हात्तीमा । कहाँ कहाँ छन् स्वास्नीमान्छे भनेर खोजी गर्थ्याे। घरघरको झ्यालबाट भित्र हेर्ने ।
उसको पछाडि ‘असिस्टेन्ट’ बसेको हुन्थ्यो, लेख्नलाई कापी लिएर । अनि बाटामा, घरमा, जो मन पर्यो ‘ऊ त्यसलाई ले’ भनेर अह्राउँथे । बेलुका अफिसर आउँथ्यो र ‘तिम्रो छोरी लेऊ’ भन्थ्यो । अनि त सबै राति हिंड्न डराउने ।
जुद्धशमशेर जात्राहरूको वेला हनुमानढोकामा पनि त्यसैगरी आउने, हात्ती चढेर । देउतालाई दर्शन गर्ने त कता हो कता, को–को छ भनेर पहिला हात्ती थामी थामी हेर्ने । पैसा पनि छर्न लगाउँथे । बाहुन पनि भन्दैन, क्यै पनि भन्दैन । उसलाई मन पर्यो भने जसलाई पनि उठाएर लाने ! कतिपय मानिसहरू ‘ल आज कतिलाई लग्छ होला !’ भनेर जात्रामा रमिता हेर्न पनि आउँथे ।
त्यो वेला कति जना त सजिएर, सिंगारिएर पनि बस्थे रे, महाराजको नजर परिहाल्छ कि र उसको रानी बन्न पाइहालिन्छ कि भनेर ।
मेरी मितिनीलाई पनि लग्यो, जुद्धशमशेरले । म त्यति वेला विधवा भएर पोकलड्याङमै थिएँ, फुपूको घरमा । मेरी मितिनीको घर नजिकै थियो । उनको बिहे भइसके पनि तरुनी थिई । जुद्धशमशेर हात्तीमा आयो र ‘ऊ त्यो घरको त्यो केटीलाई ल्या’ भन्यो । अनि राति त डाक्न आए । मेरी मितिनीलाई थाहै थिएन । उनको आमाबाबुलाई ‘सरकारले हुकुम भएको छ, छोरीलाई लानुपर्यो’ भनेछन् ।
‘बिहे गरेको छोरीलाई कसरी दिऊँ ?’ भन्न पनि नपाउने । लिएर गए । एक महीना राखेर फर्काइदिए । उनको दुलाहा धनी थिए । फिर्ता नलिने भन्दा ‘नलिई सुक्खै छैन, नत्र थुनिदिन्छौं’ भनेर धम्क्याएछन् । नयाँसडकमा सिंगो घरै दिएर उनलाई फकाए, जुद्धशमशेरले ।
ओहो, असाध्यै अन्याय ! उनको जेठी स्वास्नीपट्टिको छोरो बहादुरशमशेरले ‘यसरी अर्काकी स्वास्नी, छोरीहरूलाई बिगार्न पाइँदैन । रक्षा गर्नुपर्ने ठाउँमा यस्तो गर्ने ? नत्र म नै तिमीलाई मारिदिन्छु !’ भनेर ‘च्यालेन्ज’ गरे । जुद्धशमशेर अलि डरायो । त्यसपछि बल्ल सुध्रिए र आनन्द भयो । पछि त जुद्धशमशेर जोगी भएर गए रिडी । तर, सुनिन्थ्यो, त्यहाँ पनि चार जना रानीसाहेब बनाए रे !
विनाशकाले विपरीत बुद्धि ! अत्याचार गरेपछि जनता उठिहाले । अनि उनीहरूको भागाभाग भयो । राणाले बनाएका त्यत्रा दरबार जफत भए । अनि त कुच्चिएर बस्न परिगयो नि !”
(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)