डोल्पाबाट सेनाको स्टाफ कलेज पढने पहिलो शिक्षार्थी मेजर कृष्णचन्द्र ठकुल्ला
सेनाको कमाण्ड तथा स्टाफ तालिममा पहिलो पटक डोल्पाको प्रतिनिधित्व हुने भएको छ। सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २७औं टोलीमा डोल्पा जुफाल (ठुली भेरी नगरपालिका) का सेनानी (मेजर) कृष्णचन्द्र ठकुल्ला सहभागी हुने भएका हुन्।
नेपाली सेनाको उच्च तहसम्म पुग्न वृत्ती विकासको पहिलो र प्रमुख खुटकिलो मानिएको कमाण्ड तथा स्टाफ तालिम प्रवेश परिक्षामा मेजर ठकुल्ला उर्तिण भएका हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, मेजर ठकुल्ला डोल्पाबाट सेनाको स्टाफ कलेजका लागि प्रवेश परिक्षा उर्तिण हुने पहिलो सैनिक अधिकारी हुन्। यसअघि डोल्पाको प्रतिनिधित्व शुन्य थियो।
निर्देशनालयका अनुसार, बैशाखको पहिलो साताबाट सञ्चालन हुने एकवर्ष लामो कोर्सका लागि यसपटक करिब ४ सयबीच प्रतिस्पर्धा भएको थियो।
शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा यो टोलीमा ५७ जना नेपाली सेनाका अधिकारी, ३ जना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट र १० जना विदेशी नागरिक सहभागी हुँदैछन्।
ठकुल्ला २०६१ सालमा सहायक सेनानी (सेकेण्ड लेफटिनेन्ट) बाट नेपाली सेनामा प्रवेश गरेका अधिकृत हुन्। उनी २०७२ मा नियमित बढुवा हुँदै सेनानी भएका हुन्।
डोल्पाको जुफालमा जन्मिएका ठकुल्लाले माध्यामिक तहसम्मको अध्ययन स्थानीय आर्दश र जनप्रभा माबिबाट गरेका हुन्। उच्च अध्ययनका लागि काठमाडौं आएका ठकुल्ला स्नातक अध्ययनकै क्रममा सैन्य सेवा प्रवेश गरेका हुन्।
हिमालखबरको सम्पर्कमा आएका ठकुल्लाले डोल्पाको जुफालदेखि शिबपुरीसम्मको यात्रा लगन, परिश्रम र त्यागकै प्रतिफल भएको बताए। उनले आफ्नो क्षेत्रबाट डोल्पाको प्रतिनिधित्व गराउन पाँउदा खुसी लागेको बताए।