कोशी नदीमा जलयात्रा पुनः सञ्चालन
सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको जल यातायात पुनः सञ्चालन गरिएको छ ।
स्थानीय युवाहरूको धम्कीका कारण जेटबोट थन्क्याएका संचालकहरूले प्रदेश सरकारको आश्वासनपछि संचालनमा ल्याइएको बताएका छन् । यातायातको असुविधा भएको यस क्षेत्रमा बराहक्षेत्रबाट भोजपुरको हतुवागढीसम्म जेटबोट पुनः संचालनमा आएपछि स्थानीय खुसी भएका छन् ।
गत २९ माघमा जेटबोट संचालक ४ वटा कम्पनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय युवाको अवरोधका कारण बन्द गर्नुपरेको जनाएका थिए । व्यावसायिक असुरक्षा र जल यातायात सम्बन्धी स्पष्ट कानून नभएकाले बन्द गर्नु परेको जल यातायात व्यवसायी संघका सदस्य राजेन्द्र कार्कीले बताए ।
व्यवसायीले स्थानीयबासीलाई पनि भाडामा सहुलियत दिने सहमति भएको छ । रु ४ सय लिइने भाडामा स्थानीयलाई रु २ सय ५० मात्रै लिने र रोजगारीमा २० प्रतिशत आरक्षण दिने सहमति भएको छ । व्यवसायीका केही मागहरूलाई प्रदेश सरकारले सम्बोधन गरिसकेको र बाँकी मागहरू पूरा गर्ने आश्वासन पाएपछि लगानीकर्ता ढुक्क भएको उनले बताए ।
जेटबोट पुनः संचालन भएकाले जल यातायातले छुने भोजपुर, धनकुटा र उदयपुरका नदी आसपासका बासिन्दालाई यात्रा र सामान ढुवानीमा सजिलो भएको छ । बराहक्षेत्रको चतरा बजारबाट विवाहका सामान खरीद गरेर घर फर्कदै गरेका हतुवागढीका सन्तोष राईका अनुसार, पैदल हिंडेर पुग्न दुई दिन लाग्ने बाटो जल यातायातका कारण २५ मिनेटमा झरेको छ ।
बोटमा माछा मार्ने युवाहरू जबरजस्ती चढ्ने र भाडा नतिरी यात्रा गर्ने गरेका छन् । उनीहरूले भनेका ठाउँमा रोकिदिनु र लिन जानुपर्ने बोट संचालकलाई बाध्यता छ । जलमार्गबाट २१ किलोमिटर यात्रा गर्दा हतुवागढीको कोप्चे गाउँमा पुगिन्छ । नदीमा ठूला ढुङ्गा भएकाले संचालकले कोप्चे भन्दा उत्तर बोट लगेका छैनन् ।
सप्तकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका संचालक राजेन्द्र कार्कीका अनुसार, एक पटकमा २५ जनासम्म यात्रु बोक्ने बोट सुचारु भएका छन् भने ७० सिटे जेट बोट समेत छ्टिटै संचालन गर्ने तयारी छ ।