इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन
इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । करिब ३० वर्ष लामो शासन चलाएका मुवार सन् २०११ को इजिप्टको क्रान्तिपछि अपदस्थ भएका थिए ।
इजिप्टको सरकारी टेलिभिजनले जनाए अनुसार बिरामी भएर उपचार गराइरहेका मुबारकको सर्जरी भइरहेको थियो, सोही क्रममा मंगलबार उनको निधन भएको हो ।
मुबारक सन् १९८१ देखि इजिप्टका चौंथो राष्ट्रपतिका रुपमा चुनिएका थिए । सन् २०११ को अरब स्प्रीङ (अरबियन मुलुकमा भएको विद्रोह) पछि उनी सत्ताबाट बाहिरिएका थिए । विद्रोहपछि केही समय जेलमा राखिएका उनी सन् २०१७ बाट जेल मुक्त भएका थिए ।
अरब स्प्रीङका समयमा मध्येपूर्वका धेरै देशमा लामो समयदेखि शासन गरिरहेका शासकहरू अपदस्थ भएका थिए । त्यसमध्येका मुबारक पनि एक हुन् ।
मुबारकको जन्म सन् १९२८ मा इजिप्टकै ग्रामिण बस्ती निल डेल्टामा भएको थियो । उनको शासन कालमा राजनीतिक दलमाथिको कठोर दमन, बढ्दो भ्रष्टाचार आर्थिक समस्या बढेपछि नागरिकमा उनीप्रति आक्रोश पैदा भएको थियो ।
उनी सन् १९४९ मा इजिप्टको एयर फोर्समा पाइलटका रुपमा भर्ना भएका थिए । त्यसपछि सन् १९७२ मा उनी त्यहाँको एयर फोर्समा मुख्य कमाण्डर भएका थिए ।