आचार्य बालकृष्णको सीमा
पतञ्जलि कम्पनीका आचार्य बालकृष्ण नेपाली मूलका हुन्, नेपाली नागरिक होइनन् । त्यसैले उनले नेपालबारे बोल्दा/गर्दा केही सीमा अपनाउनुपर्छ।
फागुन पहिलो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सहितको टोलीले भारत, उत्तरप्रदेशका कट्टरपन्थी हिन्दूवादी मुख्यमन्त्री आदित्यनाथसँग भेट गर्यो । कांग्रेसको नेतृत्व र बीपी कोइरालाको विरासत बोकेका उनै शशांक जसले नेपालको संविधानकै अपहेलना गर्दै ‘हिन्दू राष्ट्र’ को वकालत गरिरहेका छन् । उनको यो विरोधाभासपूर्ण ‘राजनीति’ बारे यसअघि यसै स्तम्भमा लेखिसकेको छु ।
उता मंसीर, २०७५ मा पूर्व एमालेको पंक्ति काठमाडौंमा आयोजित कोरियाली धर्म सम्प्रदाय मुखिया सन् म्युङ्ग मूनको युनिफिकेशन चर्चको ‘होली वाइन’ तमासामा सबथोक छाडी सरिक भए । हालै मात्र नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व सद्गुरु भनिने जग्गी वासुदेवसँग लस्करै उभिएको तस्वीर पनि सार्वजनिक भयो ।
धर्मलाई राजकाजसँग मिसाउने र जनतालाई ध्रुवीकृत गर्ने प्रपञ्च प्रष्टसँग देखिंदै आएको छ । मुख्यतः ‘राजनेता’ भनाउँदाहरूको योजना वा असावधानीले यस्तो भइरहेछ, र धर्म–लोकरिझ्याइँको आडमा राजनीतिक फाइदा लिने प्रवृत्ति टड्कारो छ।
आधुनिक राष्ट्रमा राजनीति/राजकाज र धर्मलाई अलग–अलग राख्नुपर्छ, नत्र एउटा समुदायको अर्काे समुदायमाथि थिचोमिचो तथा विग्रहको अवस्था उत्पन्न हुनसक्छ । हो, कुनै पनि राष्ट्रले धर्म र राजकाजलाई पूर्ण रुपमा छुट्याउन सकेका छैनन्, तर यिनलाई आपसमा समाहित हुन नदिने कोशिश भने निरन्तर गरिरहनुपर्छ ।
धर्मलाई राजकाजसँग मिसाउने र जनतालाई ध्रुवीकृत गर्ने प्रपञ्च प्रष्टसँग देखिंदै आएको छ । मुख्यतः ‘राजनेता’ भनाउँदाहरूको योजना वा असावधानीले यस्तो भइरहेछ, र धर्म–लोकरिझ्याइँको आडमा राजनीतिक फाइदा लिने प्रवृत्ति टड्कारो छ।
हाम्रो जस्तो देशमा आम संस्कृति र धर्म छुट्याउन कतै कतै गाह्रो नपर्ने होइन, तर पनि राष्ट्रलाई संविधानतः यो या त्यो धर्मसँग गाँस्नु या जोड्नुहुँदैन र जता जोडिएको छ, त्यो गाँठो फुकाउँदै जानुपर्छ । जस्तै पूजाआजा, चाडपर्व, जात्रा नागरिकको आस्थामा अड्नुपर्दछ, र हालको लागि राज्यले सहयोग नै गरिहाले पनि समानुपातिक हिसाबले गर्नुपर्छ ताकि भेदभावको आभाससम्म नहोस् ।
संविधानले नेपाललाई सनातन धर्म, संस्कृतिको संरक्षण गर्ने धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ । संविधानवादको खाँचो भएको हाम्रो मुलुकमा यो स्थिति बदल्न लागिपर्नु उचित होइन । संविधानले बल्ल बल्ल बाँधेको समाजलाई फुटाउने सम्भावना बोकेको कुनै पनि काम गर्नुहुँदैन, र मूलभूत प्रावधानमा संविधान संशोधन सोच्नु पनि हुँदैन ।
संविधानलेखनका समयमा यो पंक्तिकारको अडान र सुझाव थियो — नयाँ संविधानले धर्मको उल्लेख नै नगरोस्, यसो गर्दा कसैलाई खुशी, कसैलाई बेखुश बनाउँदैन । ‘धर्मनिरपेक्ष’ शब्द अंग्रेजी ‘सेक्युलरिजम्’ को भारतीय अभ्यासको उपज थियो, जो नेपाली अनुभवसँग मेल नै खाँदैनथ्यो ।
२००४ सालको नेपाल सरकारको विधान होस् या २००७ सालको अन्तरिम शासन विधान वा २०१५ सालको नेपाल अधिराज्यको संविधान — कुनै पनि संविधानमा धर्मको कुरा नउठाउँदा पनि समाजलाई हानि गरेको थिएन । तर जसरी भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७६ मा संविधान संशोधन गरेर धर्मनिरपेक्षता छिराइन्, त्यसैगरी राजा महेन्द्रले भने २०१९ सालको संविधानमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिदिए ।
नेपाललाई हिन्दू राष्ट्र भनी घोषणा गर्ने विचार तर्कसङ्गत छैन । जहाँ २० प्रतिशत भन्दा बढी बासिन्दा (५ भागमा १) ले आफू गैरहिन्दू भन्छन्, त्यो मुलुकलाई ‘हिन्दू राष्ट्र’ कसरी र किन भन्ने ? कसैलाई यो ठीक लाग्यो भन्दैमा सबैलाई ठीक लाग्नु पर्दैन ।
नेपाललाई भारतको हिन्दूत्व अभियन्ताहरुले वकालत गर्दै आएको ‘हिन्दू राष्ट्र’ पनि बन्नु छैन । आफ्नै मुलुकमा संविधानले नदिने भएकाले (नेपालीको हित होइन आफ्नै स्वार्थका कारण) नेपाललाई हिन्दू राष्ट्र देख्न चाहनेको आकांक्षालाई हामीले मलजल गर्नुपर्ने किन ? नेपाल आफूले निर्वाचित संविधानसभाद्वारा घोषित संविधान अनुसार चल्ने हो ।
भारत जहाँ हाम्रा आँखै अगाडि अन्तरसामुदायिक भाइचारा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको हातबाट खल्बल्याइँदैछ । त्यो देशका नागरिक आचार्य बालकृष्णले नेपालीजनमाझ ‘धार्मिक राजनीति’ गर्नु आपत्तिजनक हो ।
भारतीय स्वामी रामदेवका निकटतम सहयोगी र व्यापारिक साझेदार आचार्य बालकृष्णले ७ फागुनमा एपी वान टिभीका प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताका केही आपत्तिजनक अभिव्यक्तिबारे चर्चा जरुरी छ ।
अन्तर्वार्तामा उनकै दाबी अनुसार भारतमा जन्मिएका तर पाँच वर्षसम्म स्याङ्जामा हुर्किएका आचार्य बालकृष्ण भारतीय नागरिक हुन् । २५०० करोड भारुको पतञ्जलि कम्पनीमा पूर्ण स्वामित्व छ, आचार्य बालकृष्णको जसले उनलाई भारतकै ८औं धनी ‘डलर बिलोनेर’ बनाउँछ । उनले अन्तर्वार्ताको लामो समय नेपाल हिन्दू राष्ट्र बनाउनुुपर्छ भन्नमै खर्चिए ।
लोकतान्त्रिक मान्यता, मानवअधिकार, आधारभूत स्वतन्त्रता, कानूनी राज र संक्रमणकालीन न्याय जस्ता केही विश्वव्यापी मान्यता छन्, जसमा विदेशी नागरिकले बोल्न पाउने मात्र होइन, तिनको बोलीको स्वागत गरिनुपर्छ । तर जुन विषय अस्पष्ट वा विवादित छ, जसले कुनै देशको अन्तरसामुदायिक सम्बन्ध या दुःख गरी आर्जेको राजनीतिक सन्तुलन खल्बल्याउँछ — एउटा गैरनागरिकले त्यस्तोमा अभिव्यक्ति वा टिप्पणी गर्नबाट टाढै रहनुपर्छ ।
आचार्य बालकृष्ण नेपाली मूलका हुन्, तर उनी आफ्नै स्वीकारोक्तिमा भारतीय हुन् । त्यो भारत जहाँ राजनीतिक हिन्दूवाद (‘हिन्दूत्व’) ले परिष्कृत र विविध हिन्दूपनलाई एउटै खाले ‘रामभक्ति’ को ढाँचामा ढाल्न प्रयासरत छ, जबकि नेपालमा ‘हिन्दूपन’ को विविध मिठास कायमै छ ।
त्यस्तो भारत जहाँ हाम्रा आँखै अगाडि अन्तरसामुदायिक भाइचारा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको हातबाट खल्बल्याइँदैछ । त्यो देशका नागरिक आचार्य बालकृष्णले नेपालीजनमाझ ‘धार्मिक राजनीति’ गर्नु आपत्तिजनक हो ।
नेपालको संविधानले बनाएको वास्तविकताको खिलाफमा बोल्ने अधिकार छ भने नेपालीलाई छ, उनलाई छैन । त्यसैले आचार्यलाई यो सन्देश पुगोस् — नेपालप्रति तपाईंको शुभेच्छा, देशको उन्नति होस् भन्ने कामना स्वागत गर्दछौं, सके यहाँको विकासमा सघाउनुहोला, तर नेपालको सामाजिक पोखरीलाई धुमिल बनाउने काम तपाईंबाट नहोस् !