‘क्याम्पस प्रशासनका मनपरी बढे’
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक क्याम्पसमा १४ फागुनका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चितकालका लागि स्थगन भएपछि विरोधमा उत्रिएको नेविसंघका उपसभापति मुक्तिराज पौडेल भन्छन्, “नयाँ मिति तुरुन्त घोषणा गर्नुपर्छ।”
स्ववियु निर्वाचन स्थगितलगत्तै थाल्नुभएको आन्दोलनको माग के हो ?
त्रिविको कार्यकारी परिषद्ले एकतर्फी ढङ्गबाट स्ववियु निर्वाचन स्थगित गर्नु विद्यार्थीको अधिकारमाथि धावा बोल्नु हो । हामी पूर्वनिर्धारित कार्यतालिका अनुसार नै निर्वाचनको तयारीमा थियौं । तर, अचानक स्थगितको निर्णयले अचम्म र स्तब्ध बनाएको छ । त्रिविको यो निर्णय अलोकतान्त्रिक छ । अब तुरुन्तै निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्ने हाम्रो माग हो ।
निर्वाचन एक महीनापछि सार्न नेविसंघले नै माग गरेको होइन ?
नेविसंघ नेतृत्वविहीन हुँदा निर्वाचन सार्ने माग गरेका थियौं । तर, नेविसंघले नेतृत्व पाइसकेपछि हामीले मिति सार्न कुनै प्रस्ताव गरेका छैनौं । निर्वाचन स्थगित नै गर्ने हो भने सबैको सहमतिमा गर्न सकिन्थ्यो । सबै सङ्गठनको सहभागितामा अर्को मिति घोषणा गर्ने विषयमा हामी सकारात्मक छौं ।
क्याम्पसहरूमा अझै स्ववियुको औचित्य छ ?
शैक्षिक वातावरण निर्माण गर्न र विद्यार्थीको हकअधिकार सुनिश्चितताका लागि कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र निकायका रुपमा स्ववियु आवश्यक छ । २०६५ सालदेखि उपत्यकाका केही सीमितमा बाहेक देशभरका क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । स्ववियु नहुँदा क्याम्पस प्रशासनका मनपरी निर्णयले विद्यार्थी समस्यामा परेका छन् । उनीहरूको अनुगमन र निगरानीका लागि स्ववियु चाहिन्छ ।
हरेक दुई वर्षमा हुनुपर्ने निर्वाचन ११ वर्षदेखि किन हुन सकेन ?
देश नै राजनीतिक संक्रमणबाट गुज्रिएको कारण केही वर्ष निर्वाचन हुन सकेन । विद्यार्थी सङ्गठनहरू र राजनीतिक दलभित्रका आन्तरिक कारणले पनि निर्वाचन विथोलियो । कतिपय विद्यार्थी सङ्गठन नै स्ववियु खारेज गर्नुपर्छ भन्ने लाइनमा छन् ।
स्ववियुले शैक्षिक वातावरण बिगार्ने गरेको आरोप पनि छ नि !
स्ववियुका कारण कहाँ पढाइ बिग्रिएको छ, त्यो कुरा भन्न सक्नुपर्यो नि ! विना आधार दोष दिएर उम्किन मिल्दैन ।