एमसीसी कुनै बाइवल होइन, संशोधन सहित पास हुन्छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।
चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले एमसिसी अध्ययन गरेर परिमार्जन सहित अनुमोदन गरिने बताए ।
शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे ।
उनले भने, “एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।”
अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबार देखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे ।