प्रदेश १ मा बढ्यो मानव अधिकार उल्लङ्घन
प्रदेश १ मा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको पाइएको छ । सन् २०१८ को तुलनामा २०१९ मा ६८ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएको पाइएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार विराटनगरमा सार्वजनिक गरेको तथ्याङ्कले प्रदेशमा वर्षेनी मानव अधिकार उल्लङ्घनका घटना बढेको देखाउँछ । २०१९ मा मानवअधिकार उल्लङ्घनका घटनाबाट ८ सय ५५ जना पीडित भएका छन् । यी मध्ये ३ सय ३५ महिला, ३ सय १ जना बालबालिका पीडित भएका छन् ।
२०१८ मा ७ सय ८७ र २०१७ मा ६ सय ९४ जना पीडित भएका थिए । देशभरमा गएको वर्ष ६ हजार ५ सय ४२ जना पीडित भएका थिए । इन्सेकका प्रदेश संयोजक सोमराज थापाका अनुसार, राज्य पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटनापनि अघिल्लो वर्षको तुलनामा बढेको छ । २०१९ मा गिरफ्तारका घटनामा ८३, हत्याका घटनामा ७७ जना पीडित भएका छन् ।
यस अवधिमा राज्य पक्षबाट २ जनाको हत्या, ४ जनामाथि कुटपिट, ६ जना कुटपिटबाट घाइते भएका थिए । बालिका बलात्कारका घटनापनि वृद्धि भएको थापाले बताए । “महिला माथि हुने घरेलु हिंसाका बीभत्स घटना अभिलेख भए”, थापाले भने, “दाइजो नल्याएको आरोपमा कुटिनेदेखि मारिनु पर्नेसम्मका घटना रोकिएनन् ।”
यस्ता घटनामा आफ्नै ठानिएका श्रीमान र तिनका सदस्य संलग्न देखिएको उनको भनाइ छ । थापाका अनुसार, कारागारमा क्षमता भन्दा निक्कै बढी कैदीबन्दी राखिएकाले व्यवस्थापनमा कठिनाइ छ । प्रदेशका धेरैजसो स्वास्थ्य संस्थामा निःशुल्क औषधि नपाइएको र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नपाइएको उनले जानकारी दिए ।
प्रदेशका १४ जिल्लामध्ये इन्सेकका उदयपुर प्रतिनिधि भरत खड्कालाई उत्कृष्ट सूचना संकलकका रूपमा बुधबार सम्मान र पुरस्कृत गरेको छ । प्रदेशसभा सदस्य अम्बिका थापाले मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआउनुका पछाडि सरकार दोषी रहेको बताइन् ।