पत्रकारिताका विद्यार्थीलाई अंग्रेजीको सकस
नौ वर्षदेखि पत्रकारिता गरिरहेकी उमा केसीले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट पत्रकारितामै स्नातक गरिन् । तर, स्नातकोत्तरमा भने पत्रकारिता विषय पढिनन् । समाजशास्त्र पढ्न पद्मकन्या क्याम्पस भर्ना भइन् ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले अध्ययन/अध्यापन मात्र नभई परीक्षाको माध्यम पनि अंग्रेजी भाषालाई बनाएपछि उनले विषय नै परिवर्तन गरेकी हुन् । केसी भन्छिन्, “शोधपत्र पनि अंग्रेजीमा नै लेख्नुपर्ने भनेपछि पत्रकारिता छाड्न बाध्य भएँ ।”
त्रिभुवन विश्वविद्यालयले २०७० सालमा सबै संकायमा सेमेष्टर प्रणाली लागू गर्दै माध्यम भाषा अंग्रेजी निर्धारण गर्यो । यसैलाई आधार मानेर पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले अंग्रेजीलाई माध्यम भाषा बनाएको हो । तर, यही कारण कतिपय विद्यार्थीले पत्रकारिता छोडेर अन्य विषय पढ्न थालेका छन् । केहीले बीचमै पढाइ छोडेका छन् ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा स्नातकोत्तर तह दोस्रो सेमेष्टर अध्ययनरत प्रवीण राईले विद्यालय तह नेपाली भाषामा नै परीक्षा दिएर पूरा गरे । तर, विभागले अंग्रेजीलाई माध्यम भाषा बनाएपछि अहिले स्नातकोत्तर उत्तीर्ण हुने विश्वास नै गुमेको बताउँछन् । उनी भन्छन्, “स्नातक तहसम्म आरआर क्याम्पसमा नै पढें, नेपालीमै परीक्षा दिएँ । स्नातकोत्तर तहमा अंग्रेजीबाट परीक्षा दिनुपर्ने भए पनि मैले पहिलो सेमेष्टरका केही विषयको परीक्षा नेपालीमै दिएको छु । यो मेरो बाध्यता हो ।”
पत्रकारितामा स्नातकोत्तर गरिरहेका कतिपय विद्यार्थी निजी इन्ष्टिच्यूट वा विश्वभाषा क्याम्पसमा अंग्रेजी सिक्न भर्ना भएका छन् । नाम नबताउने शर्तमा एक विद्यार्थी भन्छिन्, “पहिलो सेमेष्टरमा अंग्रेजी भाषामै जसोतसो परीक्षा दिएकी छु । अहिले निजी इन्ष्टिच्यूटमा अंग्रेजी भाषा पढिरहेकी छु । कोर्सबूक पढ्नेभन्दा बढी समय भाषाका लागि दिनुपरेको छ ।”
त्रिभुवन विश्वविद्यालयले २०३३ सालदेखि प्रमाणपत्र तह र २०३८ सालदेखि स्नातक तहमा पत्रकारिताको अध्यापन शुरू गरेको हो । त्यस्तै २०५८ सालदेखि स्नातकोत्तर र २०७४ सालदेखि एमफिल शुरू भएको हो । सेमेष्टर प्रणालीभन्दा अगाडि स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी दुवै भाषामा परीक्षा दिन पाइन्थ्यो ।
भाषा कठिनाइको विषय शुरूदेखि नै उठाए पनि विभागले सुनुवाइ नगरेको विद्यार्थीको गुनासो छ । पत्रकारिता विभाग मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत पर्छ । संकायका डीन प्रा.डा.शिवलाल भुसाल सेमेष्टर सञ्चालन कार्यविधिले तोकेबमोजिम सेमेष्टर प्रणालीमा अंग्रेजी माध्यमबाट अध्ययन/अध्यापन थालिएको बताउँछन् । अंग्रेजी तत्कालका लागि उपयुक्त नभए सम्बन्धित विभाग र विभाग अन्तर्गतको विषयगत समितिले नेपालीलाई नै माध्यम भाषा बनाउन सक्ने उनी बताउँछन् ।
पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख चिरञ्जीवी खनाल अंग्रेजी र नेपाली दुवै माध्यममा अध्ययन/अध्यापन गर्न र परीक्षा लिन छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, “त्रिविले कार्यविधिमै अंग्रेजी माध्यमबाट अध्ययन/अध्यापन गराउने प्रावधान राखेकाले त्यसलाई मानेका हौं । विद्यार्थीको समस्याका विषयमा छलफल चलिरहेको छ ।”
त्रिविका अनुसार अहिले विश्वविद्यालय अन्तर्गत रहेका ४० वटा केन्द्रीय विभागमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि पढाइ हुन्छन् । यी विभागमध्ये विज्ञान संकाय तथा व्यवस्थापन संकायमा पहिले नै सेमेष्टर प्रणाली लागू भए पनि शिक्षाशास्त्र र मानवशास्त्र संकायमा २०७० सालदेखि मात्र लागू भएको हो ।
उता त्रिविकै शिक्षाशास्त्र संकायले भने अंग्रेजीलाई अनिवार्य माध्यम भाषा बनाएको छैन । शिक्षाशास्त्र संकायका डीन प्रा.कृष्णप्रसाद गौतम अंग्रेजी भाषाबाट पठनपाठन अनिवार्य गर्न संभव नभएको बताउँछन् । उनी भन्छन्, “७५ वटा जिल्लामा शिक्षाशास्त्र संकायतर्फ विभिन्न विषयको पढाइ भइरहेको छ । दुर्गम जिल्लामा अंग्रेजीलाई माध्यम भाषा बनाउन संभव छैन ।”