अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स देखाउन भन्दै ६० लाख रुपैयाँ ठगी
प्रहरीले अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स देखाउन भन्दै ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-२ पयुंपाटा कुँवर टोलका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौरे देउरालीका ३४ वर्षीय गणेश लामा छन् ।
काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा
६० लाख रुपैयाँ राख्न लगाएका थिए ।
उनले रकम राखेको भोलीपल्ट बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकालेर सम्पर्क विहिन भएका थिए ।
दुबैलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
महाशाखाका अनुसार अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।