महराविरुद्ध जाहेरी दिएकी महिला भन्छिन् : ‘आज म जति खुशी कोही छैन’
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयासको आरोप लगाएकी महिलाले अदालतको निर्णयपछि आफू एकदमै खुशी भएको बताएकी छिन् । हिमाल सँगको टेलिफोन कुराकानीमा उनले दिएको संक्षिप्त प्रतिक्रिया यस्तो छ:
आज म एकदमै खुशी छु, सम्मानित अदालतले आज साँच्चै न्याय दियो भन्ने लागेको छ । सम्मानित अदालतलाई विशेष धन्यवाद ।
आज हामीले न्याय पाएका छौं । म त हामी भन्न चाहन्छु । किनभने यो घटनामा महरा सरलाई पनि अन्याय भएको छ । मलाई पनि अन्याय भएको छ ।
१४ असोजदेखि नै मैले होइन भनेको भन्यै छु । तर सबैले उचाले । सबैभन्दा बढी मिडियाले उचाले, त्यसपछि प्रहरीले ।
मलाई प्रहरीले पनि ९ घण्टा अघोषित हिरासतमा राखेर जाहेरी दिन लगायो । त्यो ९ घण्टा त म अहिले सँझिन पनि सक्दिन ।
कसरी राखियो, के के भनियो, त्यो त मलाई मात्र थाहा छ । म पीडित होइन भनेर अदालतमा पनि निवेदन दिएको थिएँ । अदालतले सुनेको रहेछ ।
अन्यायको विरुद्धमा म खडा भइरहें, अन्ततः आज जित भयो । सहनलाई चाहिं अत्यन्तै गाह्रो हुँदो रहेछ । सहन सक्यो भने सत्यको जित हुुँदोरहेछ ।
मलाई त पीडित बनाए, महरा सरलाई पनि पीडित बनाए । हाम्रो समाजमा त महिला अधिकार पनि भन्ने महिलामाथि नै अन्याय गर्ने चलन रहेछ भन्ने भोगेर थाहा पाएँ । कति रोल खेलियो खेलियो, तर न्यायमाथि विश्वास गर्ने ठाउँ रहेछ ।
जे होस् एकदमै खुशी लागेको छ । आज त उहाँलाई भेट्न गएको छैन । भिडभाड होला, खै भेट्न जान्छु कि जान्न !