यसरी गरिंदैछ चीनबाट ल्याइएका १७५ जनाको स्वाब परीक्षण
कोभिड–१९ को संक्रमणबाट प्रभावित चीनको वुहान शहरबाट ल्याइएका १७५ नेपालीको स्वाबलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिदैंछ।
४ माघ बिहान ३ः३८ बजे नेपाल एयरलाइन्सको ‘एयरबस ३३०’ मार्फत स्वदेश ल्याइएका उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिएको छ ।
सरकारले चीनबाट ल्याएका उनीहरूलाई तालिम केन्द्रको भवनमा क्वारेन्टाइनस्थल बनाएर राखेको हो ।
स्वास्थ्यकर्मीहरूको टोलीले आइतबार बिहानै भक्तपुर पुगेर १७५ जनाको स्वाबको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुर्याएको छ ।
प्रयोगशालाका अनुसार उनीहरूको स्वाबको नमूनालाई कोभिड–१९ संक्रमित भए वा नभएको पत्ता लगाउने पीसीआर मेसिन मार्फत सोमबारदेखि परीक्षण शुरु गरिनेछ ।
चीनबाट नेपाल आउनुअघि उनीहरूलाई कुनै संक्रमण नदेखिएको भए पनि क्वारेन्टाइन अवधिभर स्वास्थ्य समस्या निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले उनीहरूको स्वाबको नमूना परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
१७५ जना नेपालीको नमूना परीक्षण गर्न ५ फागुनदेखि प्रयोगशालाका दुईवटा पीसीआर मेसिन सञ्चालन गरिनेछ । प्रयोगशालाका अनुसार पहिलो चरणमा ९६ जनाको स्वाबको नमूना राखेर कोडिभ–१९ भए वा नभएको बारे परीक्षण गरिनेछ ।
नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको पीसीआर मेसिन मार्फत परीक्षण गर्न प्रयोगशालाको नेशनल इन्फ्लुएन्जा सेन्टरका कन्सल्ट्यान्ट माइक्रोबायोलोजिष्ट डा. रञ्जित साहको संयोेजकत्वमा १० जनाको टोली खटिरहेको छ ।
हिमालखबरसँग कुरा गर्दै साहले ५ फागुनदेखि १७५ जनाको नमूना परीक्षण गरिने र त्यसको रिपोर्ट ८ फागुनमा सार्वजनिक गर्ने बताएका छन् ।
उनी भन्छन्, “हामीसँग भएको पीसीआर मेसिन गुणस्तरयुक्त भएकाले कोभिड–१९ भए वा नभएको थप परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता हटेको छ ।”
साहका अनुसार पहिलो चरणमा नमूना परीक्षण गरिसकेपछि दोस्रो पटक अर्थात क्वारेन्टाइनमा राखेको १४ औं दिनमा १७५ जनाको स्वाबको नमूना परीक्षण गरिनेछ ।
१४ औं दिनमा परीक्षण गरेको नमूनाको रिपोर्ट १७ औं दिनमा आउने भएकाले क्वारेन्टाइनमा राखिएका १७५ जना ल्याब परीक्षण नसकिन्जेल खरिपाटीमा नै बस्नुपर्नेछ ।