चीनबाट आएकालाई क्वारेन्टाइनमा कडा निगरानी
चीनबाट नेपाल ल्याइएका नेपालीहरुलाई भक्तपुरस्थित खरिपाटीमा राखिएको छ । आइतबार बिहान स्वास्थ्य समस्या देखिए पछि ६ जनालाई उतै छोडेर १७५ जनालाई काठमाडौं ल्याइएको छ ।
१८५ ले नेपाल आउन आवेदन दिए पनि चार जनाले स्वेच्छाले आउन मानेनन् भने ६ जनाको शरीरमा ३७.३ डिग्री भन्दा बढी तापक्रम देखिएपछि चीनमै छोडिएको छ ।
वुहान ५५, झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिला सहित १७५ लाई नेपाल ल्याइएको हो ।
नेपाल ल्याइएकाहरुलाई क्वारेन्टाइनमा ब्लक ए, बी र सी गरी विभाजन गरी राखिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ ।
क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पु¥याइएको छ ।
एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।
मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।
क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मा्मिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ ।
जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।
क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ ।
क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।
स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ ।
स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ ।