वुहानबाट काठमाडौं ल्याइयो १७५ विद्यार्थी, १० जना उतै छोडिए
कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहान शहरबाट १७५ नेपाली विद्यार्थीलाई ल्याइएको छ ।
विहान ४ बजेतिर उनीहरुलाई काठमाडौं ल्याइपुर्याइएको हो । १८५ जनाले नेपाल आउन आवेदन दिए पनि १० जना उतै छोडिएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार, ६ जनाको स्वास्थ्य समस्याले उतै छोडिएको हो । चार जनाले भने स्वेच्छाले आउन चाहेनन् । ६ जनामा कस्तो स्वास्थ्य समस्या हो भन्ने खुलाइएको छैन ।
शनिबार अपरान्ह ४ बजे काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी आइतबार बिहान ४ बजेतिर आइपुगेको हो । टोलीमा चार जना स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रु मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पाचर १७ जना थिए ।
स्वास्थ्यमा ज्वरो बढेकालाई चीन सरकारले देश छोड्न दिएको छैन । नेपाल आइपुगेकालाई भक्तपुरको खरीपाटीमा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन राखिनेछ ।