‘महासंघको लोगो पनि लुकाएर हिंड्नुपर्ने अवस्था आयो’
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिसकेका व्यक्तिहरूले नै महासंघको साख गिराएको पदाधिकारी र पूर्व अध्यक्षले आरोप लगाएका छन्।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले गृहनगर विराटनगरमा गरेको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघको गिरेको साख उकास्न समय लाग्ने बताए । महासंघका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले महासंघमा राजनीतिक खेल हुन थालेको बताए।
नेतृत्व गरिसकेका व्यक्तिहरूले बदनाम गराएकाले महासंघको लोगो पनि लुकाएर हिंड्नुपर्ने अवस्था आएको बताउँदै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने, “आफूले लगाएको लोगो अरुले चिन्छन् भनेर एक पटक एयरपोर्टमा लुकाउनु पर्यो ।” अर्का पूर्व अध्यक्ष कुशकुमार जोशीले महासंघ सरकारको प्रतिपक्षीका रूपमा रहन नसकेको बताए ।
दुई तिहाइको सरकार भएकाले लगानी गर्न उद्योगीहरू ढुक्क भए पनि महासंघको नेतृत्व गर्नेहरूले उचित भूमिका निर्वाह नगरेको उनको आरोप छ । “देशमा समृद्धि उद्योगी मार्फत लगानी गरेर ल्याइने हो, उद्योगीको धरोहर उद्योग वाणिज्य महासंघ हो”, जोशीले भने ।
आगामी चैतबाट अध्यक्षको जिम्मेवारी पाउन लागेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफू नेतृत्वमा पुगेपछि पुरानो शैलीबाट चलेको महासंघलाई नयाँ ढंगले संचालन गर्ने बताए । “गिरेको साख उकास्न ६ महीनाभित्र महासंघको सम्पूर्ण हिसाब वेभसाइटमा राख्छु, ९ महीनामा विधान संशोधन गर्छु”, गोल्छाले भने ।
महासंघको साख गिरेकैले विदेशी सरकारबाट पाउँदै गरेका योजना बन्द भएको बताउँदै उनले निजी क्षेत्रको हितमा आफ्नो कार्यकाल सफल बनाउने बताए । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधानको अन्त्य गर्न उनले विधान संशोधन गर्ने बताएका हुन् ।
प्रधानले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिंदा देशभर रहेका १ सय ७ वाणिज्य संघमध्ये ३० भन्दा बढी शाखाका अध्यक्ष उपस्थित भए भने २९ वटाले शाखाले प्रधानको समर्थनमा पत्र पठाएका छन्।
२०५१ सालमा उद्योग संगठन मोरङको सदस्य भएर महासंघको यात्रा शुरु गरेको २६ वर्षमा एक पटक पद मागेको बताउँदै भावुक भएर आँसु झारेका प्रधानले भने, “मैले सेवा गर्छु भनेर एक पटक पद मागेको हो, फेरि माग्दिनँ ।” महासंघका हालका उपाध्यक्ष प्रधानको समर्थनमा उद्योग संगठन र मोरङ व्यापार संघले बिहीबार बेलुका कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा उपस्थितहरूले प्रधानको समर्थन नगर्न शाखाका अध्यक्षहरूलाई सरकारमै रहेका व्यक्तिहरूले दबाब दिएको बताए । प्रधानले उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा उपस्थित नहुन भारतीय नम्बरहरूबाट पनि फोन आएको सहभागीहरूको भनाइ छ । उद्योग संगठनका अध्यक्ष घिमिरेले महासंघलाई व्यक्तिको शासनका रूपमा चलाइएकाले आफूहरूले हलीका रूपमा मात्रै काम गरेको बताए ।