आत्मरक्षा तालिमले बढायो आत्मविश्वास
सङ्गीता श्रेष्ठ मैतिदेवीस्थित एउटा घरको तेस्रो तलामा डेरा बसेर स्नातक तह तेस्रो वर्ष अध्ययनरत थिइन् । आत्मरक्षाको तालिम पनि लिंदै थिइन् । त्यही घरको दोस्रो तलामा बस्ने एक पुरुषले कहिलेकाहीं जिस्काउँथे ।
उनलाई एकपटक खराब नियतले आफूतिर तान्न खोजे । उनले ती व्यक्तिको हात बटारिदिइन् । सङ्गीता भन्छिन्, “मैले आत्मरक्षाको तालिम लिएकै हुनाले प्रतिकार गर्न सकें । तालिमले मलाई बचायो ।”
प्रहरीमा लैङ्गिक हिंसाका उजुरी बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ६२९ लैङ्गिक हिंसाका उजुरी परेका थिए । आव २०७५/७६ मा यो संख्या बढेर १४ हजार ९४८ पुग्यो ।
यीमध्ये महिलामाथि भएका हिंसा करीब ८१ प्रतिशत रहेको प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कराँते प्रशिक्षक सन्जु महर्जनलाई २०७२ सालमा सिनामङ्गलको महिला एकता समाजले बालिकालाई आत्मरक्षाको तालिम दिन बोलायो । उनलाई आत्मरक्षाबारे थाहा थिएन ।
यू–ट्यूबबाट केही जानकारी लिइन् र कराँतेका केही शैली मार्फत आत्मरक्षा गर्न सिकाइन् । आफूले तालिम दिएकामध्ये एक बालिका आफन्तकै यौन दुव्र्यवहारको प्रयासबाट जोगिएको थाहा पाएपछि उनले यसको महत्व बुझ्न ।
त्यसपछि उनी ‘अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स संघ’ ले दिने तालिम लिन पोल्याण्ड गइन् । त्यहाँबाट फर्किएपछि ‘नेपाल सेल्फ डिफेन्स संघ’ खोलेर व्यवस्थित तालिम दिन शुरू गरिन् ।
उनी भन्छिन्, “मार्सल आर्ट खेल्दा मैदानमा प्रतिपक्षीबाट जोगिने तरिका मात्र सिकाइन्छ । त्यो आत्मरक्षाको तालिमसँग मिल्दैन ।” तालिममा अनपेक्षित शारीरिक प्रहार हुँदा बच्न, अस्वाभाविक छुवाइलाई इन्कार गर्न, गलत नियतको हेराइको प्रतिवाद गर्ने र दुव्र्यवहारको प्रतिकार गर्न सिकाइन्छ ।
पोल्याण्डमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स संघको मान्यता पाएको नेपाल सेल्फ डिफेन्स संघले अहिलेसम्म २९ हजारभन्दा बढीलाई तालिम दिइसकेको छ । संघसँग ३५ जना लाइसेन्स प्राप्त प्रशिक्षक छन् ।
संघकी वरिष्ठ प्रशिक्षक राधिका ऐर हमाल सहभागीबाट राम्रो प्रतिक्रिया पाएपछि राखेपसँग मिलेर तालिमलाई व्यापक बनाउन थालिएको बताउँछिन् ।
अहिले केन्द्र तथा प्रदेश सरकारले छुट्टाछुट्टै रूपमा आत्मरक्षाको तालिम संचालन गरिरहेका छन् । केन्द्र सरकारले राखेप मार्फत ‘राष्ट्रपति महिला अभिवृद्घि कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष २०७४/७५ देखि देशभर ‘किशोरी आत्मरक्षा तालिम’ संचालन गरिरहेको छ ।
राखेपले आ.व. २०७४/७५ र २०७५/७६ मा संघ र कुरोदय मार्सल आर्ट एशोसिएसनसँग सहकार्य गरेर तालिम दिएको पूर्व सदस्यसचिव केशव विष्ट बताउँछन् । तालिमका लागि आ.व. २०७४/७५ मा रु.१ करोड ५० लाख र २०७५/७६ मा रु.१ करोड विनियोजन गरिएको थियो ।
सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार आ.व. २०७६/७७ मा तालिमको लागि रु.१ करोड बजेट विनियोजन भएको छ । गत वर्षको तालिम प्रभावकारी भएकैले यो वर्ष पनि बजेट विनियोजन गरेको उनी बताउँछन् ।
उनी भन्छन्, “सागका कारण आत्मरक्षा तालिमलाई थप प्रभावकारी बनाउनका लागि छलफल चलाउन ढिला भयो । अब पहिलेभन्दा परिष्कृत तालिम दिने योजना छ ।” तेस्रो वा अन्तिम चौमासिकमा तालिम सञ्चालन गर्ने उनी बताउँछन् ।
महिला अधिकारकर्मी डा.रेणु अधिकारी भने महिला कमजोर भएकै कारण हिंसा वा बलात्कार हुन्छ भन्ने मान्यता स्थापित हुने गरी तालिम सञ्चालन गर्न नहुने बताउँछिन् ।
उनी भन्छिन्, “आत्मरक्षा तालिम सैद्घान्तिक रूपमा गलत नभए पनि महिलाहरू कमजोर छन् भन्ने पितृसत्तात्मक सोचबाट आएको हुनाले म यसको पक्षमा छैन ।” तालिमले पुरुष खराब भएकाले महिला बलियो बन्नुपर्ने सन्देश जाने उनी बताउँछिन् ।
अर्की महिला अधिकारकर्मी तथा महिला सशक्तीकरण नेपालको संस्थापक अध्यक्ष रश्मिला प्रजापति तालिमसँगै हिंसा विरुद्ध सचेतना पनि फैलाउने हुनाले आवश्यक भएको बताउँछिन् । आफ्नो संस्थाले २०७० सालदेखि हालसम्म चार हजारभन्दा बढीलाई तालिम दिएको उनले जानकारी दिइन् ।
कुरोदय मार्सल आर्ट एशोसिएसनका प्रशिक्षक सुरेन्द्र विष्ट हिंसा न्यूनीकरणको लागि शिक्षासँगै आत्मरक्षा तालिम जरूरी भएको बताउँछन् । उनी भन्छन्, “आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो ।
यसले पीडकलाई तुरुन्तै रोक्न सघाउँछ ।” कुरोदयले अघिल्ला दुई आ.व.मा आठदेखि १२ कक्षाका ३० हजारभन्दा बढी छात्रालाई तालिम दिइसकेको छ ।
तालिमकै कारण आत्मरक्षा गरेका उदाहरण पनि प्रशस्त भेटिन थालेका छन् । महेन्द्रनगरकी विमला क्षेत्रीले आत्मरक्षाको तीनदिने तालिम लिएकी थिइन् । बसमा यात्रा गरिरहँदा केही युवाले उनको तस्वीर लिंदै जिस्काउन थाले ।
उनी नजिक गएर तस्वीर लिएको मोबाइल खोसिन् । ती युवाले हातपात गर्न खोज्दा तालिममा सिकेको कला प्रयोग गरी प्रतिकार गरिन् । त्यति मात्र नभई चालकलाई बस प्रहरी चौकी लैजान अनुरोध गरेर उनीहरूलाई पुलिसको जिम्मा लगाइन् ।
उनी भन्छिन्, “म कराँते खेलाडी पनि हुँ । तर, कसैले दुव्र्यवहार गर्दा प्रतिकार गर्ने तरिका थाहा थिएन । तालिम लिएपछि आत्मविश्वास बढेको छ ।”
प्रदेशमा पनि तालिम
प्रदेश–२ सरकारले आ.व. २०७५/७६ मा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीका लागी आत्मरक्षा तालिम दिन रु.१ करोड विनियोजन गरेको थियो । सामाजिक विकास मन्त्रालयले तालिम दिन इच्छुक प्रशिक्षण केन्द्रलाई आवेदन दिन सूचना प्रकाशित गर्यो ।
अन्य चार संस्था योग्य नभएपछि प्रदेशका आठै जिल्लामा तालिम दिन आवेदकमध्येको एक जनविकास स्रोत केन्द्र छनोट भयो ।
स्रोत केन्द्र अध्यक्ष तथा प्रशिक्षक बैजुनाथ यादवका अनुसार १० देखि २४ असारसम्म प्रदेश–२ का ६४ विद्यालयमा तालिम भयो । ५० प्रशिक्षक र १० स्वयंसेवकले नौ हजार किशोरीलाई तालिम दिए ।
वागमती प्रदेशले चालु आवमा ‘आत्म प्रतिरक्षात्मक तालिम’ शीर्षकमा रु.२४ लाख विनियोजन गरेको सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझ बताउँछिन् । तालिम सञ्चालन भने तेस्रो चौमासिकमा गर्ने महाशाखाको योजना छ ।
सुदूरपश्चिम प्रदेशले गत वर्ष आत्मरक्षा तालिम संचालन गरेको थियो । महिला विकास अधिकृत कमला शाहीका अनुसार अछाम र बाजुरामा भने बजेट अभावमा कार्यक्रम संचालन भएन ।
अन्य जिल्लामा झ्ण्डै ४५०० ले तालिम लिए । यो वर्ष भने स्थानीय तह मार्फत तालिम दिइरहेको शाहीले बताइन् । अन्य प्रदेशमा भने यो कार्यक्रम लागू छैन ।