निर्मला हत्याकाण्डः जब अनुसन्धान भिडबाट निर्देशित भयो
प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयका डीआईजी शैलेस थापा क्षेत्रीले २४ माघमा अपराध अनुसन्धान विभागलाई एउटा पत्र पठाए। महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशन अनुसार डीआईजी क्षेत्रीले पठाएको चलानी नम्बर १२४७ को सो पत्रसँगै एउटा प्रतिवेदन समेत थियो।
पत्रमा अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको समितिले गरेको कञ्चनपुर खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिइएकाे थियाे। सोही निर्देशन अनुसार २७ माघमा विभागले कञ्चनपुर प्रहरीलाई पत्र लेख्यो।
डीआईजी सुरज केसीको नेतृत्वमा गठन भएको पुनरावलोकन समितिले एआईजी बस्न्यातको छानबिन त्रुटिपूर्ण रहेको निष्कर्ष सहित कार्यान्वयन नगर्न सिफारिस गर्यो । उक्त सिफारिसलाई महानिरीक्षक खनालले स्वीकार्दै पत्र लेख्न निर्देशन दिएका थिए।
डीआईजी केसीको नेतृत्वको समितिमा एसएसपी दीपक थापा, एसपी गोपालचन्द्र भट्टराई, डीएसपीद्वय अवदेश बिष्ट र गणेशबहादुर श्रेष्ठ, इन्स्पेक्टर वीरेन्द्र घिमिरे र सई गोविन्द थापा थिए।
एआईजी बस्न्यात नेतृत्व समितिको सिफारिस कार्यान्वयन गर्दा निलम्बनमा परेका प्रहरी अधिकारीहरूको विषयमा अब के हुने ? यसको निर्णय भइसकेको छैन।
तर, डीआईजी सुरज केसी नेतृत्व समितिको छानबिनमा एआईजी बस्न्यातको समितिले आफ्नै अधिकारीहरूलाई चरम यातना दिएको उल्लेख मात्र गरिएन, निष्पक्ष छानबिनमा खटिएका अनुसन्धान अधिकारीहरू नै भिड र यसअघि गठन भएको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्व समितिको प्रभावमा परेको समेत उल्लेख छ।
एआईजी बस्न्यातको सिफारिसमा सीआईबीको अनुसन्धानमा मुख्य दोषी देखिएका बिष्ट थुनामुक्त मात्र भएनन्, घटनालाई अर्कै मोडमा लग्यो । जसले प्रहरीको विश्वसनियतामाथि नै प्रश्न खडा गर्यो । तर, अहिले यही समितिको अनुसन्धान र छानबिन त्रुटिपूर्ण भएको निष्कर्ष आएपछि प्रहरी झनै विवादमा पर्ने संकेत देखिएको छ । यसमा नेतृत्वको बहुलठ्ठीपन र अडानको अभाव समेत देखिएको छ।
४ भदौ २०७५ गृहमन्त्रालय
सिंहदरबार गृहमन्त्रालयस्थित गृहमन्त्रीको सचिवालयको कार्यकक्षमा गृहमन्त्री रामबहादुर थापा बादल, उनका सल्लाहकार सूर्य सुवेदी पथिक, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत अधिकारी बसिरहेका थिए।
सरकारले २३ दिनदेखि सार्वजनिक आलोचना खेपिरहेको एउटा घटनाका मुख्य दोषीलाई सार्वजनिक गर्नु अघिको यो अनौपचारिक बैठक महत्वपूर्ण थियो। त्यही कार्यकक्षबाटै महानिरीक्षक खनालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएका डीएसपी अंगुर जिसीलाई फोन गरे।
फोन लाउड स्पिकरमा थियो। महानिरीक्षक खनालले गरेकाे कुराकानी कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिलीपसिंह बिष्टका विषयमा केन्द्रित थियो। फोनमा कुरा गरिरहेका डीएसपी जिसीलाई आफूले आफ्ना संगठन प्रमुखसँग कुरा गरिरहेको मात्र थाहा थियो। तर उनले बोलेका कुरा गृहमन्त्री थापा र गृहका उच्च अधिकारीहरू सुनिरहेका थिए।
डीएसपी जिसीले बिष्ट आरोपी रहेका आधार र संकलन भएका प्रमाणहरू प्रस्तुत गरे। जिसीले आरोपी बिष्टले दिएको बयानसँग घटनास्थलको अवस्था मेल खाएको, उनले बताएको हत्या प्रकृति र पोष्टमार्टम रिपोर्ट मेल खाएको र घटनास्थलमा बरामद भएका सामग्रीको अवस्था बिष्टले बयानमा भने अनुसार रहेकाले उनी घटनाका मुख्य आरोपी रहेको आधार महानिरीक्षक खनाललाई बताए। यो सबै गृहमन्त्री थापाले समेत सुनिरहेका थिए।
योसँगै महानिरीक्षक खनालले सबैले मुख्य दोषी भनिरहेका बम दिदीबहिनीका विषयमा समेत डीएसपी जिसीलाई प्रश्न गरे। जवाफमा जिसीले उनीहरूलाई शंका गर्नु स्वाभाविक रहे पनि संकलित सबुतप्रमाणले उनीहरूको संलग्नता पुष्टि नहुने स्पष्ट पारे।
हत्यामा संलग्न मुख्य आरोपी सार्वजनिक गर्नु केही मिनेट अघिको यो संवादमा डीएसपी जिसी उत्साहित थिए। उनले आफ्ना संगठन प्रमुख खनाललाई खुलेर सबै बेलिबिस्तार लगाए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख डीआईजी नारायणसिंह खड्काको सल्लाह–सुझाव अनुसार पत्रकार सम्मेलन शुरु भयो।
यता, गृहमन्त्रालय अझै सन्तुष्ट थिएन। गृहमन्त्रीको सचिवालयका निजी सचिव रहेका उपसचिव डाक्टर डिजन भट्टराईलाई समेत डीएसपी अंगुर जिसीलाई फोन गर्न भनियो। उपसचिव भट्टराई र डीएसपी जिसी बीचमा पुरानो चिनजान भएकाले दुवै बीच खुलेर कुराकानी भयो। टेलिफोन संवादमा समेत निर्मलाको बलात्कार र हत्यामा दिलीपसिंह बिष्टको संलग्नता पुष्टिका आधार डीएसपी जिसीले महानिरीक्षक खनाललाई जे भनेका थिए, त्यही बताए।
१० फागुन २०७५ मा कञ्चनपुर प्रहरीले घरबाट अध्ययनका लागि रोशनी भन्ने आँचल बमको घरमा गएकी निर्मलाको सोही दिन दिउँसो घर फर्कंदा बाटोमा दिलीपसिंह बिष्टसँग जम्काभेट भएको र उनैले निर्मलाको बलात्कारपछि हत्या गरेको जानकारी पत्रकारहरूलाई गरायो।
घटना विवरण अनुसार घर फर्कंदै गर्दा बाटोमा साइकलको चेन बिग्रिएको र त्यही बनाइदिने भन्दै नजिक आएका बिष्टले उनको बलात्कारपछि हत्या गरेको जानकारी प्रहरीले पत्रकारहरूलाई दियो। पत्रकार सम्मेलनमा दिलीपसिंह बिष्टको विगत र उनको चरित्र समेत व्याख्या गरिएको थियो।
प्रहरी संगठनले तोकेको जिम्मेवारी पूरा गरेर कञ्चनपुरमै रहेको सीआईबीको टोलीलाई एक्कासी ९ भदौमा फिर्ता हुन निर्देशन दिइयो । टोली १० भदौमा काठमाडौं फर्कियो, तर घटना सेलाएन।
१० भदौ, प्रहरी महानिरीक्षक सचिवालय
कञ्चनपुरबाट फर्किएका डीएसपी अंगुर जिसीलाई महानिरीक्षक खनालले तत्काल आफूलाई भेट्न भने। १० भदौ अपरान्ह खनाल र डीआईजी सुरेशविक्रम शाहसँगै थिए। डीएसपी जिसी विमानस्थलबाट सोझै प्रहरी प्रधान कार्यालय पुगे। खनाललाई डीएसपी जिसीले आफूले संकलन गरेका सबुत प्रमाण सहित घटनाको बेलिबिस्तार लगाए।यसपटक पनि महानिरीक्षक खनाल विश्वस्त भए।
१५ भदौ २०७५, गृह मन्त्रालय
गृहमन्त्रालयमा १५ भदौ २०७५ मा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्ट, डीएसपी ज्ञानबहादुर सेट्टी र अंगुर जिसी तथा इन्स्पेक्टर एकेन्द्र खडकालाई बोलाएर सोधपुछ गरियो।यो भेटमा गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सल्लाहकारद्वय र सहसचिव थिए। सबैले आफ्ना कुरा राखे। तीनजनालाई बेग्लाबेग्लै बोलाएर सोधियो।
सबैलाई १० मिनेट समय दिइयो। तर जिसीसँग करीब एकघण्टा कुराकानी भयो। जसमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईले दोहोर्याएर प्रश्नोत्तर गरेका थिए।
यो छलफलमा उपस्थित सबै मुख्य आरोपी बिष्ट नै भएकोमा सहमत भएका थिए।
अनुसन्धानको चक्र
स्थानीयहरूले दिलीपसिंह बिष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्काए। यो आन्दोलनले हिंसाको रूप लिएपछि प्रहरीले बल प्रयोग गर्यो। जसमा ८ भदौ २०७५ मा प्रहरीको गोली लागेर सन्नी खुन्नाको मृत्यु भयो।
दबाब र तनावमा रहेको गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ७ भदौ २०७५ मा सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनाएर कञ्चनपुर पठाउने निर्णय गर्यो। त्यो निर्णय समेत भिडबाट निर्देशित रहेको प्रमाण समितिलाई तोकिएको कार्यादेशले स्पष्ट पार्छ।
गृहमन्त्रालयले समिति बनाउने निर्णय गरेको अर्को दिन कञ्चनपुरमा भएको विरोध प्रदर्शनमा खुन्नाको प्रहरी गोली लागेर मृत्यु भएको थियो। तर, समितिले ४ असोज २०७५ मा सरकारलाई बुझाएको प्रतिवेदनमा ८ भदौ, २०७५ मा भएको घटनाको समेत छानबिन गर्ने कार्यादेश भएको उल्लेख छ।
गोली लागेर खुन्नाको मृत्यु हुनुभन्दा पहिल्यै गठित समितिले पछाडि हुने घटनाको विषयमा समेत अध्ययन गर्ने कार्यादेश पाउनुले गृहमन्त्रालय जसरी पनि यस घटनाका सम्बन्धमा भएका विरोधहरू साम्य बनाउन चाहन्थ्यो भन्ने देखाउँछ। यसका लागि उसले उच्चस्तरीय समितिलाई हत्कण्डाका रूपमा प्रयोग गरेको स्पष्ट हुन्छ।
यतिमात्र होइन, यही समितिको प्रतिवेदनलाई आधार मानेर गृहमन्त्रालयले दुई दिनपछि नै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुखलाई निलम्बन गर्ने निर्णय ग¥यो। गृहले यही समितिको सिफारिसमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्टलाई ९ भदौ २०७५ मा निलम्बन गरेको थियो।
समितिले अनुसन्धान जारी राखेकै बेला २४ भदौ २०७५ मा बिष्टको डीएनए रिपोर्ट आयो। जसले उनको संलग्नता नरहेको स्पष्ट पारेपछि उनी सरकारी वकिलको कार्यालयको आदेशले २६ भदौ २०७५ मा रिहा भए। त्यसपछि उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीहरूउपर कारबाहीको माग स्थानीयले गर्न थाले।
३१ भदौ २०७५मा प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति बनायो। त्यही दिन डीएसपी जिसी र सेट्टी, इन्स्पेक्टर खडका, जगदिश भट्ट र सई रामसिंह धामी निलम्बन भए। साथै यही समितिकै सिफारिसमा सई हरिसिंह धामी र जवान चाँदनी साउद पनि निलम्बनमा परे।
उता, गृहले सहसचिव मैनाली र एआईजी बस्न्यात नेतृत्वमा बनाएको समितिको सिफारिसमा एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई प्रहरी सेवाबाटै बर्खास्तगीको निर्णय ८ कार्तिक २०७५ मा गर्यो।
यी सबै अधिकारीहरूको कारबाही अब के हुने? एआईजी बस्नेत नेतृत्वको छानबिन त्रुटिपूर्ण प्रमाणित भएपछि उनीहरूलाई कारबाही हुने कि नहुने यो विषयमा गृहमन्त्रालयले कुनै निर्णय गर्न सकेको छैन।
गृह र प्रहरीले घटनापछि १ जना सहसचिव, १ एआईजी, २ डीआईजी, ३ एसएसपी, २ एसपी र ३ डीएसपीलाई घटनाको अनुसन्धानका लागि जिम्मेवारी दिए पनि निष्कर्ष बाहिर आउन सकेको छैन। अनुसन्धान झनै जटिल बन्दै गएको छ र शंकास्पद आरोपीले क्लिन चिट पाउने गरेका छन्।
डीएनएमै कैफियत
काठमाडौंबाट खटिएको ब्यूरोको टोलीले मुख्य आरोपी भनिएका बिष्टको डीएनए परीक्षणका लागि पठाएको थियो। प्रहरीको विधि विज्ञान प्रयोगशालाले गरेको डीएनए परीक्षणमा कैफियत रहेको प्रतिवेदन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक विज्ञ जीवन रिजालको नेतृत्वको अनुसन्धान टोलीले दिइसकेको छ। रिजाल समेतको टोलीले प्रहरीको नमूना संकलनदेखि जाँचसम्म त्रुटि भएको प्रतिवेदनमा उल्लेख गरेको थियो।
टोलीले दिएको प्रतिवेदन विरुद्ध प्रहरीको विधि विज्ञान प्रयोगशालाले प्रतिवेदन सार्वजनिक गरेको थियो। गृहमन्त्रालय लामो समय यस विषयमा मौन बसे पनि केही महीना अघि एउटा गोप्य प्राविधिक टोली गठन गरेको थियो। त्यसको प्रतिवेदनका विषयमा हालसम्म गृहले कुनै सूचना सार्वजनिक गरेको छैन।
निगरानीमा उनै बिष्ट
प्रहरीको अनुसन्धानले निर्मलाको बलात्कार र हत्या १० साउन २ बजेर ३० मिनेटदेखि ३ बजेभित्र भएको भनेको छ। सोही दिन ४ बजे निर्मला चढेको साइकल एक स्थानीय महिलाले देखेकी थिइन्। तर, ‘फालेको भनेर कसैले वास्ता गरेन’, प्रहरी अनुसन्धानमा उल्लेख गरिएको छ।
११ साउन बिहान ८ बजे स्थानीय कृष्णा केसी (नेपाल) ले साइकल देखेपछि परिवारलाई खबर गरेकी थिइन्। स्थानीय गोपाल चौधरीले खोलाबाट साइकल निकालेर बाटोमा ल्याएका थिए। निर्मला बिहान ११ बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका—१८ मा रहेकी साथी रोशनी बमको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी थिइन्। उनको साइकलको चेन फुस्किइरहन्थ्यो। घटनाका दिन पनि साइकलको चेन फुस्किएको थियो।
रोशनीको घरमा पुगेपछि उनले हात धोइन्। त्यसपछि दुवै साथी करीब दुई घण्टा त्यहाँ बसे। त्यसपछि निर्मला रोशनीको घरबाट नोटकपी, अम्बा र रोशनीले दिएको २० रुपैयाँ लिएर फर्किएकी थिइन्। बिष्टले पुलिसलाई दिएको बयान अनुसार घर फर्कंदै गर्दा बाटोमा निर्मलासँग भेट भएको बताएका थिए। साथै निर्मला साइकलको चेन बनाउँदै गरेको देखेपछि उनले सहयोग गरेको समेत बयान दिएका थिए।
‘युवतीहरू देखेपछि बिष्टले आफूमा सन्तुलन गुमाउने हुनसक्छ। त्यसपछि नजिकैको उखुबारीमा लगेर घटना भएको हो।’ प्रहरीले घटनापछि सार्वजनिक गरेको पहिलो तथ्य यही थियो। र, हाल आएर प्रहरीकै यही तथ्य नै सही भएको निष्कर्षमा प्रहरी प्रधान कार्यालय पुगे पनि उनलाई पक्राउ गरिएको छैन। स्थानीय प्रहरीलाई उनीमाथि निगरानी राख्न भनिएको छ।