एउटा यस्तो प्रेम–यात्रा
प्रेम के हो, आत्मीयता कसरी हुन्छ, माया\प्रेमको अभिव्यक्तिको माध्यम के ? आदि प्रश्नको उत्तरलाई चित्रकला मार्फत प्रस्तुत गरेका छन्, ईशान परियार र सविता डंगोलकाे जोडीले ।
चित्रकार जाेडीले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा २३ माघदेखि २७ गतेसम्म प्रदर्शनीमा राखिएको चित्रकलाको दृश्य हो यो । चित्रको माध्यमबाट अभिव्यक्त गरिएको प्रेम अर्थात आत्मीयता अवलोकनका लागि मानिसको उपस्थिति उत्साहजनक रहेको अनुभव कलाकारद्वयले बताए।
सम्बन्धमा आपसी माया\प्रेमको भाव स्वरुप कलाकारद्वयले आआफ्नो प्रतिबिम्बको प्रयोग गरेका छन् । प्रेम सम्बन्धबाट शुरु भएको कलाकारद्वयको जोडीले वैवाहिक सम्बन्धमा बाँधिएको चारवर्षे वैवाहिक जीवनयात्रालाई चित्र मार्फत प्रस्तुत गरेको छ । वैवाहिक वर्षगाँठको अवसर पारेर माया नै माया छचल्किएका कलात्मक चित्र प्रदर्शनमा राखेको यो जोडीले प्रेमको अभिव्यक्तिलाई कलात्मक सृजना प्रयोग गरी चित्र मार्फत भाव प्रस्तुत गरेको छ ।
कला नै जीवन र आपसी सदभाव नै सम्बन्धको सुमधुरता हो भन्दै ईशानले डुंगालाई प्रतिबिम्ब प्रयोग गरेका छन् भने, सविताले काइँयोलाई प्रतिबिम्ब बनाई प्रेमिल जीवनयात्राको आकृति बनाई प्रेम र आत्मीयता पोखेकी छन् ।
जीवनमा आपसी सामीप्य र सहकार्य भए, हरेक जटिलता, समस्या समाधान गरी सुमधुर जीवन जिउन सकिन्छ भन्दै कलाकार ईशानले सन् २०१३ बाट चित्रमा डुंगाको प्रयोग गर्न लागेको बताउँछन् । अभिव्यक्तिको माध्यम र शैली मान्छे अनुसार फरक हुन्छ नै, त्यसैले सविताले काइँयोमा आकार बनाएर प्रेम अभिव्यक्त गर्न थालेको बताइन् ।
प्रदर्शनीका लागि राखिएका प्रत्येक चित्रमा डुंगा र काइँयो देख्न सकिन्छ, जसले जीवनको परिभाषा गरेको छ । कपालका फोहोर, उल्झन र लट्टालाई काइँयोले जसरी सोहोरेर फाल्छ, त्यसैगरी जीवनयात्राका क्रममा सम्बन्धमा आइपर्ने बाधा–अड्चन दुःख र असमझदारीलाई आपसी स्वीकार्यता र विश्वासले समाधान गरी पवित्र सम्बन्ध बचाउन सकिने अभिव्यक्ति दिएको कलाकार सविता बताउँछिन् ।
उनी भन्छिन्, “मानिस जन्मदै भनौं आँखा खोल्ने बित्तिकै स्वतन्त्र रहन चाहन्छ, माया पनि त्यही स्वतन्त्रता, स्वीकार्यता हो ।” यो जोडीले प्रेम सम्बन्धलाई चित्रकला मार्फत आत्मीयताको भाव कलात्मक आकृतिमा देखाएको छ ।
माछा स्वतन्त्र पानीमा खेलेझैं, फूल स्वतन्त्र फुलेझैं, चरा खुला आकाशमा उडे जस्तै, आकाशमा चन्द्रमा, तारा चम्किए जस्तै स्वतन्त्र र निश्वार्थ भावले दुई शरीर आपसमा समर्पित हुनु नै आत्मीयता हो भन्ने संकेत उक्त प्रदर्शनीमा राखिएको चित्रकलाले झल्काएको छ । सविताका ३५ वटा चित्र र ईशानका ५५ वटा चित्रको माध्यमबाट ‘आत्मीयता’ शीर्षक राखी मायालाई अभिव्यक्त गरेका छन् यिनीहरूले ।
चित्रकारले आकृति तयार गर्दाको प्रेम र आत्मीयतालाई अभिव्यक्त गर्न लागेको एकाग्रतालाई चित्र मार्फत छर्लङ्ग देख्न सकिन्छ । आँखामा मनको भाव स्पष्ट पार्न माछाको आकारलाई प्रेमपूर्वक प्रयोग गरिएको छ । प्रेम व्यक्त गर्ने माध्यमका रूपमा चित्रकलालाई भरपूर प्रयोग गरेका यी चित्रकारद्वयले आपसमा प्रेम अभिव्यक्त गर्न चित्रकलामा फरक रङका गुलाफ र डुंगा समाहित गरेका छन् ।
प्रेमको अभिव्यक्तिका लागि गुलाबी र रातो गुलाब मात्र नभएर थरीथरी रङका गुलाबको प्रयोग गरेका छन्, कलाकार ईशानले । खासमा सुनौलो रङको गुलाबलाई चारैतिरबाट डुंगाले घेरेर आपसी प्रेम पोखेका ईशान भन्छन्, “सुनौलो गुलाब अर्थात प्रेमिल जीवनका सुनौला दिन, आत्मीयता र विश्वासले प्राप्त गरेको प्रेमिल जीवन ।”