पूर्व सचिव कार्कीकी श्रीमतीलाई कामदारले हत्या प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीलाई उनकै घरमा राखिएका कामदारले हत्या प्रयास गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दाङका विजय चौधरी विगत पाँच वर्षदेखि कार्कीको घरमा काम गरिरहेका थिए ।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले अहिलेसम्मकाे घटना प्रकृतीले मुना कार्कीकाे हत्या प्रयासपछि विजयले आत्महत्या गरेकाे देखिन आएको बताए । अहिले घटनास्थलमा रहेका अनुसन्धान अधिकारीहरूले पूर्वसचिव कार्कीकाे घरमा रहेकाे सीसीटीभी क्यामरा हेरेर थप अनुसन्धान गरिरहेकाे छ ।
कमदार चौधरी मृत अवस्थामा फेला परेका छन् । सोही स्थानमा पूर्व सचिव कार्कीकी श्रीमती मुना कार्की घाइते भेटिएकी छन् । कार्की आफू पशुपति दर्शनका लागि गएका थिए भने घरमा श्रीमती र कामदार मात्रै थिए ।
महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाको पुष्टि गर्दै अचेत अवस्थामा रक्ताम्मे रहेकी मुनालाई उपचारका लागि नजिकैको स्टार अस्पताल लगिएको बताए ।
“एक जनाको शव फेला परेको छ । एक जना घाइते हुनुहुन्छ” एसएसपी राईले भने, “हामी घटनास्थलमा छौं, थप अनुसन्धान भइरहेको छ ।”
पुरुष कामदारको शव झुण्डिएको अवस्थामा भेटिएको हो । घटनाको अनुसन्धान गरिरहेका परिसरका डीएसपी सन्तोष तामाङका अनुसार, कार्कीको श्रीमती मुना भान्सा कोठामा लडिरहेकी भेटिएकी थिइन् ।
“प्लास्टिकको पिर्का टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ, बाँकी केही खुल्न सकेको छैन”, डीएसपी तामाङले भने ।
तस्वीरहरु: विक्रम राई