पूर्व सचिव कार्कीको श्रीमती घाइते, कामदार मृत फेला
पूर्व सचिव अर्जुन कार्कीको घरमा राखिएका कमदार मृत अवस्थामा फेला परेका छन् । सोही स्थानमा उनकी श्रीमती मुना कार्की घाइते भेटिएकी छन् ।
महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाको पुष्टि गर्दै अचेत अवस्थामा रक्ताम्मे रहेकी मुनालाई उपचारका लागि नजिकैको स्टार अस्पताल लगिएको बताए । उनले आफू घटनास्थलमा रहेको हिमाल खबरलाई बताउँदै मृतकको नाम, थर र ठेगाना खुलिनसकेको बताए ।
“एक जनाको शव फेला परेको छ । एक जना घाइते हुनुहुन्छ” एसएसपी राईले भने, “हामी घटनास्थलमा छौं, थप अनुसन्धान भइरहेको छ ।”
पुरुष कामदारको शव झुण्डिएको अवस्थामा भेटिएको हो । घटनाको अनुसन्धान गरिरहेका परिसरका डीएसपी सन्तोष तामाङका अनुसार, कार्कीको श्रीमती मुना भान्सा कोठामा लडिरहेकी भेटिएकी थिइन् ।
“प्लास्टिकको पिर्का टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ, बाँकी केही खुल्न सकेको छैन”, डीएसपी तामाङले भने ।