"चल्ला मार्न बाध्य छौं", टीकाराम पोखरेल– अध्यक्ष, नेपाल ह्याचरी संघ
तपाइँहरूले चल्ला मारेको एक महीनापछि मासुको मूल्य अस्वाभाविक बढ्यो, किन चल्ला मार्नुभयो ?
हामी कुखुरा उत्पादन गर्ने किसान होइनौं । हामीले उत्पादन गरेका चल्ला बिक्री भएनन्, अनि मार्यौं । नबिकेपछि चल्ला मार्नु हाम्रो बाध्यता हो।
नबिकेका चल्ला यत्तिकै राख्न सकिंदैन ?
अण्डाबाट चल्ला उत्पादन हुन २२ दिन लाग्छ । चल्ला निस्केको ७२ घण्टाभित्र खोरमा हाल्नुपर्छ । नभए ती चल्लालाई मार्नुबाहेक अर्को विकल्प छैन । हामीले चल्ला अहिले मात्र मारेका होइनौं । डेढ वर्षदेखि नबिकेका चल्ला मार्दै आएका छौं ।
डेढ वर्षसम्म असर देखिएको थिएन तर, यसपटक चल्ला मार्दा मासुको मूल्य किन बढ्यो त ?
किसानले कुखुरा पाल्नै छोडे । किनभने कुखुरापालन व्यवसायमा टिक्न सक्ने अवस्था नै छैन । किसान दुई वर्षदेखि लगातार घाटामा छन् । घाटाको व्यापार किसानले कहिलेसम्म गर्ने ?
घाटाको व्यवसाय कसरी धानिरहनुभएको छ त ?
ब्याङ्कमा ऋण छ । त्यसैले ब्याङ्कलाई देखाउन पनि व्यवसाय गर्नुपर्ने बाध्यता छ । किसानको समस्या बुझिदिने कोही छैन । भन्ने ठाउँ पनि छैन । एक दिन नाफा होला भन्ने आशैआशमा डुब्यौं ।
किसानको समस्या समाधान गर्न सरकारले के गर्नुपर्छ ?
चल्ला मारेका कारण मासुको मूल्य बढेको भन्दै हामीलाई दोष दिएका छन् । प्रतिकेजी रु.२० मा पाइने मकैको मूल्य रु.५० र भटमासको मूल्य रु.८० पुगेको छ । तर, कुखुराको मूल्य चार वर्षदेखि एउटै छ ।
जिउँदो कुखुरा किसानले कम्तीमा प्रतिकेजी रु.२२० मा बेच्न पाउनुपर्दछ । सरकारले अण्डा, कुखुरा र चल्लाको लागत मूल्य तोकिदिनुपर्छ ।