फोन नउठाउँदा सम्झना परियारकाे हत्या भएकाे खुलासा
फोन नउठाएको रिसमा सम्झना परियारकाे हत्या भएकाे खुलासा भएकाे छ।
विराटनगर–१२ को बखरीस्थित उखुबारीमा २४ माघमा सम्झना परियारको शव फेला परेकाे थियाे। सप्तरीका एक युवाले फोन नउठाएको रिसमा उनकाे हत्या गरेकाे प्रहरीले बताएकाे छ ।
सप्तरी कृष्णश्रवण गाउँपालिका–३ मट्टीगढाका सुरेन्द्रप्रसाद साहले सुनसरी दुहबी–६ की सम्झना खत्री परियार (३२) को २३ माघमा विराटनगर–१२ मा हत्या गरेको प्रहरीले जनाएको छ ।
लामो अनुसन्धानपछि साहलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हाे । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार, मोरङ बुढीगंगा–३ मा बस्दै आएका साह स्थानीय क्वालिटी नुडल्स उद्योगमा स्टोर इन्चार्ज थिए ।
साह र परियारबीच तीन वर्षदेखि निकट सम्बन्ध थियो । “लगातार फोन गरेपछि नउठाएको र मोबाइल बन्द भएको झोकमा साहले हत्या गरेको खुलेको छ”, एसपी अधिकारीले भने ।
साहले प्रहरीलाई बताए अनुसार, टंकिसिनवारीमा भेटिएपछि सम्झनालाई उनले मोटरसाइकलमा राखेर बखरीको उखुबारी तर्फ लगेका थिए । साँझपख केशलिया कोला किनारमा सम्झनाले भिरेको सल उनकै घाँटीमा कसेर घिसार्दै उखुबारीमा लगेर बाँसको चोयाले घाँटी रेटी हत्या गरेको साहले प्रहरीलाई बताएका छन् ।
शव फेला परे पनि पहिचान हुन नसकेपछि प्रहरीले सामाजिक संजाल र संचारमाध्यमबाट घटना सार्वजनिक गरेको थियो ।
रोजगारीका सिलसिलामा इलाममा बस्दै आएका सम्झनाका श्रीमानले २१ माघदेखि श्रीमती सम्पर्कमा नरहेको जनाउँदै उजुरीसमेत दिएकाले प्रहरीले अनुसन्धान त्यसतर्फ लगेको थियो । सम्झनाले मोबाइल फोन बन्द राखेकाले उनका श्रीमान पनि घर आएका थिए । हत्या हुनु एक दिनअघि नै प्रहरीलाई दिइएको उजुरीमा साहले नै बेपत्ता पारेको हुन सक्ने जनाइएको थियो ।
साह कार्यरत उद्योगमा काम गर्दा सम्झनासँग परिचय भएपछि उनीहरूबीच निकटता बढेकाे थियो । साह र परियारबीचको सम्बन्धका विषयमा उनका श्रीमान र छिमेकीले पनि शंका गरिरहेका थिए । सम्झनाको मोबाइल फोन फेला परेको छैन । मोबाइल अरुले चलाएको हुनसक्ने आशंकामा आइएमई नम्बर मगाएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।