मन्दिरबाट मूर्ति, मुकुट र गहना चोर्ने पक्राउ
मोरङको पुरानो सदरमुकाम रंगेली–७ मा रहेको संसारीमाई मन्दिरबाट मूर्ति, चाँदीको मुकुट, छत्र, त्रिशूल, सिक्रीलगायत वस्तु चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
रंगेली–३ का भुवन पराजुलीलाई मन्दिरमा चोरी गरेका सामग्री सहित पक्राउ गरी आइतबार प्रहरीले सार्वजनिक गरेको छ । चोरिएका मूर्ति र चाँदीका वस्तुको जम्मा मूल्य रु ११ लाख ३५ हजार बराबर भएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
चोरीमा संलग्न पराजुलीले प्रयोग गरेको मोटरसाइकलको नम्बर सीसीटीभी क्यामेरामा रेकर्ड भएपछि उनलाई पक्राउ गर्न सजिलो भएको प्रहरीको भनाइ छ । २२ माघ राति १०ः५४ बजे मन्दिरको बार नाघेर पराजुली भित्र छिरेको क्यामेरामा रेकर्ड भएको थियो । टोपी, मास्क र चस्मा लगाएकाले व्यक्तिको पहिचान हुन नसके पनि बाहिरको क्यामेराले राति गएको ज१२प ५४६८ नम्बरको मोटरसाइकल कैद गरेको थियो ।
२३ माघ बिहान मन्दिर संचालक समितिले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा पराजुलीको घरमा सो मोटरसाइकल फेला परेपछि गणेश र देवीका मूर्ति बक्स पलङभित्र लुकाएको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक लेखनाथ दाहालले बताए ।